रुकुम, २३ साउन । मगर संस्कृतिको अध्ययनको केन्द्र, ढोरपाटन शिकार आरक्ष, यार्सागुम्बा पाइने क्षेत्र बुकिपाटनदेखि चौरजहारी उपत्यकासम्म सबै पर्यटकीय महत्वका छन् ।

धार्मिक, पर्यटकीय तथा अन्य प्राकृतिक महत्वका सम्पदाका कारण यहाँ पछिल्लो समय पर्यटकको आगमनमा वृद्धि भएको छ । बाउन्न पोखरी ५३ टाकुरीको उपनामले प्रख्यात रुकुममा अब अर्को पर्यटकीय नाम जोडिएको छ ‘युद्ध पर्यटन अर्थात् द गुरिल्ला ट्रेकिङ ।’

लामो समय सशस्त्र द्वन्द्वले थिलथिलो बनेको जिल्लामा पर्यटनलाई शान्तिसँग पनि जोडिएको छ । माओवादीले द्वन्द्वकालमा बनाएका आधार इलाका, द्वन्द्वका अवशेष र यहाँका पर्यटकीयस्थल आकर्षणका केन्द्र बनेका छन् । ढोरपाटन शिकार आरक्षसहितका पर्यटकीयस्थल र धार्मिकस्थललाई समेत समेटिएकाले आकर्षण बढेको जिल्ला समन्वय समितिका सूचना अधिकारी चिन्तामणि दाहाल बताउनुहुन्छ ।

टे«किङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल ९टान० र नेपाल पर्यटन बोर्डले जिल्ला समन्वय समितिको सहकार्यमा गुरिल्ला पदमार्ग निर्माण गरेको छ । बाटोको गाइड बुक अमेरिकी नागरिक एलोन्जो ल्योन्सले तयार पार्नुभएको हो । अहिलेसम्म सो पदमार्गको २५ वटा आन्तरिक तथा बाह्य पर्यटकको समूहले भ्रमण गरिसकेको सूचना अधिकारी दाहालले बताउनुभयो ।

एउटा समूहमा तीनदेखि १० जनासम्म पर्यटक आउने गरेका छन् । पर्यटकले उक्त पदमार्गमा युद्धका अवशेषदेखि धार्मिक, पर्यटकीय, पर्यावरणीयलगायत महत्वका स्थलको भ्रमण गर्न सक्छन् । यसको अर्कोे विशेषता हो ढोरपाटन शिकार आरक्षमा शिकार खेल्ने । यहाँ विभिन्न समयमा लाग्ने धार्मिक तथा पर्यटकीय मेला वर्षभरिजसो भइरहेका हुन्छन् ।

जिल्ला पर्यटन समन्वय समितिका अनुसार गुरिल्ला पदमार्गमा रहेका तीनवटा बाटा छन् । पहिलो बाटो १९ दिनको, दोस्रो १४ दिन र तेस्रोे बाटो २७ दिनको छ । तीनवटै बाटा पोखराबाट शुरु भई रोल्पाको सुलिचौरमा पुगेर सकिन्छन् । यी बाटोमा बेनी, ढोरपाटन, थवाङ, स्यार्पु दह, मुसिकोट, रुकुमकोट, सुकुलबाङ, जेलबाङ, खारा, माइकोट, कयाम, पेल्मा, लुकुम, बाँफीकोटलगायत स्थान छन् ।

“अधिकांश स्थान रुकुममा पर्ने भएकाले पर्यटकको आकर्षण बढ्दो छ”, स्थानीय विकास अधिकारी एवं पर्यटन समन्वय समितिका अध्यक्ष नरेन्द्रकुमार रानाले भन्नुभयो, “गाउँ गाउँमा स्थानीयवासीले आफ्नै पहलमा घरवास ‘होमस्टे’को व्यवस्था गरेकाले सहज भएको छ ।” गुरिल्ला पदमार्ग मगर संस्कृतिको अध्ययनका लागिसमेत उपयोगी छ । तत्कालीन माओवादी र सरकारी पक्षको आक्रमणबाट स्मरणीय बनेका अवशेषसमेत आकर्षणका केन्द्र हुन् ।

सो पदमार्गमा पर्ने एउटा खण्ड रुकुम र सल्यानको सिमानामा पर्ने सिमाना बजार खौला, खारा बस्ती–डल्सिंगेको मनोरम घना जंगल– चुनवाङ, थबाङ–महत–रुकुमकोट–मुसिकोट पर्यटकको रोजाइमा पर्ने गरेको छ । कतिपय पर्यटकले ढोरपाटन शिकार आरक्ष हँुदै तकसेरा, तकसेराबाट रुकुमकोट–स्यार्पुदह–मुसीकोट–खारा बाटो प्रयोग गर्ने गर्छन् । तत्कालीन नेकपा माओवादीले आफ्ना विभिन्न भूमिगत गतिविधि सञ्चालन गरेका विभिन्न स्थानलाई युद्ध पर्यटनमा समावेश गरिएको छ ।

सशस्त्र द्वन्द्वको सुरुवातमा पहिलोपटक तत्कालिन माओवादी पार्टीले एकैदिन आक्रमण गरेका प्रहरी चौकी रोल्पाको होलेरी र रुकुमको आठबीसकोट पनि सो पदमार्गमा पर्छन् । उक्त क्षेत्रमा रहेका पर्यटकीय महत्वका स्थानलाई थप मनमोहक बनाएको छ । ग्रामीण बस्तीको अवलोकन र स्थानीय स्वादका लागिसमेत सो क्षेत्र फरक मानिएको पर्यटकको भनाइ छ ।

गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्ण स्थल द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीले प्रयोग गर्ने मुख्य बाटो भएको बताइन्छ । सो बाटोमा साना–ठूला ताल, नदी तथा खोला, मन्दिर, झरनाको दृश्यावलोकन गर्न सकिन्छ । सो पदमार्गबाट धौलागिरि हिमशृंखला र सिस्ने हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जिल्लाकै सुन्दर पर्यटकीय सम्पदा स्यार्पुताल, कमल ताल, देउरादली गुफा, ढोरपाटन, तकसेरा, काँडा, काक्रीलगायतका मगर संस्कृतिका धनी मगर बस्ती, पुथा हिमाललाई नियाल्दै सानोभेरी नदीको तिर हुँदै उक्त यात्रा अगाडि बढ्छ ।

गुरिल्ला मार्गले धेरैजसो द्वन्द्वपीडित बस्ती छुने भएकाले द्वन्द्वपीडितको बेदना, क्षति भएका भौतिक संरचना एवं विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको अनुभूति हुनेछ भने यसले युद्ध गर्दा हुने असरका बारे शिक्षासमेत दिनेछ । समय हुने र मुख्य मुख्य ठाउँमात्र हेर्नेका लागि १४ दिन, विस्तृतरुपमा युद्धस्थल हेर्नेका लागि १९ दिन र प्राकृतिक सुन्दरता र सांस्कृतिक महत्वका स्थल हेर्ने गरी पर्याप्त समय हुनेका लागि २७ दिनको बाटो तयार गरिएको छ ।

काठमाडौँबाट आउने पर्यटकका लागि सबै बाटो पोखराबाट शुरु गरिएको छ । अन्य पर्यटकका लागि भने दाङबाट सल्यान वा रोल्पा हुँदै छोटो बाटो प्रयोग गर्न सकिन्छ । गाउँमा बासको राम्रो व्यवस्था छ भने स्थानीयवासीको आतिथ्यतासमेत लोभलाग्दो छ । विभिन्न स्थानीय उत्पादन र अर्गानिक उत्पादनलाई चिनोका रुपमा लिन सकिन्छ । खर्चको हिसाबले प्रतिव्यक्ति रु १० हजारदेखि रु १५ हजारसम्म लाग्ने समन्वय समितिका अध्यक्ष राना बताउनुहुन्छ । रासस

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट