एघारौँपटकको अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । तर उनका माग पूरा हुन नसक्दा अनशन तोडाउन सकिएको छैन । अब कसरी माग पूरा गर्ने र केसीको जीवनरक्षा कसरी गर्ने भन्ने चिन्ता धेरैमा छ । यसै सन्दर्भमा गोविन्द केसीको अभियानमा सुरुदेखि नै साथ दिएर सँगै रहनुभएका डाक्टर जीवन क्षेत्रीसँग ऋषि धमलाले कुरा गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको उक्त कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

डा. गोविन्द केसीले अनशन तोड्ने सम्भावना छ कि छैन ?
सरकारले उहाँको माग कहिले कसरी पूरा गर्छ भन्ने कुरामा भर पर्छ ।

सरकारले अनशन तोड्नका लागि आग्रह गरेको छ । तीन दलका प्रमुख नेताहरुले पनि विस्तारै माग पूरा गर्दै जाने आश्वासन दिएका छन् ।
योभन्दा पहिला पनि यस्ता आश्वासन पटकपटक दिइएको थियो । तर माग पूरा नभएकै हो । त्यसो भएकाले ठोस काम नभैकन अनशन तोड्ने अवस्था छैन । सरकारको विश्वास पनि छैन ।

केसीको जीवनरक्षाका लागि पनि अनशन तोडाउनुपर्दैन ?
केसी आफ्नो स्वनिर्णयले अनशन बस्नुभएको हो । त्यसैले उहाँले कतिखेर निर्णय बदल्नुहुन्छ, अभियान कतिखेर अगाडि बढेको महसुस हुन्छ र पछाडि हटौँ भन्नुहुन्छ भन्ने कुराले मात्रै यसमा निर्णायक भूमिका खेल्ने भएकाले हामी बाहिरबाट सरकारलाई दबाबा दिने काम मात्रै गर्न सक्छौँ । अनशनको बारेमा निर्णय गर्न सक्दैनाँै ।

सरकारले त जतिसक्दो चाँडो विधेयक पारित गराउँछौँ भनेको छ नि ?
सरकारले जे भन्यो भन्नुभयो, त्यो ऐनमा परेका संशोधनहरुमा हामीले बाहिरबाट हस्तक्षेप नगर्ने र सासंदहरुले आफु अनुकुल गर्न पाउने हो भने त्यो विधेयक कूरुप भएर काम नै नगर्ने गरी आउने जस्तो देखिन्छ । हामीले त सुधार चाहेको हो । माथेमा प्रतिवेदनले भनेको कुरा छुट्नु हुँदैन भन्ने हाम्रो माग हो ।

गोविन्द केसीको स्वास्थ्यस्थिती बिग्रिदै गएको छ । हामीले सबै मिलेर अनशन तोड्ने वातावरण बनाउन सकिदैन ?
सरकार र राजनीतिक दलहरुको विश्वसनियता अलि धेरै भइदिएको भए यो कुरा अर्कै भइसक्थ्यो । उहाँहरुलाई विश्वास गर्ने धरातल भइदिएको भए यो अवस्था आउने नै थिएन । डा. केसीको स्वास्थ्यप्रति हाम्रो सरोकार हुँदाहुँदै पनि अहिले तत्काल हामीले खेल्न सक्ने ठूलो भूमिका केही पनि छैन ।

तपाई त सुरुदेखि नै केसीसँग साथै रहनुभएको व्यक्ति, तपाईहरुले चाहनुभयो भने त अनशन तोडिन्छ नि ?
मैले लामो समयअघिदेखि यो विषय हेरिरहेको छु । अहिले कानुनमा थोरै मात्र चुक्यौँ भने पनि भोलिका दिनमा त्यसमाथि खेलेर अहिले भन्दा पनि धेरै भाँडभैलो गर्ने सम्भावना छ । हामी सुधारको संवेदनशील अवस्थामा छौँ । केसीको जीवनरक्षा र हाम्रा एजेण्डा बचाउने चुनौतिमा हामी छौँ ।

प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले त अनशन बस्दैमा माग पूरा गराउनुहुँदैन भन्ने आशयले विचार व्यक्त गर्नुभएको छ । यसलाई कसरी लिनुभएको छ ?
ओलीजिले योभन्दा अगाडि आफ्नो सरकार भएका बेला पनि हुन सक्ने काम अनशन नबसे पनि पूरा गर्न सकिन्छ । नसकिने काम अनशन बस्दैमा पूरा गर्न सकिदैन भन्ने त उहाँको पुरानै कुरा हो । तर योभन्दा अगाडि केसी अनशन बस्दा ओली सरकारले मर्न त दिएन नि । वास्तवमा आफ्नै पार्टीसँग सम्बन्धित मनमोहन मेडिकल कलेज सरकारलाई किनाउने गरी सम्झौता त उहाँले नै गराउनुभएको हो । जुन महत्वपूर्ण निर्णय थियो । तर अहिलेचाँही उहाँ प्रतिपक्षमा भएकाले जिम्मेवारी बोध नभएको हुन सक्छ । अप्ठ्यारो परे सरकारलाई नै पर्छ भन्ने उहाँको सोचाई हुन सक्छ । अहिलेको समयमा केसीको मागलाई उखान टुक्का भनेर कुनै अर्थ छैन ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट