राजेन्द्र किशोर क्षेत्री, मुख्यसचिव, नेपाल सरकार

नेपाल सरकारले केही दिनअघि मात्र मुख्य सचिवको जिम्मेवारी राजेन्द्र किशोर क्षेत्रीलाई दिएको छ । सहकारी तथा गरिबी निवारणमा कार्यरत क्षेत्री वरिष्ठ सचिव थिए । उनी कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका थिए । क्षेत्रीको कार्यकाल लामो छैन । ५८ वर्ष उमेर हदका कारण उनले कात्तिक ८ गते अनिवार्य अवकास पाउनेछन् । यो छोटो अवधिका लागि मुख्यसचिवको पद सम्हालेका क्षेत्रीसँग ऋषि धमलाले कुराकानी गर्नुभएको छ । अबको प्राथमिकतामा केके काम छन् र कर्मचारीतन्त्रलाई जनमुखी बनाउन कसरी सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाई मुख्यसचिवमा नियक्ति भएपछि केके कामलाई मुख्य प्राथमिकतामा राख्नुभएको छ ?
नेपाल सरकारले गर्ने सरकारी निर्णयलाई सरल, पारदर्शी र कानुनसम्मत बनाउनमा म केन्द्रित रहनेछु । सबै मन्त्रालयका सचिवहरुले गर्ने काममा आवश्यकता अनुसार समन्वय गर्ने र सहज बनाउने कामलाई प्राथमिकतामा राखेको छु । केही नीतिगत सुधार गर्नुपर्ने काम पनि छन् । समग्रमा सरकारले गर्ने निर्णयलाई गुणस्तरीय बनाउनका लागि मेरो विशेष पहल रहन्छ ।

नेपालको प्रशासनिक काम चुस्त र जनमुखी भएन भन्ने आरोप छ । यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
यस सम्बन्धमा पनि मेरो ध्यान केन्द्रित हुनेछ । कर्मचारी कसरी खटाउने र सेवालाई प्रभावकारी बनाउने विषयमा म र मेरो मातहतका निकाय तथा जिम्मेवार व्यक्तिलाई म अनुशासित बनाउनेछु । अहिले १७ वटा कानुनहरु बन्दै गरेको अवस्था छ । स्थानीय निकायसँग सम्बन्धित ति कानुनहरु बनाउने काम पनि प्राथमिकताको विषय हो । समग्रमा संविधानले दिएको अधिकार सुचिश्चित गर्नका लागि मेरो तर्फबाट पहल हुन्छ ।

जनताले सहज रुपमा सरकारी निकायबाट काम सम्पन्न गराउन समस्या छ । यो िविषयलाई कसरी लिनभएको छ ?
संविधानले जनताका लागि आवश्यक काम सहजै लिन पाउन भनेर सहज बनाएको छ । स्थानीय तहलाई धेरै अधिकार दिनुको अर्थ जनतालाई सेवा दिनु हो । अब ति स्थानीय तह वा त्यहाँका जनप्रतिनिधीले सेवाग्राहीलाई असल शासन मार्फत सेवा दिनुपर्छ ।

नेता र कर्मचारी मिलेर भ्रष्टाचार गर्ने परम्परा तोड्न सक्नुहुन्छ ?
भ्रष्टाचार नियन्त्रण वा निराकरण गर्ने विषय सजिलो छैन । यसलाई क्रमिक रुपमा सुधार गर्दै जानुपर्छ । सामाजिक अवस्था, शिक्षाको स्तर, नागरिक सचेतना जस्ता विषय कमजोर हुँदा भ्रष्टाचार मौलाउने गरेको छ । कानुनको कार्यान्वयन पनि कमजोर हुँदा चुनौति थपिएको छ । मलाई लाग्छ, भोलिका दिनमा सबै चुनौति पार लगाउन सकिन्छ ।

नेपालको कर्मचारीतन्त्र नेता र मन्त्रीमुखी भएकाले जनताले राम्रो सेवा नपाएका होइनन् र ?
यहाँले भन्नुभएको कुरा सत्य हो । जनतालाई प्रक्रियागत र कार्यविधिगत विषयभन्दा पनि तत्काल नतिजा निकाल्ने विषयको चासो छ । कार्यालयको शाखा अधिकृतलाई भेटेर गर्नुपर्ने कामका लागि जनता पनि नेतासम्म पुग्ने गरेका छन् । काम सम्पन्न गर्नका लागि नेतामार्फत दबाब दिने गरिन्छ । यस्ता प्रवृत्तिले गर्दा कर्मचारी पनि दबाबमा पर्ने गर्छन् । तर अब यस्तो परम्परा र प्रवृत्तिको अन्त्य हुन्छ ।

तपाईले राजनीतिक दबाबलाई थेग्न सक्नुहुन्छ ?
म केही हदसम्म राजनीतिक दबाबलाई व्यवस्थित गर्ने प्रयास गर्छु । तर राजनीतिक दबाब पनि परिणाम कै लागि हुने गर्छ । दल वा नेताहरु पनि परिणामुखी भएकाले दबाब आउन सक्छ । तर कर्मचारीतन्त्र प्रक्रियामुखी हुन्छ । कानुन, नियम र प्रक्रियाका विषयवस्तुले केही समय लिने गर्छ । जसले गर्दा कहिलेकाही द्धन्द्ध हुने गर्छ ।

कर्मचारीतन्त्री जनताका लागि सेवामुखी हुनुपर्ने हो । तर सुविधामुखी अर्थात कर्मचारीहरु आफ्नै सेवा सुविधालाई मात्र केन्द्रमा राख्ने गरेको पाइन्छ । विदेश भ्रमण होस् वा अन्य गतिविधि । यसले सेवाग्राही प्रभावित हुँदैनन् ?
सही कुरा भन्नुभयो । मैले पनि यो विषयलाई पनि सबै मन्त्रालयका सचिवसमक्ष उठाएको छु । अत्याधिक विदेश भ्रमण नगरौँ भनेको छु । अति आवश्यक र बाध्यात्मक अवस्थामा मात्रै विदेश जानुपर्छ भन्ने मेरो मान्यता हो । अझ ठुलो पदका कर्मचारीभन्दा पनि जनतासँग प्रत्यक्ष जोडिने कर्मचारीलाई तालिमका लागि विदेश भ्रमणमा एक्सपोज गर्नुपर्छ भन्ने मेरो मान्यता हो । तर अवलोकन भ्रमणलाई नियन्त्रण गर्ने मेरो लक्ष्य छ ।

अबका दिनमा एजेण्डाविहिन विदेश भ्रमण हुनेछैन भन्न सक्नुहुन्छ ?
म मेरो कार्यकालमा अनावश्यक विदेश भ्रमणलाई निरुत्साहित गर्नेछु ।

आर्थिक वर्ष २०७३–७४ को अन्तिम दिनमा मात्रै खरबौँ रुपैयाँ खर्च गरिएको छ । अरुबेला काम नगर्ने आर्थिक वर्ष सकिदै लाग्दा बजेट सक्नकै लागि खर्च गर्ने परम्पराको कहिले अन्त्य हुन्छ ?
बजेट कार्यान्वयन नै नेपालको मुल समस्याको रुपमा देखिएको छ । पुँजीगत खर्च अत्यन्त कम छ । कामहरु प्रभावकारी रुपमा हुन सकेका छैनन् । कतिपय कुरा प्रक्रियागत समस्याले पनि झन्झटिलो बनेको कामहरु प्रभावकारी रुपमा हुन सकेका छैनन् । कतिपय कुरा प्रक्रियागत समस्याले पनि झन्झटिलो बनेको छ । कर्मचारीहरु पनि आफैले गरेको काममा समेत निश्चिन्त हुनुहुन्न । काम गर्ने क्रममा कतैबाट हस्तक्षप हुन्छ कि भन्ने चिन्ता पनि छ । जसले गर्दा काम प्रभावित भएको छ । यससम्बन्धमा पूर्वाधार निर्माण र विकास निर्माणसँग सम्बन्धि मन्त्रालयका कर्मचारीसँग अन्तरक्रिया गर्न चाहेको छु ।

ताजा दुर्घटनालाई जोडौँ, राजधानीमा पानी पर्दा सडकमा पानीको निकास नभएका कारण बालबच्चाको ज्यान नै गएको छ । यसलाई कसरी लिनुहुन्छ ?
सडक व्यवस्थापनका विषयमा आज नै एउटा बैठक गर्दैछौँ । प्रधानमन्त्रीसहितको उपस्थितीमा हुने उक्त बैठकमा ति घटनाको विषयमा पनि कुरा उठाइनेछ । मेरो ध्यान पनि सडकलाई राम्रो बनाउनका लागि केन्द्रित रहनेछ ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट