चुनावमा आवश्यक सामान दिन भारत तयार, कञ्चनपुर घटनाको दोषीलाई कारबाही गर्ने आश्वासन

2017/03/18 6:51:14 AM

काठमाडौं ५ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार शिष्टाचार भेट गरेका छन् । निधिले स्थानीय तहको निर्वाचनका लागि बन्दोबस्तीका सामान उपलब्ध गराउन मोदीसँग आग्रह गरेका छन् । जवाफमा मोदीले निर्वाचनमा आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

मोदीको सरकारी निवासमा भएको भेटमा गृहमन्त्री निधिले कञ्चनपुर घटनाबारे पनि ध्यानाकर्षण गराएका छन् । २६ फागुनमा कञ्चनपुरको सीमाक्षेत्र आनन्दबजारमा कल्भर्टबारेको विवादमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली हानेर स्थानीय गोविन्द गौतमको हत्या गरेका थिए । प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाबारे सूक्ष्म अध्ययन भइरहेको र दोषीलाई कारबाही गर्न भारत सरकार तयार रहेको आश्वासन दिएका छन् ।

नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको गृहमन्त्री निधिको निजी सचिवालयले जनाएको छ । भेटमा भारतमा हालै सम्पन्न प्रान्तीय निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीले सफलता हासिल गरेकामा मन्त्री निधिले नेपाल सरकार, नेपाली जनता, कांग्रेस सभापति शेरबहादुर देउवा र आफ्नोतर्फबाट बधाई दिएका छन् । प्रतिआतंकवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री निधि भारत भ्रमणमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार