फलेवास पर्वत, २३ भदौ । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र पर्नुभएको छ ।

२०५७ साल फागुनमा साउदी पुग्नुभएका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आउनुभएको थियो । उहाँले भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहनुभएको छ ।

स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो । पुनले टेलिफोनमा बताए अनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्नेक्रममा उनको मृत्यु भएको थियो ।

मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताउनुभयो । “कान्छो छोरा बल्ल १८ वर्ष पुग्दैछ,” पुनले भन्नुभयो, “उसको उमेर नपुग्दासम्म जेलमै बस्नुप¥यो । अब मेरो जीवन उसैको हातमा छ ।”

कूटनीतिक पहल गरिएको भए यसअघि नै छुटिसक्ने अवस्था रहेकोमा कसैले वास्ता नगरेको उहाँको गुनासो छ । “उतिबेलै मृत्युदण्ड हुन सक्थ्यो, अहिलेसम्म भाग्यले बाँचेको छु,” उहाँले भन्नुभयो ।

निम्नस्तरको परिवारले सरकारका उच्च अधिकारीसम्म गुहार माग्न नसक्दा न्याय पाउन नसकेको उहाँ बताउनुभहुन्छ । पुनका एक श्रीमती र तीन छोरा छन् । एक छोरा अपाङ्ग छन् । तीनै छोरालाई लिएर श्रीमती माया केही वर्षदेखि सदरमुकाममा ज्यालामजदुरी गर्दैै आउनुभएको छ ।

“उहाँलाई छुटाउन सके अरू केही चाहिएको थिएन,” मायाले भन्नुभयो, “दिनभरि दुःख ग¥यो, रातभरि उतैको चिन्ताले निद्रा पर्दैन ।”सरकारीस्तरबाट पहल भए श्रीमान् छुट्ने भन्दै अझै पनि भेट हुने आश नमेटिएको उहाँले बताउनुभयो । सन्तबहादुर जेल परेको बारे २०५८ साल कात्तिक २ गते गृह मन्त्रालयले स्थानीय प्रशासनलाई पारिवारिक विवरण पठाउन आदेश दिएको थियो ।

उतिबेलाको प्रशासनले पुनको पारिवारिक र व्यक्तिगत अवस्थाबारे मन्त्रालयलाई प्रतिउत्तर पनि पठाएको थियो ।

तर सशस्त्र द्वन्द्वका कारण पुनको उद्धारमा सरकारले चासो नदिएको उहाँका आफन्त बताउँछन् । “द्वन्द्व चर्केकाले उतिबेला सबै कुरा भन्नसक्ने अवस्था थिएन,” दाजु कुलबहादुरले भन्नुभयो, “अहिले मन्त्रालयले चासो दिए भाइ छुट्थ्यो ।”

भाइलाई छुटाउन कुलबहादुरले विगत ३ वर्षदेखि सरकारी अधिकारीदेखि विभिन्न मानव अधिकारवादी सङ्घसंस्थामा समेत धाइरहनुभएको बताइएको छ । रासस

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट