रत्ननगर चितवन, ८ भदौ । दक्षिण चितवनको माडीमा साउन अन्तिम साता आएको बाढीले २१६ घरमा क्षति पु¥याएको पाइएको छ । क्षतिको विवरण संकलनपछि माडी नगरपालिकाले दिएको जानकारी अनुसार करिव आठ सय बिगाहा क्षेत्रको जमिन भने कटान र डुवानबाट प्रभावित भएको छ ।

डुवानले अधिकाँश धानबालीमा क्षति पु¥याएको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार क्षति भएका २१६ घरमध्ये १०५ घर पूर्ण र १११ घरको आँशिक क्षति भएको पाइएको छ ।

पूर्ण क्षति भएकाहरुमध्ये केहीलाई छिमेकको घरमा बस्ने व्यवस्था मिलाइएको र केहीलाई विभिन्न सामुदायिक भवन र रेडक्रम भवनमा बस्ने व्यवस्था गरिएको छ ।

माडीको बाँदरझुलास्थित सामुदायिक भवनमा बाढीपीडितलाई राखिएको छ । यस्तै, गोविन्दबस्ती र प्याउलीका पीडितहरुलाई गाउँलेको घरमै राख्ने व्यवस्था गरिएको छ । उनीहरुका लागि रेडक्रस भवनमा सामूहिक खानाको प्रबन्ध गरिएको नगर प्रमुख ढकालले जानकारी दिनुभयो ।

कतिपयका घर र जमिनहरु नामोनिशाना नै नरहने गरी बगाएर लगेको उहाँले बताउनुभयो । आंशिक क्षति भएकाहरुलाई भने बाहिर सामूहिक खानाको व्यवस्था गरी सुत्नलाई आफ्नै घर प्रयोग गर्न भनिएको थियो ।

साउन २८ गतेको अविरल बर्षापछि आएको बाढीले माडीको वनकठ्ठा, अमिलिया, सिमरा, धोवाह, रतनी, बाँदरझुला, प्याउली, गोविन्द बस्ती लगायत क्षेत्रलाई प्रभावित गरेको थियो । ठाडा खोला र रिउ नदीमा आएको बाढीले यसरी क्षति पु¥याएको हो ।

माडीका स्थानीयवासी गोविन्द न्यौपानेले अहिले राहत वितरणको काम चलिरहेको र चाँडै नै यहाँका बाढी प्रभावितलाई आवासको व्यवस्थापन जरुरी भएको बताउनुभयो । नगरपालिकाका अनुसार आएका अधिकाँश राहत सामग्री समन्वय गरी वितरण भैरहेको छ ।

दशको वन्यजन्तुको मृत्यु, अठार बगे

बाढीका कारण नेपालका विभिन्न संरक्षित क्षेत्रका १० वटा वन्यजन्तुको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ ।

बाढीका कारण १८ वटा कृष्णसार बेपत्ता भएका छन् । तीन वटा कृष्णसार र ४ वटा गैंडाको भने उद्धार गरिएको छ ।

विभागका महानिर्देशक मनबहादुर खड्काले साउन २८ गते आएको बाढीका कारण चित्तल र रतुवा मृग छ वटा, कृष्णसार दुई वटा तथा दुई वटा गैंडाको मृत्यु भएको जानकारी दिनुभयो ।

आज दिनुभएको जानकारी अनुसार बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षित क्षेत्रका १८ वटा कृष्णसार बगाएको, २ वटा मरेको र ३ वटाको उद्धार गरिएको छ ।

यता, चितवन निकुञ्जमा दुई वटा गैंडा, छ रतुवा मृग र चित्तल गरी ८ वटा मरेको सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

नेपालका संरक्षित क्षेत्रमध्ये चितवन राष्ट्रिय निकुञ्ज र कृष्णसार संरक्षित क्षेत्रमा बाढीले ठूलो नोक्सान गरेको छ । चितवन निकुञ्जमा मात्रै विभिन्न सुरक्षा पोष्टहरुमा गरेर रु २ करोड बराबरको भौतिक सम्पत्ति क्षति भएको महानिर्देशक खड्काको भनाइ छ ।

अर्ना सुरक्षित रहेको र बाह्रसिंगा भने झाडी बढेकाले राम्ररी नदेखिएको उहाँले बताउनुभयो ।

चितवन निकुञ्जबाट बगाएर भारत पु¥याएका ४ वटा गैंडाको उद्धार गरिसकिएको र एउटा गैंडा भारतमा देखिएकाले उद्धारका लागि प्रविधिज्ञसहितको ५० जनाको टोली खटिएको महानिर्देशक खड्काले जानकारी दिनुभयो । रासस

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट