जसरीपनि जित्नैपर्ने सोच लोकतन्त्रका लागि खतरा
दीपेश केसी । समाचार विश्लेषण । सर्वोच्च अदालतको फैसला अपेक्षित नै थियो । सम्मानित अदालतले कानुनको व्याख्या र विगतको नजिर अध्ययन गरेर फैसला गरेको थियो, भरतपुर महानगरपालिका—१९ को मतपत्र च्यातिएको घटनामा परेको रिटमा । अदालतको फैसलापछि राजनीतिक रूपमा पक्ष विपक्षमा बाँडिएका मध्ये एमाले पक्षधरले असन्तुष्टि पोखे । माओवादी केन्द्रका समर्थकले आधा चुनाव जितेको जसरी खुशी व्यक्त गरे । सायद, नेपाली काँग्रेसका समर्थकहरूलाई चाहिं कागलाई बेल पाक्यो हर्ष र सुर्ता भएको होला । बरू, आफ्ना उम्मेदवारले पक्का जित्ने थिए भनी अझै चुकचुकाइरहेका छन् । जिम्मेवार आम नागरिकले अदालतको फैसलाले वर्तमानमा भन्दा भविष्यको चुनावमा पार्ने असरबारे विचार गर्नु जरूरी छ । एउटा घटनाले परिघटनाहरू निम्त्याउँछ । राजनीतिमा रोपिएका कुनैपनि राम्रा नराम्रा वृक्षले कालान्तरसम्म जरा फैलाउँछ । जसरी भरतपुर घटनापछिको परिघटनाले भविष्यमा अनेकन नकारात्मक असर पार्न सक्छ ।

जसरी पनि जित्नैपर्ने?

नेपालमा राजनीतिको अर्थबारे समेत गतिलो बहस भइराख्दैन । राजनीतिलाई जे जसरी बुझिएको छ त्यसले देशमा गलत व्यक्तिहरू राजनीतिमा हावी भएका छन् । जस्तो फलको बीया रोप्यो त्यस्तै फल्ने हो । राजनीति भनेको पद प्राप्ति र सुखसयल हो भन्ने मान्यताले जरा गाडिसक्यो । कतिपयका लागि राजनीति शक्तिको दुरुपयोग गर्ने, वरिपरि पिछलग्गु देखाउने, सलाम खाने र कानुन सजिलै मिच्न छुट पाउने जस्तो भइरहेको छ । राजनीति राष्ट्रको निस्वार्थ सेवा हो र राष्ट्रमा नेतृत्व दिएर आफ्नो आचरण र व्यवहारबाट सही सन्देश दिनसक्नुपर्छ । यस्तो सन्देश हाम्रा राजनीतिज्ञले सायदै दिन सकेका छन् । त्यसैले हामी अझै राजनीतिज्ञका भन्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सादगीपन सुनेर रमाउँछौं ।

जसरी पनि जित्नैपर्ने शैलीले हाम्रा राजनीतिज्ञहरू जितेर पनि हारे । अन्तर्राष्ट्रिय जगतले नेताहरूलाई हल्का रूपमा लिएर हेपाहा व्यवहार देखाए । उनीहरू मात्र हारेन देशले समेत हार्ने परिस्थिति बनिरह्यो । कुनैपनि विदेशीले नेपालीलाई सम्मानको नजरले हेर्ने अवस्था सृजना गर्न सकेनन् । नेपाल भनेको राजनीतिक रूपमा अस्थिर, सत्ताका लागि जुनसुकै हतकण्डा अपनाउने नेताहरू हावी भएको देश भनेर चिने । त्यसैले केही लाख डलर खर्चेर गलत नियतले पसेका विदेशीहरू हाम्रा नेताहरूलाई सजिलै जुधाइरहेका छन् । त्यो केही लाख डलर पनि घुमाई फिराई हाम्रै पैसा हो ।

बुथ क्याप्चर देखि मतपत्र च्यातचुत

देशमा २०४६ सालको जनआन्दोलनपछि प्राप्त प्रजातन्त्रपछि जनताले असल नेता पाउने आशाहरू राखे । राजनीतिक र सामाजिक क्षेत्रमा उत्कृष्ट पद्धति र प्रणाली स्थापित हुने आशा राखे । तर, प्रजातन्त्र प्राप्तिको केही वर्षमै फोहोरी खेलहरू हुनथाले । नेताहरू सत्तालिप्सामा यतिसम्म गिरे कि राजनीतिको आधारभूत मूल्य र मान्यतालाई बिर्सन पुगे । जनताको त्याग र बलिदानलाई चटक्कै बिर्सेर आफ्नो हितमा केन्द्रित भए । सत्तामा पुगेर शक्तिको दुरूपयोग गर्न सकिन्छ र विलासी जीवन बिताउन पाइन्छ भनेर जुनसुकै हतकण्डा अपनाएर चुनाव जित्ने कुसंस्कार स्थापित भयो । संसदीय चुनावमा बुथ क्याप्चर देखि हिंसा मच्चाउने गतिविधि भए । संसदमा प्रधानमन्त्रीको चुनाव हुँदा सांसद किनबेचका खेलहरू भए । इतिहासमा तीन घटना सुरक्षित छन् । चुनावमा फोहोरी खेलहरू भएपछि जनतामा चुनावप्रति आकर्षण नै घट्यो । ‘जुन जोगी आएपनि कानै चिरेको !’ मतदानमा जानेको संख्या पनि घट्दै गयो । यही मौकामा जनमतमा भन्दा हिंसामा विश्वास गर्ने माओवादीले जनप्रतिनिधिमाथि आक्रमण गरेर गाउँलाई एकछत्र आफ्नो प्रभावक्षेत्र बनाउन सफल भयो ।

आशामाथि अर्को प्रहार

दश वर्ष लामो सशस्त्र गतिविधि पछि जनताले शान्ति चाहे । शान्तिका लागि सडकमा उत्रिएर निरंकुश राजतन्त्रविरुद्ध आन्दोलन गरे । निकै कसरतपछि संविधानसभाको चुनावहरू पनि भए । पहिलो संविधानसभाको चुनावमा माओवादीमाथि बुथ क्याप्चर र धाँधलीको आरोप लाग्यो । यो आरोप लगाउने नेपाली काँग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ता थिए । धाँधलीको कारण मात्र माओवादीले पहिलो स्थान हासिल गरेको थिएन । काँग्रेस र एमालेप्रतिको जन असन्तुष्टि कायमै हुनु र नयाँ शक्ति भएकाले माओवादीले केही गर्छ कि, पुनः जङ्गल पस्दैन कि भनेर मत दिएका थिए । तर, माओवादीले जनअपेक्षा अनुसार काम गरेन । दोस्रो संविधानसभाको चुनावमा नराम्रो झड्का पर्ने गरी खुम्चियो । देशमा संविधान पनि जारी भयो । असन्तुष्ट पक्ष रहे र त्यो लोकतन्त्रमा भइनै रहन्छन्

संविधानमा टेकेर १९ वर्षपछि स्थानीय निकायको चुनाव शुरू भयो । चुनावमा जनतामा अपार उत्साह देखियो । बुथ क्याप्चर र धाँधलीका घटना सायदै सुनिए । लोकतन्त्र बलियो हुने र जनमतप्रति नेता कार्यकर्तामा सम्मान र विश्वास बढेको आभाष भयो । मतगणना ढिलो भएकाले असन्तुष्टि भएपनि जनताले धैर्यता देखाए । तर, पहिलो चरणको चुनावमा भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यात्ने घटना गम्भीर बन्यो ।

घटनामा संलग्न दुईजना अभियुक्त पक्राऊ परे र अदालती कारबाहीका क्रममा धरौटीमा रिहा भए । के ती साँच्चै संलग्न थिए ? संलग्न थिए भने तिनलाई नियोजित रुपमा कसैले घटना घटाउन लगाएको थियो वा थिएन ? तिनीहरूमाथि कारबाही हुन किन ढिलो भयो ? यी विषय मात्र ती अभियुक्तको सवाल रहेन, देवी ज्ञवाली वा रेणु दाहालमध्ये कुनै एकले चुनाव जित्ने वा हार्ने सवाल देश र जनताका लागि खासै महत्वपूर्ण रहेन । यो एमाले र माओवादीको विषयमा सिमित रहेन । चुनावमा कुनै एकले जित्ने र बाँकीले हार्ने भइहाल्छ । चुनाव आउँछ जान्छ, उम्मेदवार आउँछन् जान्छन्, मेयर जित्ने पनि कार्यकाल सकेर जान्छ । तर, पद्धति र प्रणाली महत्वपूर्ण हुन्छ । भरतपुर महानगरपालिकाको निर्णय अब त्यहाँका जनताले गर्नेछन् ।

नेताबाट सुसंस्कार

सम्मानित अदालतले फैसला सुनाएपछि मेयरको टुंगो जनमतबाट हुन्छ । तर, लोकतन्त्रको अक्सिजन मानिने चुनावमा मतपत्र च्यात्ने प्रवृत्ति कहिलेसम्म अन्त हुन्छ । विगतमा एमाले कार्यकर्ताले बाग्लुङमा त्यस्तै घटना घटाएर पुनः मतदान भएको थियो । अहिले माओवादी कार्यकर्ताले इतिहास दोहो¥याए । लोकतन्त्रमा जनताको मतपत्र च्यात्ने जनविरोधी हो । त्यो जुनसुकै दलको किन नहोस् कडा सजाय पाउनुपर्छ । कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । लोकतन्त्रको धज्जी उडाउने गतिविधिलाई प्रचण्ड हुन् या केपी ओली, शेरबहादुर देउवा नै किन नहुन्, उनीहरूले प्रश्रय दिनुहुँदैन । लोकतन्त्र विरोधी गलत गतिविधि गराएर कोही कसैले क्षणिक लाभ लिन खोज्छ भने त्यस्तो नेता बदनाम हुन्छ । जसले त्यस्ता गतिविधि गर्छन् तिनले भोलि अरू कसैको आदेशमा उनीहरूलाई नै डस्नेछन् । विषालु साँपलाई दुध पिलाएर पाल्दा त्यसले पालनकर्तालाई नडस्ला भन्न सकिन्न । सबैभन्दा खतरा पालनकर्तालाई हुन्छ । नेताहरूले लोकतन्त्रलाई मजबुत पार्ने हो भने जसरी पनि जित्नैपर्ने गलत पद्धतिको अन्त गर्नुपर्छ । आफू हारेर भएपनि देश र लोकतन्त्रलाई जिताउने त्याग देखाउन सक्नुपर्छ । शान्त, समृद्ध र स्थायित्वसहितको सुन्दर नेपाल निर्माणको अभियान तबमात्र साकार हुन्छ । बोलीले देश बन्दैन त्यसका लागि व्यवहार चाहिन्छ । नेतृत्वबाट सुसंस्कार विकास भई कार्यकर्ताले पालना गर्ने पद्धति बन्नुपर्छ ।

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट