दीपेश केसी । कुनैबेला काठमाडौंको रात्रीक्लबहरू नग्न नृत्यका लागि चर्चित थिए । उच्च देखि मध्यमवर्गका पुरूषहरू राति ढिलोसम्म नग्न नृत्य हेर्न पुग्थे । विदेश बसेर आएकाहरूको संख्या झन् बढी हुन्थ्यो । सर्वसाधारण नेपालीले सुन्न पनि नसक्ने गतिविधि हुन्थे ती क्लबहरूमा । क्लब संचालन गर्ने नाम चलेको गुण्डा नाइकेहरू थिए । जसलाई भ्रष्ट प्रहरी देखि कर्मचारीसम्मले संरक्षण गर्थे । राजनीतिक दलको कार्यकर्ता बनेर तिनका नेताहरूको संरक्षणमा त्यस्ता गुण्डानाइकेले नग्न नृत्य देखाएर मनग्गे पैसा कमाउँथे । युवतीहरूको आर्जन राम्रो हुन्थ्यो । त्योभन्दा बढी आर्जन गुण्डा नाइकेको हुन्थ्यो जसले माथिसम्म सेटिङ्ग मिलाएर रात्रीक्लब चलाउँथे । यस्तै नग्न नृत्य चलिरहेछ सोझा नेपाली जनताले ल्याइदिएको लोकतान्त्रिक गणतन्त्र नेपालमा जहाँ सबै सेटिङ्गमा चलिरहेछ ।
रात्री क्लबले त रातिमात्र नग्न नृत्य देखाउँथे तर नेपालको राजनीतिमा नेताहरू दिउँसै नाङ्गा नाँचहरू नाँच्न थालेका छन् । के गर्नेलाई भन्दा हेर्नेलाई लाज जस्तै भएको छ । नेपाली जनताले ती नाँचहरू हेर्नुपर्ला भनेर आँखा छोप्नुपर्ने अवस्था बनिसकेको छ । देशमा जे जस्तो घटना विकसित भए त्यसले राजनीतिक दलहरूलाई हदैसम्म नग्याइसकेको छ । के शेरबहादुर देउवा, के प्रचण्ड, के केपी ओली सबै प्रभावशाली नेताहरू नाङ्गो नाँच नाँचिरहेका छन् । प्रधानमन्त्री प्रधानमन्त्री जस्ता छैनन्, प्रमुख विपक्षी दलका नेता प्रमुख विपक्षी दलका नेता जस्ता छैनन् । रक्तपातपूर्ण ‘जनयुद्ध’ हुँदै संसदीय भासमा जाकिएका प्रचण्डबाट संसदीय लोकतन्त्रमा मूल्य र मान्यताको आशा गर्नु मूर्खता मात्र हो । मुख्य नेताहरू दिनदहाडै जनताको अपमान गरेर लोकतन्त्रको आँडमा नाङ्गो नाँच नाँचिरहेका छन् । सत्ताबाट टाढा रहेका राष्ट्रिय जनता पार्टीलगायतप्रति पूर्वाग्रही तरिकाले असन्तुष्टि पोख्नुको के अर्थ ?

भरतपुरकाण्ड

नेपाली राजनीतिक इतिहासमा भरतपुरकाण्ड राजनीतिशास्त्रका विद्यार्थीका लागि अध्ययनको विषय हुनेछ । अहिले शतहमा जे जस्ता घटना देखिएपनि भरतपुरको मतपत्र च्यात्ने देखि पुनः मतदान हुँदै रेणु दाहालको जीतसम्ममा धेरै नग्न नृत्यहरू भएका छन् । लोकतन्त्रको नृत्य पनि हो यो । लोकतान्त्रिक प्रक्रियामार्फत् भएको चुनावको सम्मान गर्नुपर्छ । जनमतको परिणामको पनि कदर हुनुपर्छ । तर, जे जस्ता तिकडमबाजी भए त्यसले नग्नताको हद नाघेको छ । नृत्यका पात्रमा प्रचण्ड र देउवा मात्र संलग्न छैनन् केपी शर्मा ओली पनि संलग्न छन् ।
जसरी पनि चुनाव जित्नुपर्छ र ढाँटछलको राजनीति गरेरै जित्ने रणनीतिमा कोहीभन्दा कोही कम छैन । ओलीले झुटा सपना र आश्वासनको खेती गरेर आफूलाई राष्ट्रवादी देखाएर चुनावी फाइदा बटुलेका थिए । जबकि उनीसँग आफ्नो पालामा गरेको सम्झनलायक विकासको कुनै काम छैनन् । ओली उखान र टुक्कामा मस्त छन् अर्को पक्ष र विपरित विचार राख्नेमाथि घोचपेच गरेर कार्यकर्तालाई स्वस्थ मनोरञ्जन दिन्छन् । विहारमा लालुले जसरी हसाउँछन् ओलीको तरिका ठ्याक्कै त्यही हो । चुनावी खेलका अनुभवी देउवा र ओलीका नकारात्मक शैली यसपटक प्रचण्डले पनि सिकेछन्, उनले कुटिल रणनीतिमार्फत् भरतपुरको चुनावमा छोरीलाई जिताएर राजनीतिमा स्थापित गराउन सके ।

पुरानो नजिरको जग

कुनैपनि घटनाको कारण वर्तमान मात्र होइन । यसका पछाडि पुराना कारणहरू हुन्छन् । संसदीय खेलमा काँग्रेस, माओवादी, राप्रपा र मधेशवादी दलले फोहोरी घटनाहरू घटाए । जनताले मत हाल्ने चुनावमा बुथ क्याप्चर देखि पैसाको खोलो बगाउने सम्मका गतिविधि भए । प्रधानमन्त्रीको चुनावमा सांसद किनबेचहरू भए । बेथिती हदै बढ्यो । जनता राजनीतिक दलका नेताहरूप्रति असन्तुष्ट बने । असन्तुष्टि यतिसम्म बढ्यो कि हजारौं युवालाई माओवादीले बन्दुक बोकाउने मौका पायो । निरंकुश राजाले सत्ता हातमा लिए ।

जनताले जे जस्तो भएपनि लोकतान्त्रिक शक्ति हुन् भनी दलहरूको आव्हानमा जनआन्दोलनमा सहभागी भए । वसन्त क्रान्तिले लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । जनताले राजनीतिक पद्धति र प्रणाली गतिलो हुने विश्वास राखे । शान्ति, सुव्यवस्था, स्थायित्व र समृद्धी प्राप्तिको सपना साँचे । तर, पहिलो संविधानसभाको चुनावबाट निर्वाचित प्रधानमन्त्री प्रचण्डले जितको घमण्ड देखाउन थाले । त्यसलाई चुनौती दिन माधवकुमार नेपाल तयार भए । दुई स्थानमा संसदको चुनाव हारेका उनै नेपाल मनोनित सांसद बनेर प्रधानमन्त्री बने । संविधानमा संसदको चुनाव हारेको व्यक्ति प्रधानमन्त्री हुन नपाउने भन्ने लेखेको थिएन तर यो राजनीतिक मूल्य र मान्यताको धज्जी उडाइएको थियो । राजनीतिक मूल्य र मान्यतालाई आफ्नो स्वार्थका लागि बली चढाइदिने धेरै नेताहरूले नेपाली राजनीतिलाई धुमिल पारिरहेका छन् । नैतिकता बिर्सिएका नेताहरूले यस्तै घटनाको विकास गरेर गलत नजिर बसाए ।

एमालेले नेपाली काँग्रेसलाई भरतपुरकाण्डमा सहायक बनेको आरोप लगाउँदा विगतका राजनीतिक संस्कार पल्टाएर हेर्नुपर्छ । एमाले नेता माधवकुमार नेपाल दुई स्थानबाट हारेर पनि मनोनित संसद बन्दै काँग्रेसको बुई चढेर प्रधनमन्त्री बनेका थिए । ने । काँग्रेसको टेको लिएर प्रधानमन्त्री समेत बने । संसदको चुनाव हारेको व्यक्ति प्रधानमन्त्री बन्न नपाउने भन्ने संविधानमा लेखिएको थिएन तर के त्यो राजनीतिक नैतिकताभित्र पर्ने विषय हो ।

दोस्रो संविधानसभाको चुनावमा प्रचण्डको सिराहाबाट विवादास्पद जित अर्को नजिर बन्यो । उनको जितमा मुख्य नेताहरूको साँठगाँठ देखिन्छ । इतिहासका विद्यार्थीले यसको शल्यक्रिया गर्लान् । अगुवा नेताहरू आफ्नो हितका लागि मेलमिलापका नाममा यस्तै घटनालाई मलजल प्रदान गर्छन् । अहिले एमालेका नेताहरूले भरतपुरमा रेणु दाहालको जितमा आक्रोशयुक्त अभिव्यक्ति दिनुभन्दा अगाडि आफूले स्थापित गरेका राजनीतिक कुसंस्कार र मूल्य मान्यताको धज्जी उडाएको घटनालाई बिर्सन मिल्दैन । सबै नग्न छन् अर्कोलाई देखाएर गिज्याउने वा गाली गर्न सुहाउने अवस्था पनि छैन ।

अब गर्ने के

राजनीतिलाई स्वस्थ र नैतिकवान् नेताको जन्म गराउने हो भने सबैभन्दा पहिले जनता सचेत र विवेकशील हुन जरूरी छ । जनताले गलत बाटोबाट आउन खोज्ने र खराबहरूलाई परास्त गर्ने क्षमताको भरपूर प्रयोग गर्नुपर्छ । नेताहरूलाई मतमार्फत् दण्ड दिनसक्नुपर्छ । गलत काम गर्ने नेतालाई बहिष्कार गर्न सक्नुपर्छ । जस्तो समाज, समाजका सदस्य त्यस्तै नेता बन्ने हुन् । दोषमात्र दिएर हामीले हाम्रो राजनीतिक संस्कारलाई गतिलो बनाउन सक्दैनौं ।

खेलाडीले खेलमा जितका लागि फाउल पनि गर्छ । तर, जनता दर्शकमात्र हुँदैन राजनीतिक खेलमा । कहिले आफै खेलाडी हुन्छ त कहिले रेफ्री बन्छ । राजनीतिमा जनताको रेफ्रीका रूपमा भूमिका महत्वपूर्ण हुन्छ । जनताले रेफ्रीको सार्थक भूमिका निभाउनुपर्छ । राजनीति स्वच्छ बनाउने हो भने नैतिकवान् नेताको उदय हुनुपर्छ । अहिलेको प्रदूषित राजनीतिक वातावरणले त्यस्तो नेताको जन्म हुन कठिन छ । पहिले प्रदूषण हटाउनुपर्छ । अहिलेका मुख्य नेताहरू राजनीतिक रूपमा अस्वस्थ क्रियाकलाप गर्छन् । तिनको सान्दर्भिकता नेपाली राजनीतिमा सकिइसक्यो । अब नयाँ पुस्ताले नैतिकताको ख्याल गर्ने नेतृत्व स्थापित गर्ने अभियानमा आफूलाई उभ्याउनुपर्छ । नत्र, मतपत्र च्यात्नेहरूको जन्म बारम्बार भइरहन्छ र त्यस्तै व्यक्तिको आँडमा शासनसत्तामा पुग्ने नेताको उदय हुन्छ ।

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट