दीपेश केसी, समाचार विश्लेषण । राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजन अप्रत्याशित थिएन । एकीकरणको छ महिनाबीच कमल थापा र पशुपति शमशेर राणाबीचको द्वन्द्वले विभाजनको संकेत गरिसकेको थियो । २३ साउनमा विभाजनले औपचारिक रूप मात्र ग्रहण गरेको हो । एकता पछि संसदमा चौंथो शक्ति बनेको राप्रपा विभाजनपछि वरियतामा तल झरेको छ । यो घटनाले कमल थापाको महत्वाकांक्षी रणनीति असफल हुनाको साथै संसदमा मधेशवादी भनिएका दलको माग सम्बोधन गर्ने गरी संशोधन प्रस्तावलाई टुंगोमा पु¥याउने रणनीतिले एउटा मोड लिन खोजेको छ ।

थापा भर्सेस राणा

पञ्चायती पृष्ठभूमिका कमल थापा र पशुपति शमशेर राणाबीचको मिलन र बिछोड कुनैबेला सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको मिलन र बिछोड जस्तै भएको छ । शक्ति घट्दा मिल्ने र बढ्ने वित्तिकै लड्ने परम्परा राप्रपाका नेताहरूमा रहेको छ । कुनैबेला सूर्यबहादुर थापा र पशुपति शमशेर राणाबीचको द्वन्द्वले राप्रपा विभाजित भएको थियो । नेपाली राजनीतिमा सबैभन्दा धेरैपटक विभाजनको पीडा राप्रपाले भोगेको छ । यसका कारण नेताहरूको व्यक्तिगत स्वार्थ मुख्य कारण देखिन्छ ।

एकताका थापाले एकीकरणको विषय ल्याउँदा राणाले गणतन्त्र स्वीकार्नुपर्ने अडान राखेका थिए । तर, थापाले मानेनन् । राणाले सार्वजनिक रूपमै कमल थापालाई गणतन्त्र मान्ने अवस्थामा ल्याएपछि एकीकरण हुने बताएका थिए । रोचक पक्ष राणा बरु कमल थापाको राजसंस्थाको मुद्यालाई स्वीकार्ने अवस्थामा पुगे महाधिवेशनमार्फत् । दुवै दलको मुख्य एजेण्डा हिन्दु अधिराज्य पुनःस्थापना थियो । हलो चाहिं गणतन्त्रको विषयमा अड्केको थियो । हिन्दु अधिराज्यसहितको राजसंस्थाको मुद्यामा केन्द्रित रहन थापा र राणा दुवै सहमत भइसकेका थिए । मुद्यामा कुरा मिलिसक्दा विभाजनको कारण व्यक्तिगत स्वार्थ सिवाय केही होइन ।

महाधिवेशनमा अध्यक्ष बन्ने प्रयास राणाले पनि गरेका थिए । तर, अंकगणितमा आफू पछि पर्ने देखेर पछि हटे । थापा निर्विरोध जसरी अध्यक्षमा निर्वाचित भए । तर थापाको नेतृत्वलाई राणाले सहज मानेका थिएनन् । अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरका नाति हुनुको हुंकार उनमा छँदै थियो । त्यसमाथि नेपालको राजनीतिमा प्रभाव राख्ने छिमेकी भारतमा नातासम्बन्धहरू छन् । भारतको राजनीतिका प्रभावशाली व्यक्तिहरू करण सिंह, बसुन्धरा राजे सिन्धियालगायत उनका नातेदार हुन् । यसकारण पनि राणाले थापालाई आफूभन्दा माथि स्वीकार्न मानिरहेका थिएनन् । वाक्पटुता र सांगठनिक क्षमता भएका थापाले राणालाई पछि पार्दै गइसकेका थिए । उनी राप्रपामा एकछत्र राज गर्ने गरी पकड बनाउँदै थिए । जसका कारण राणाले ढिलो नगरी पार्टी विभाजन गरे । कमल थापाको प्रधानमन्त्री बन्ने महत्वाकांक्षामा विभाजनले ठूलो धक्का दियो ।

चुनावको धक्का

राप्रपाले स्थानीय चुनावमा तयार गरेको घोषणापत्र आकर्षक थियो । चुनावी रणनीति अनुसार महत्वपूर्ण स्थानीय निकायमा एमालेसँग चुनावी तालमेलको निर्णय भयो । यसमा थापाले राणालाई समेत मनाएका थिए । एमालेसँग मिल्न हुन्न भन्नेमा राणा पक्षधरहरू थिए । तर, थापाको जोडबलले सरकारबाट हटेर भएपनि तालमेल गरिएको थियो । असन्तुष्टिका बाबजुद राणाले तालमेलबारे मौनता साँधे । तर, जब राप्रपाका मेयरका उम्मेदवार काठमाडौं र ललितपुरमा नराम्रोसँग पराजित भए तब राप्रपाको झगडा बल्झियो । राणाले एमालेसँगको तालमेल गल्ती हो भनी सार्वजनिक रूपमा बोले । चुनावमा परेको धक्कापछि राणा नेतृत्वप्रति तिव्र असन्तुष्टि जनाउन थाले ।

राप्रपाको केन्द्रीय कमिटि विस्तारमा समेत राणाले असन्तुष्टि पोखे । सार्वजनिक रूपमा विज्ञप्ति नै जारी गरे । राप्रपाको द्वन्द्वमा स्थानीय चुनावले आगोमा मट्टीतेल छर्के जसरी भूमिका खेल्यो । राप्रपाको चुनावमा रोचक पक्षहरू देखियो । हिन्दु अधिराज्य फर्काउने मुद्या उठाएको राप्रपाका उम्मेदवारहरूमध्ये इशाई र इस्लाम धर्मालम्बीहरूले रोचक जित हासिल गरे । जबकि राप्रपाले घोषणापत्रमै आफूले जितेको गाउँपालिका र नगरपालिकामा धर्म परिवर्तन गर्न नदिने र सनातन धर्मको रक्षाका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख गरेको थियो । सिद्धान्त र धरातलमा निकै फरक रहेको राप्रपाको धरातलीय यथार्थले प्रष्ट पारिसकेको थियो ।

रणनीतिमा सिमित एजेण्डा

गणतन्त्रमा गइसकेको देशमा राजसंस्था फर्काउने राप्रपाको मुद्या रणनीतिमै सिमित थियो । उसको हिन्दु अधिराज्य कायम गर्ने मुद्यामा समेत शंका थिए । राजनीतिक गर्न ठोस एजेण्डा चाहिने भएकाले यस विषयलाई कमल थापाले उठाएका थिए । दोस्रो संविधानसभाको चुनावमा यही एजेण्डाको बलमा कमल थापाको दल राप्रपा नेपालले समानुपातिकतर्फ २५ सिट हासिल गरेको थियो । तर, उसले हिन्दु अधिराज्यको मुद्यालाई मतदाता र कार्यकर्ताको अपेक्षा अनुसार जोडदार रुपमा उठाउन सकेन । कमल थापाले चुनावमा दुई दर्जन सिट ल्याउने र पटक पटक उपप्रधानमन्त्री बन्ने अस्त्रमा सिमित पारे ।

थापाले भारतमा सत्तारुढ भारतीय जनता पार्टीले हिन्दुवादी मुद्याबाट चुनावमा जित हासिल गरेको जस्तै यहाँ गर्न सकिने महत्वाकांक्षा राखेका थिए । जुन उनको दलबाट सम्भव थिएन । भाजपाको धरातल नै धर्म संस्कृतिको जगमा उभिएको थियो । उसका कार्यकर्ता देखि नेतासम्म अनुशाशित थिए । त्यसैले, भाजपा कहिले विभाजित भएन । राप्रपाले हिन्दुवादीको मुद्या उठाएको लामो समय भएको छैन । उसको मुद्याप्रतिको इमान्दारितामा स्वयं हिन्दुवादीले शंका गरेका छन् । भारतका धर्मगुरूहरूलाई भेटेर थापाले शंका मेट्ने प्रयास नगरेका होइनन् । उनको रविशंकरसँग व्यक्तिगत सम्बन्ध पनि देखियो । तैपनि थापाको मुद्याप्रतिको इमान्दारितामा विश्वास नगरेपछि सोचे जस्तो समर्थन दक्षिणका धर्मगुरूबाट भएन । बरू राणाप्रति धर्मगुरूहरूको विश्वास बढ्दै गयो । राप्रपाको एकतापछि राणा अध्यक्ष होउन् भन्ने चाहना कतिपय धर्मगुरूहरूको थियो । तर, बुढ्यौली लाग्दै गएका राणाले विगतको जस्तो पौरख देखाउन सकेनन् । थापाका सामु कमजोर देखिए । राणामा थापाको जस्तो चार्तुयता पनि देखिएन । कार्यान्वयन गर्नुनपर्ने भएपनि मुद्या उठाउनमा थापा खप्पिस देखिए ।

पूर्व राजाको खेल

राप्रपाभित्र पूर्व राजाको चलखेल दृश्य अदृश्य भेटिन्छ । विभाजनमा पनि उनको खेलबारे शंका आशंका छ । कुनैबेला कमल थापालाई प्रीय ठान्ने पूर्व राजा पछिल्लो समय उनीसँग चिढिएका छन् । राप्रपा विभाजनका लागि केही महिना अगावै पूर्व राजाले भूमिका खेलेका थिए । यही भूमिकाप्रति असन्तुष्टि जनाउँदै कमल थापा पूर्व राजा ज्ञानेन्द्रको जन्मदिनमा शुभकामना दिन पुगेनन् । यद्यपि उनले स्वास्थय अवस्थालाई कारण देखाए ।

थापाप्रति विश्वास हटेपछि पूर्व राजाको निकटता पशुपति शमशेर राणासँग बढेको छ । यही निकटताले विभाजनमा राणालाई फाइदा पुग्यो । पूर्व राजाले समेत विभाजनमा भित्री भूमिका खेलेको चर्चाहरू भइरहेका छन् । शक्तिको भरपूर अभ्यास गरिसकेका ज्ञानेन्द्र शाह राप्रपामार्फत् आफ्नो चाहना पूरा गराउने दाउमा छन् । कुनै हालतमा राजसंस्था फर्काउने रणनीतिका साथ विदेश दौडाहा गरिरहन्छन् । देशभित्र पनि उनले शक्तिको अभ्यास गरिरहेका छन् । पूर्व राजाको राजनीतिक स्वार्थका कारण पनि राप्रपामा नेताहरूबीच दूरी बढ्ने र घट्ने हुँदै आएको छ ।

दुई राप्रपाको भविष्य

सत्तामा जानका लागि राप्रपा जुट्ने र फुट्ने भइराख्छ । उसको इतिहास नै यस्तै छ । पञ्चायतकालमा समेत पूर्व पञ्चहरू सत्तामा जानका लागि समूह तोड्ने र जोड्ने गरिरहन्थे । लोकतन्त्र आएपछि यस्तो शृंखला चलिरह्यो । अहिले राप्रपा फुट्यो भनेर विपक्षीले खुशी हुने र राप्रपा पक्षधरहरूले दुःखी हुनुपर्ने कुनै कारण छैन । सत्तास्वार्थका लागि फुट्ने र जुट्ने चलिरहन्छ । राप्रपाको विगत पनि यही हो, वर्तमान यस्तै छ र भविष्य पनि यस्तै रहनेछ । उसको परिचय नै लामो समय देशको शासनसत्ता वरिपरि रहँदै आएकाको झुण्ड जस्तो छ ।

राप्रपाको मुद्याले नेपाली राजनीतिमा कुनै हलचल ल्याउने अवस्था पनि देखिदैन । उसले ८० प्रतिशतभन्दा बढी हिन्दु रहेको देशमा हिन्दु अधिराज्यको मुद्या उठाउँदा समेत यसलाई सफल बनाउनेतर्फ जोडबल गर्न सकेन भने अन्य एजेण्डा के प्रभावशाली होला । राप्रपाको एजेण्डाभन्दा डा. गोविन्द केसीको एजेण्डा प्रभावशाली बनेको देखियो । अहिलेको संरचना र शैलीमा राप्रपा मौकामा चौका हान्ने नेताको चढ्ने भ¥याङमै सिमित भइरहनेछ । राप्रपाका नेताहरू सत्ताका लागि जुवाको खालमा बसेका जुवाडे जस्ता देखिन्छन् । जसले जुवामा कहिलेकाहीं नसोचेको बाजी मार्छ त कहिले नराम्रोसँग धक्का व्यहोर्छ ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट