नेपालमा ‘फोर जी’ मोबाइल इन्टरनेट सेवा सुरु

2017/01/01 6:19:45 PM

Shares

काठमाडौं, १७ पुस । प्रविधिमा राम्रो विकास गरेको नेपालमा आइतबारबाट ‘फोर जी’ मोबाइल इन्टरनेट सुरु भएको छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले ’सफ्ट लञ्च’ गर्दै सो सेवा सुरु गरेका हुन् ।

यो सेवा हाललाई काठमाडौं र पोखरामा उपलब्ध हुनेछ ।नेपालमा पहिलो पटक फोर जी सेवा सुरु गरेको नेपाल टेलिकमले थ्री जी सेवाकै महसुल दरमा हाललाई फोर जी सेवा दिने जनाएको छ ।

मोबाइलबाट इन्टरनेट चलाउने प्रयोगकर्ताका लागि प्रभावकारी सेवा मानिएको ‘फोर जी’ इन्टरनेट सेवा तत्कालका लागि पोष्टपेड मोबाइलका प्रयोगकर्ताहरुले मात्रै प्रयोग गर्न पाउने टेलिकमले जनाएको छ ।

पोस्टपेड मोबाइल सेवाका ग्राहकले भने यही जनवरी महिनाभित्र चार दिनका लागि चार जीबी डाटा सित्तैमा पाउनेछन् । ‘फोर जी’ सेवा ८४४४३ डायल गरी सेवा सुचारु गर्न सकिने छ।

दूरसञ्चार क्षेत्रको नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पुस १७ गतेबाट फोर जी सञ्चालनका लागि अनुमति दिएलगतै टेलिकमले काठमाडौं र पोखरामा फोर जी सेवा सुरु गरेको हो । काठमाडौं र पोखराबाट सुरु हुने फोर जी मोबाइल इन्टरनेट क्रमशः देशका प्रमुख सहरमा विस्तार गर्दै लैजाने टेलिकमको योजना छ ।

टेलिकमले अहिले पाइरहेको १८ सय मेगाहर्ज ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने गरी गएको कात्तिकमा अनुमति पाएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार