इटहरी, ९ असोज  । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले कोशी अञ्चल यातायात व्यवस्था कार्यालयमा भएको भ्रष्टाचारमा संलग्न हुनेलाई कारवाही गर्ने बताउनुभएको छ ।

यातायात व्यवस्था कार्यालयको स्थलगत अवलोकन र अध्ययनपछि आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो – “भ्रष्टाचारले देशको शिर निहुरिने काम भएको छ, अब यस्ता कार्य कसैले र कुनै पक्षबाट हुनुहुँदैन्, यसको अन्त्यका लागि सबै पक्ष सजग र सचेत हुनुपर्छ ।”

राज्यमन्त्री गुरुङले कार्यालयको दूरावस्था र कर्मचारी नै बसेर काम गर्न नसक्ने अवस्थाको भवनबाट सेवा दिनु ज्यादै कठिन देखिएकाले तत्कालै यसलाई उपयुक्त स्थानमा सार्न निर्देशन दिदैं कार्यालयको सबै तथ्याङ्क कम्प्युटर प्रविधिमा सुरक्षित गर्न, आवश्यक महत्वपूर्ण कागजातको प्रभावकारी व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई छिटोछरितो किसिमले सहज र पारदर्शी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यालय प्रमुख चन्द्रप्रसाद फुयाँलले कार्यालयको दूरावस्था, सवारीसाधनको चाप र लिलामलगायत सेवा प्रवाहमा देखिएका समस्या र चुनौतीका बारेमा राज्यमन्त्री गुरुङलाई ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी राज्यमन्त्री गुरुङले इटहरीस्थित चालक अनुमतिपत्र कार्यालयको पनि आजै स्थलगत अवलोकन गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो ।

सो अवसरमा उहाँले सवारीचालक अनुमतिपत्रका लागि पछिल्लो समयमा भइरहेको व्यवस्थालाई चुस्त गराउन मन्त्रालयले उच्च प्रविधिको प्रयोग कार्यान्वयनमा ल्याइसकेकाले अब सेवाग्राहीको कार्यमा जुट्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यालय प्रमुख श्यामकुमार सिँहले कार्यालयको विद्यमान बस्तुस्थितिबारेमा जानकारी गराउँदै दशैँलगत्तै असोज २२ देखि चालक अनुमतिपत्रका लागि सेवा सञ्चालन गर्ने तयारीका साथ कार्यालयको काम अघि बढिरहेको छ भन्नुभयो । (रासस)

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट