नवीनबाबु अधिकारी : सिन्धुली, १० असोज (रासस) : दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ । जिल्लाका हरेक गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको हो । “वर्षमा एक दिन धर्ती छाड्नुपर्छ” भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन विगतमा थियो । हिजोआज भने आधुनिक जीवनशैलीसँगै नेपाली यस्ता संस्कृति विस्तारै हराउँदै गएका छन् ।

संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो नदेखाएको स्थानीयवासी बताउँछन् । पिङ किशोर, युवादेखि वयस्कसम्म सबै लिङ्गका मानिसको रुचिको विषय हो । एउटा पिङले भएन भनेर छ सात वर्षअघिसम्म टोलटोलमा पिङ हाल्ने चलन थियो तर अहिले एउटा पिङ पनि बल्लबल्ल मिलेर बाटेको कमलामाई नगरपालिका–३ जलकन्याका युवा रमेश बुढाथोकीले बताउनुभयो । “आफ्नो गाउँमा पिङ हाल्ने र खेल्ने शैली अब गीतमा मात्र सुन्न पाउने भयो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार विगतमा तीज तथा दशँैतिहारमा हाल्ने गरेका पिङ अब वर्षेनी लोप हुँदै गइरहेका छन् । “युवा भेला भई हरियो खर काटेर बलियो पिङ बनाउने प्रतिस्पर्धा गर्ने चलन रहेकामा अहिले युवा गाउँमा छैनन्, अग्रजले पनि यसमा चासो नदेखाएको जस्तो लाग्छ” उहाँले भन्नुभयो ।

पछिल्लो समयमा खरले बाटेका पिङ पनि लोप हुँदै गइरहेका छन् पछिल्लो पुस्ता त काठेपिङसमेत देख्न पाएनन् । साविकका गाविसका प्रत्येकजसो वडामा पिङ बाट्ने चलन थियो, तिजमा मात्र हैन दशँै र तिहारको अवसरमा पिङ राख्ने प्रचलन पनि अहिले आएर लोप भएको छ ।

विगतको समयमा समुदायका सबै जना जुटेर पिङ लगाएर मच्चाउँदै रमाइलो गरिने भए पनि आजभोलि लिंगे पिङ तथा रोटे पिङ लोप हुने अवस्थामा पुगेको स्थानीयवासी मेखबहादुर अधिकारीले बताउनुभयो । “पिङ खेल्ने रहर धेरै छ, आफू मात्र भएर भएन, रहर भएर मात्र के गर्नू, पिङ हाल्ने जनशक्तिसमेत गाउँमा पाउन छाडिसके” उहाँले गुनासो गर्नुभयो ।

तीन पाटन गाउँपालिका–१ बेलघारीका नवराज दाहाल सानामा चच हुई चच हुई गरी मच्चाएको सम्झना गर्नुहुन्छ । कमलामाई नगरपालिका–४ साङ्बालेका ६७ वर्षीय खम्बबहादुर ढकालले भन्नुभयो, “आफूलाई पिङ खेल्ने रहर धेरै छ आफू बूढो भइयो सकिँदैन रहर भएर मात्र के गर्नू ? ” उहाँसँग सानो छँदा काठले बनाएको चर्खे (रोटे) पिङ खेलेको अनुभव छ ।

उहाँले साथीभाइसँगै लाम लागेर चर्खे पिङ खेलेको अनुभव बताउँदै पछिल्लो २० वर्षयता भने त्यस्तो पिङ खेल्ने त परैको कुरा देख्नसमेत नपाएको बताउनुभयो । पछिल्ला पुस्ताका युवाले परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना गर्नुभन्दा पनि आधुनिक मनोरञ्जनका विकल्प रोज्नाले पिङजस्तो मौलिक मनोरञ्जनको साधन ओझेलमा परेको हो ।

दशैँ र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने युवालाई चर्खे पिङ बनाउने फुर्सद र सीप पनि छैन । पिङ लोपोन्मुख भएकामा बूढापाका भने चिन्ता व्यक्त गर्छन् । नेपाली मौलिक परम्परा तथा संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा आफैँले संस्कृतिको लोप भएको देख्नुप¥यो भनी बूढापाका भन्छन् । बेरोजगारीका कारण युवा गाउँमा नबस्दा पिङ बनाउने संस्कृतिसँगै बडादशैँक बेला गाउँका बाटा, पाटी पौवा, सार्वजनिकस्थल सरसफाइ गर्ने परम्परासमेत हराउँदै गएको छ ।

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट