श्रेष्ठद्वारा रु ६ लाखको जग्गादान

2017/01/12 8:33:32 AM

दमौली, २८ पुस । तनहुँको बन्दीपुर नगरपालिका–६ विमलनगर निवासी सिद्धगुफा विकास समितिका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले गुफाको भवन निर्माणका लागि रु ६ लाख मूल्य पर्ने जग्गादान दिनुभएको छ ।

गुफाको व्यवस्थापनका लागि भवन निर्माण गर्न रु ६ लाख मूल्य बराबरको जग्गादान दिएको श्रेष्ठले बताउनुभयो । सिद्धगुफा विकास समितिको बुधबार विमलनगरमा आयोजित नवौँ साधारणसभाका अवसरमा अध्यक्ष श्रेष्ठले सो जग्गादान दिनुभएको हो । गुफालाई जग्गादान दिने माइनुटिङ भइसकेको र पास गर्न मात्रै बाँकी रहेको जानकारी उहाँले दिनुभयो ।

हालका गुफाका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले यसअघि पनि डुम्रेस्थित चिजकुमार÷विष्णुकुमारी क्याम्पस र पवित्रा माविका लागि पृथ्वी राजमार्गसँगै जोडिएको रु ३० लाख मूल्य बराबरको चार आना घडेरी जग्गा दान दिनुभएको थियो ।

सो साधारणसभाको बन्दीपुर नपाका कार्यकारी अधिकृत नेत्रप्रसाद पौडेलले उद्घाटन गर्दै गुफाको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार