अर्थोडक्स चियाको प्रशोधन आधुनिक प्रविधिबाट

2017/03/18 5:43:14 PM

त्रिशूली, ५ चैत । हातले माडेर उत्पादन गर्दै आएको अर्थोडक्स चिया नुवाकोटका किसानले अब आधुनिक प्राविधिबाट सुरु गरेका छन् ।

चिया तथा कफी विकास बोर्डको सहयोगमा अर्थोडक्स चिया उत्पादन केन्द्रले किम्ताङमा रु १६ लाखको लगानीमा चिया प्रशोधन उपकरण जडान गरी आधुनिक प्रविधिमार्फत उत्पादन सुरु गरिएको हो ।

उपकरण खरिदमा केन्द्रको रु १२ लाख र स्थानीय किसानले रु चार लाख लगानी छन् । नुवाकोटको किम्ताङ, बुङताङ, देउराली आसपासका क्षेत्रका किसानले लगाएको चिया प्रशोधनका लागि केन्द्रको सहयोगमा सञ्चालनमा ल्याएको उक्त प्रविधिले किसानलाई व्यावसायिक बनाउन सहयोग पुगेको किम्ताङका अर्थोडक्स चिया किसान तथा चिया उत्पादन केन्द्रका अध्यक्ष सोमबहादुर तामाङले बताउनुभयो ।

नुवाकोटमा २०६१ सालदेखि सरु भएको चियाखेती अहिले एक दर्जन किसानले व्यावसायिक रुपमा सुरु गरेका छन् । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भए पनि उन्नतखेती, त्यसका लागि आवश्यक पर्ने उपकरण र बजार विस्तार नहुँदा समस्या भएको बुङताङका चिया किसान जगतबहादुर तामाङको गुनासो छ ।

चियाखेती गर्ने किसानका लागि जिल्ला कृषि विकास कार्यालयबाट प्राविधिक सहयोग र लक्षित कार्यक्रम सञ्चालन गरेमा गुणस्तरियता उत्पादनमा वृद्धि गर्न सकिने तामाङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार