काठमाडौँ, २ साउन । नेकपा (एमाले) ले मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिन र उपयुक्त प्रक्रिया अवलम्बन गर्न आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आयोगको कार्यालय कान्तिपथमा प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई भेटी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीले आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी मतदाता नामावली अद्यावधिक गर्न माग गरेको हो ।

नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गर्न आग्रह गर्दै एमालेले निर्वाचन भइसकेका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइ अविलम्ब अन्त गर्न पनि सुझाव दिएको छ ।

एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचन सम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर आयोगले गरेको पहल सकारात्मक भएको पनि स्मरण गराएको छ ।

यस्तो छ एमालेको ध्यानाकर्षण :

उल्लेखित सम्बन्धमा नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गरिनुपर्छ भन्ने कुरामा पुनः जोड दिँदै निम्न विषयतर्फ निर्वाचन आयोगको निरन्तर पहल तथा प्रयासको लागि पार्टीको तर्फबाट माग गर्दछौं ।

१) निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपर्युक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्ने ।

२) निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइलाई अविलम्ब अन्त गर्दै समिति गठन गर्न आवश्यक कार्य गर्ने ।

३) निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर निर्वाचन आयोगको सकारात्मक पहलतर्फ हाम्रो ध्यानाकर्षण भएको छ । यसलाई अझ कडाइका साथ निरन्तरता दिने ।
धन्यवाद ।
२०७४ साउन २ गते

सुवासचन्द्र नेम्वाङ्
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एंव
उपनेता संसदीय दलको कार्यालय

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट