-कमलमणि पोख्रेल
राणा शासनको अन्त्यपश्चात उदाएको खुला राजनीति कहिल्यै पनि सहज परिस्थितमा पुग्न सकेको छैन । हरेक कालखण्डमा राजनीतिक परिवर्तन हुँदै आए पनि त्यसको मर्मलाई आत्मसात गर्न नसक्दा परिवर्तनको व्यवहारिक अनुभूति नेपाली राजनीतिक दलले जनतालाई दिन सकेका छैनन् । जसका कारण सधैँ भन्ने गरिएको आर्थिक समृद्धिको एजेण्डा ओझेलमा पर्दै आएको छ । पछिल्लो राजनीतिक परिवर्तन अर्थात बाम एकताको सुरुवातले सफलता प्राप्त गर्न सक्यो भने मुलुक सकारात्मक दिशातर्फ जानेमा दुई मत छैन ।

बाम एकताको सुरुवात वास्तवमा नै देशका लागि स्वागतयोग्य छ । तर यो एकताको यात्रा हतारमा केके न गर्छु भने झैँ गरि सुरु गरिएको छ । दलभित्रै गुट उपगुटले ग्रस्त नेपाली राजनीतिक दलहरु एक आपसमा एकीकृत हुँदा तल्लो स्तरदेखि कम्तिमा मानसिक तयारीको मौका दिनुपथ्र्यो । एमाले र माओवादी केन्द्र दुवैले नेता कार्यकर्ताकालाई सरप्राइज त दिएका छन्, तर भोलीका दिनमा नेता कार्यकर्तालाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौतिका विषयमा दुवै दलको नेतृत्व चुकेको छ । चुनावको मुखमा आएर एकता गर्दा प्रदेशसभा र केन्द्रिय ससंदको चुनावमा टिकट वितरणलाई कसरी विवादरहित र व्यवस्थित बनाउने भन्ने कुरा निकै चुनौतिपूर्ण छ । एकतापछिको पहिलो चुनावमा नै अस्तव्यस्ताले घेरियो भने भविष्यमा पनि त्यसको नकारात्मक प्रभाव पर्ने निश्चित छ । यससम्बन्धमा एमाले, माओवादी र नयाँ शक्ति, तीनवटै दलले कुनै हेक्का राखेको पाइएन । यही हेलचेक्रयाईँ नै घातक नबन्ला भन्न सकिदैन । त्यस्तै शीर्ष तहका नेताहरुलाई कसरी मर्यादा दिने र व्यवस्थापन गर्ने भन्ने विषयले निकट भविष्यमा नै खैलाबैला नहोला भन्न सकिदैन ।

अर्कोतिर हिजोको दिनमा दलीय र पदीय हैसियत ख्याल नगरी गाली गलौजमा उत्रिने नेताहरुबिचको एकता आफैँमा चुनौतिपूर्ण छ । एकले अर्कालाई स्विकार गर्न नसक्ने नेपाली राजनीतिक संस्कृतिलाई बढावा दिएका तिनै नेताहरु भोली व्यवहारिक रुपमा कसरी मिल्लान भन्ने प्रश्न सबैको मनमा उठेको छ ।

तीन दलको एकता भनिए पनि कतिपयले माओवादी केन्द्र र नयाँ शक्ति पार्टी एमालेमा विलय भएको भनेर तर्क गरेका छन् । तर यो तर्क गरिहाल्नु अहिले हतार हुन सक्छ । आगामी दिनमा पार्टीको नाम, चुनाव चिन्ह, झण्डा, विधान, एजेण्डा र नेतृत्व कस्तो हुन्छ भन्ने कुराले पार्टी एकता वा विलय भन्ने कुराको पुष्टी गर्नेछ ।
नेकपा एमाले तीन दलमध्ये सबैभन्दा ठूलो दल भएकाले ठूलै हिस्सा खोज्नु सामान्य कुरा हो । तर स्थानीय स्तरदेखिको शक्ति सन्तुलन मिलाउन कठीन निश्चित छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको हेपाहा प्रवृत्तिलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कसरी सामना गर्छन् भन्ने कुराले एकीकृत पार्टीको भावनात्मक मेलमिलाप प्रभावित अवश्य हुनेछ । अहिलेसम्मका राजनीतिक परिवर्तनको जस कसले लिने भन्नेसम्मका विवाद भोलीका दिनमा नआउला भन्न सकिदैन ।
बाम एकतामा अन्तिम समयमा सामेल भएका बाबुराम भट्टराईलाई त यो एकता एउटा परीक्षण मात्रै हो । किनकी उनले ठूलै परिवर्तन गर्छु भनेर माओवादी परित्याग गरेपछि कुनै पनि उपलब्धि हासिल गर्न सकेका छैनन् । पछिल्लो समय नयाँ शक्तिका प्रभावशाली नेताहरुलेसमेत पार्टी छाडेपछि बाबुराम भट्टराई निकै कमजोर बनिसकेका थिए ।

नेपालमा पार्टी फुट्नु र जुट्नु कुनै नौलो विषय होइन । तर यस पटकको पार्टी जुटाई ऐतिहासिक छ । नयाँ शक्ति पार्टीलाई छाड्ने हो भने एमाले र माओवादी जगैदेखि बलियो र अस्तित्व भएका दल हुन् । बाम एकताको नाममा ठूला दल एक हुनु चानचुने कुरा होइन । त्यसैले पनि दुई दलको एकता देशका लागि महत्वपूण र उदाहरणीय छ । यसले अरु सिद्धान्त निकट भएका दललाई पनि एक हुन दबाब सृजना भएको छ ।

बाम एकताले सार्थकता हासिल गर्न सक्यो भने अहिले भन्ने गरिएको शीर्ष तीन दल खब दुई दलमा झर्नेछ । अर्थात बाम शक्ति र नेपाली कांग्रेस प्रमुख राजनीतिक शक्ति बन्नेछन् । यद्यपी चुनाव नजिकिदै गएकाले चुनावपछिको नतिजाले सबै दलको हैसियत छर्लङ्ग पार्नेछ । शीर्ष तहमा एकता भए पनि तल्लो तहमा नेता कार्यकर्ता मिलाउन नसकेको खण्डमा बाम शक्तिको हैसियत पनि पानीमाथिको ओभानो नबन्ला भन्न सकिदैन ।

बाम एकताले सबैन्दा बढि दबाब नेपाली कांग्रेसमा परेको छ । संसदमा सबैभन्दा ठूलो र स्थानीय निकायको चुनावी नतिजाले दोस्रो ठूलो दल कांग्रेसले अबको चुनावमा निकै मिहिनेत र संघर्ष गर्नुपर्ने निश्चित छ । पहिलो ठूलो दल बन्ने हैसियतको कांग्रेसलाई बाम एकताले दोस्रो ठूलो बन्ने लक्ष्यसहित चुनाव जानुपर्ने अवस्था कांग्रेसका लागि सुखद हुनेछैन । इतिहास बोकेको कांग्रेसको जनमत विगतकोभन्दा केही धरमराएको भन्ने कुरा त स्थानीय निकायको चुनावले पुष्टी गरेको छ । कांग्रेसभित्र अहिले आफ्नै नेता कार्यकर्ता व्यवस्थापन गर्न नसक्दा चुनावमा कमजोर नतिजा आएको चर्चा र विश्लेषण भइरहेको छ । कतिपयले भन्ने गरेका छन्, कांग्रेसलाई अरु कुनै दलले हराउन सक्दैन, आफ्नै नेता कार्यकर्ताले मात्र हराउन सक्छन् । पार्टीभित्रको गुटगत राजनीति र अन्तरघात नै कांग्रेस कमजोर हुनुको प्रमुख कारण मानिएको छ । तर अहिलेको नेपाली कांग्रेसको नेतृत्व कति सबल छ भन्ने कुरा कांग्रेसीजनले मनन गर्नु जरुरी छ ।

शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति र सरकारका प्रधानमन्त्री भएकै बेला चुनौति थपिएको छ । सरकारलाई जनभावना अनुसार संचालन गर्ने र कांग्रेसलाई मजबुत पार्टीको रुपमा रुपान्तरण गर्दै लैजान बोझ देउवाले थाम्नुपर्ने देखिएको छ । तर देउवाले कांग्रेसभित्रको असन्तुष्टी र अव्यवस्थालाई गम्भीरतापूर्वक लिएको पाइदैन । यस विषयमा पार्टीभित्रैबाट आलोचना भइरहेको छ । अबको चुनाव अगाडि नै देउवाले लिने रणनीतिले कांग्रेसको संगठन कस्तो बन्छ भन्ने कुरा निर्भर रहन्छ ।

अनुमान, तर्क र विश्लेषण जति नै गरे पनि दिनप्रतिदिन राजनीतिक दल बढ्दै गएकोप्रति चिन्तित नेपाली नागरिकलाई बाम एकताको सुरुवातले पक्कै पनि खुशी बनाएको छ । किनकी एकताले नै भोलीका दिनमा चुनावमा स्पष्ट बहुमत हासिल गर्न सक्ने सम्भावना प्रबल बन्छ । कुनै पनि दलले बहुमत ल्याउन नसक्दा दशकौँदेखिको संयुक्त र अस्थिर सरकारको विकल्प नेपाल खोजेकै हो । यसलाई बाम एकताले समाधान गर्छ भन्ने अपेक्षा सबैले गरेका छन् । स्थिर सरकार र देशको विकास नै हाम्रो आवश्यकता हो ।

तर हतारमा, एकता अभियानको सहमति सार्वजनिक कार्यक्रममा एउटा व्यानरसमेत बनाउन नभ्याउने गरी तातै खाउँ जल्दै मरौँ भने झै चालिएको कदम कहाँसम्म पुग्ने हो, त्यो आगामी दिनले देखाउने छ ।

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट