नेपाल–भारत सम्बन्ध विश्वासमा परिणत भएको छ : राजदुत राय

2017/01/10 10:14:51 AM

“नेपालको विकासमा सहयोग गर्न भारत तयार”

सिराहा,(कर्जन्हा), २६ पुस। नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपाल–भारतवीचको सम्बन्ध ऐतिहासिक भएको उल्लेख गर्दै आगामी दिनमा सम्बन्ध अझै मजबुद हुने विश्वास व्यक्त गरेका छन्।

सोमबार सिराहाको कर्जन्हा गाविसमा रहेको फुलकुमारी महतो मेमोरियल हस्पिटलमा “आमा र बच्चा बिशेषज्ञ स्वास्थ्य उपचार सेवा”को उद्धघाटन गर्दै राजदुत रायले द्धिपक्षीय सम्बन्धलाई अब विश्वासमा परिणत गर्दै आगामी दिनमा आर्थिक समृद्धिको लागि सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

राजदुत रायले नेपाल र भारतवीच भावनात्मक, धार्मिक, सामाजिक र साँस्कृतिक सम्बन्ध मजबुद रहेको भन्दै आगामी दिनमा आर्थिक रुपमा कसरी एक अर्कासँग अझै मजबुद सम्बन्ध बनाउन सकिन्छ भनेर सोच्ने बेला आईसकेको बताए। उनले भने,“भारत नेपालमा सँधै शान्ति, स्थायित्व र समृद्धि भएको हेर्न चाहन्छ, भारतको विकासको लागि पनि नेपालमा शान्ति, स्थायित्व अनिवार्य छ।”

उनले भारत नेपालको हरेक विकासमा सहयोग गर्न तयार रहेको समेत विश्वास दिलाए। दुवै देश हातेमालो गरेर एक भएर अघि बढेमात्रै आर्थिक समृद्धिको लक्ष्य हाँसिल हुने उनको भनाई थियो।

देश विकासको लागि सबै एकजुट हुनुपर्छ : डा. उपेन्द्र महतो 

कार्यक्रममा अस्पतालका संरक्षक, फुलकुमारी मेमोरियल ट्रष्टका अध्यक्ष एवम् गैर–आवासीय नेपाली संघ –एनआरएनए)का संस्थपक अध्यक्ष डा.उपेन्द्र महतोले आजको युग आर्थिक समृद्धिको युग भएको उल्लेख गर्दै राष्ट्र समृद्धिको अभियानमा सबै एक भएर जुट्नुपर्ने बताए।

डा. महतोले राजनीतिक मतभेदहरु भएपनि मुलुकको विकासको लागि सबै दलहरु एक भएर प्रस्तुत हुनुपर्ने सुझाव दिए। उनले भने,“होला, हामीवीच राजनीतिक विषयमा वा एजेण्डामा मतभेदहरु होलान, तर अब आर्थिक विकास र मुलुकलाई समृद्धिको दिशामा डोर्याउने कुरामा हामी सबै एक भएर लाग्नुपर्छ, एक्लैले सम्भव हुँदैन, सबै मिलियो भने देश अवश्य बन्छ।”

उनले समाज वा देश गरिब भयो भने व्यक्ति जतिसुकै धनि भएपनि त्यसको कुनै अर्थ नहुने बताउँदै देश समृद्ध भएमात्रै त्यो देशको नागरिकको ईज्जत र प्रतिष्ठा हुने धारणा राखे।

भारत र चीनको आर्थिक विकासबाट नेपालले लाभ लिनसक्छ : सांसद डा. महतो 

त्यस्तै कार्यक्रममा ट्रष्टका उपाध्यक्ष एवम् सांसद डा. विरेन्द्र प्रसाद महतोले पनि नेपाल र भारतवीचको सम्बन्ध ऐतिहाँसिक, प्रगाढ एवम् मौलिक रहेको उल्लेख गर्दै आउने दिनमा अब द्धिपक्षीय सम्बन्धलाई आर्थिक साझेदारीको रुपमा अघि बढाउनुपर्ने बताए।

नेपाल भारत र चीनजस्तो विशाल अर्थतन्त्र भएका मुलुककोवीचमा रहेकोले यी दुई ठूला छिमेकीवीच पुल वा सेतुको काम गर्दै दुवै देशबाट आर्थिक लाभ लिन सक्नुपर्ने उनको भनाई थियो।

उनले मुलुक समृद्ध बनाउनको लागि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताउँदै त्यतातिर अब सबैले सोच्नुपर्ने बेला आएको बताए। उनले रोजगारीको लागि विदेशमा ठूलो संख्यामा नेपाली युवाहरु बाहिरिरहेको कहालीलाग्दो अवस्थालाई स्मरण गर्दै भने,“रेमिट्यान्सले आज मुलुक चलिरहेको छ, त्यतातिरपनि सोच्नुपर्ने बेला आएको छ, हामीले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सकेको भए आज मुलुक समृद्ध बन्नेथियो।”

कार्यक्रममा ट्रष्टकी संस्थापक सदस्य डा. समता प्रसादको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार