डा.दीपेश केसी : माक्र्सले धर्मलाई अफिम भने । अफिमको नशामा पर्ने व्यक्ति लठ्ठिन्छ र उम्कन सक्दैन त्यसरी नै धर्ममा विश्वास गर्ने मान्छे नशामा परेर लिइरहेको नशा त्याग्न नसक्ने हुन्छ भन्ने आशय हो यो । तर, कम्युनिष्ट पार्टीका अधिकांश कार्यकर्ताको मानसिकता र व्यवहार हेर्ने हो भने उनीहरू कम्युनिज्म विचारको नशामा चुर्लुम्म डुबेका हुन्छन् । यसलाई एक प्रकारको कडा नशा भन्दा फरक पर्दैन । कम्युनिज्म विचारधाराको स्कुलिङ्गमा परेकाहरू भिन्न विचारधारालाई स्वीकार्न त के जायज छ भने मनन गर्न समेत तयार हुँदैनन् । उनीहरूका लागि जीवन र जगतको यथार्थ भन्दा परिकल्पनाको स्वर्गीय समाज प्रीय हुन्छ । त्यही परिकल्पनाको अन्धविश्वासमा मार्न र मर्न समेत तयार हुन्छन् । माओवादीको एक दशक लामो सशस्त्र ‘जनयुद्ध’ ले यसलाई प्रमाणित गरिसकेको छ ।
सर्वहारावर्गको अधिनायकत्व स्थापित गर्ने माओवादी एजेण्डाले अफिमको जस्तै नशामा हजारौं युवाहरूलाई चुर्लुम्म डुबाउन सकेको थियो । ज्यानको बाजी लगाएर राज्यसँग लडेका थिए । हजारौंको ज्यान गयो र हजारौं अङ्गभङ्ग भए । मर्न र मार्न तयार हुनका लागि कम्युनिष्ट पार्टीको स्कुलिङ्गले उनीहरूको माइन्ड वास गरेको थियो । कल्पनाको दुनियाँ निर्माणमा बलिदानी दिएकाहरू सहिद भए तर बाँच्नेहरूले भोगिरहेछन् । बुर्जुवा शिक्षा भनी नियमित विद्यालयबाट जानबाट वञ्चित गरिए । उमेर गयो समय गयो । उत्पादनशील काममा सदुपयोग हुनुपर्ने समय हिंसात्मक गतिविधिमा दुरुपयोग भयो । कम्युनिष्ट ‘जनयुद्ध’ मा जवानी खेर फालेपनि कतिपय युवाहरूको कम्युनिष्ट पार्टीप्रतिको आशक्ति मेटिएको छैन । यसको मुख्य कारण माइन्ड वास हो ।
को सच्चा ‘कम्युनिष्ट’

लाजिम्पाटको आलिशान महलमा बस्ने पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट कि विदेशी भूमीमा भूमिगत बसेर जनताका छोराछोरी लडाउने प्रचण्ड कम्युनिष्ट ? हिंसात्मक झापा विद्रोहमा सहभागी खड्गप्रसाद शर्मा ओली कम्युनिष्ट कि बालकोटको आलिशान महलमा रहेर देशको शक्तिशाली मध्येको दल नेकपा एमालेको नेतृत्वकर्ता ओली कम्युनिष्ट ? यो यक्ष प्रश्नको उत्तरको खोजी आफूलाई कम्युनिष्ट कार्यकर्ता दाबी गर्ने प्रत्येक नेपालीले गर्नुपर्छ । एक शब्दमा बुझ्नुपर्दा कम्युनिष्टहरूले समानतालाई मुख्य एजेण्डा बनाउँदै आएका छन् । के उनीहरूले एजेण्डालाई व्यवहार उतार्न इमान्दारपूर्वक काम गरेका छन् ? प्रश्नको सोझो उत्तर आउँछ कदापि छैनन् र गर्ने पनि छैनन् ।

प्रचण्डले आफूलाई सर्वहारा दाबी गर्न छाडेका छैनन् । प्रधानमन्त्री हुँदा उनको सम्पत्ति विवरण र विलासी जीवनशैलीबीच मेल खाँदैन । देशका कतिपय विवादास्पद व्यापारीको सम्पत्तिसँग उनको नाम जोडिएको छ । केपी ओली झापामा विश्वेश्वरा दाहालको घरमा बस्दाको अवस्थामा छैनन् । उनी राजधानीमा विलासी जीवन बिताउनेमा पर्छन् । ओलीमा सादगीपन कहीं कतै झल्कदैन । विदेशको महङ्गो अस्पतालमा उपचारका लागि ओलीको भ्रमण भइराख्छ । देशका गनेचुनेका पूँजीपतिको सम्पत्तिसँग ओलीको नाम जोडिएको छ ।

कम्युनिष्ट हुँदैमा सम्पत्ति हुनुहुँदैन र विलासी जीवन बिताउन हुँदैन भन्न खोजिएको होइन । तर, कार्यकर्तालाई कुल्ली जस्तै बन्न लगाएर आफू मालिक बन्ने शैली कम्युनिज्म ल्याउँछु भन्दै हिंड्नेलाई सुहाउँदैन । मण्डी ओढेर घीऊ खाने स्वभाव कम्युनिष्टका मै हुँ भन्ने नेतामा देखिन्छ । आफ्ना सन्तानलाई विदेशमा अध्ययनका लागि पठाएर आफू स्वदेशको विद्यालय बन्द गराउने र बुर्जुवा शिक्षाका नाममा विद्यालय जानबाट केटाकेटीलाई वञ्चित गरिएको इतिहास मेटिएको छैन । कथनी र करनीमा ठिक उल्टो क्रियाकलाप कम्युनिष्ट दाबी गर्ने नेताहरूबाट हुँदै आएको छ ।

आफू अनुकूलको व्याख्या
कम्युनिज्म शब्द ल्याटिन भाषाको ‘कम्युनिस’ शब्दबाट लिइएको हो । जसको अर्थ हुन्छ सामूहिकता । कम्युनिज्म त्यस्तो विचार हो जसले कम्युनिष्ट समाज निर्माणको उद्देश्य राख्छ । त्यस्तो समाजमा उत्पादनको साधानमा सामूहिक प्रभुत्व रहन्छ । कम्युनिष्ट विचारधाराले वर्ग र राज्यविहिन समाजको कल्पना गरेको हुन्छ ।

सँसारमा कम्युनिष्ट विचारधाराका कतिपय दलहरूले नवकम्युनिज्यम, नवमाक्र्सवादीलगायतका विचारधारा भन्दै संसदीय र पूँजीवादी प्रणालीको अभ्यास गरिरहेका छन् । जुन अभ्यास निरन्तर गरिरहेका छन् । यस्ता अभ्यासमा कसैले प्रश्न गरेमा कम्युनिज्मको गन्तव्यमा पुग्ने उपयोगीतावाद भनिदिन्छन् । नेपालका कम्युनिष्टहरू आफू अनुकूलको व्याख्या गरेर कार्यकर्तालाई थामथुम पारिरहेका छन् ।

इमान्दार कम्युनिष्ट कार्यकर्ता स्वर्गीय सँसारको परिकल्पनामा डुबेर नेताको अन्धभक्त हुन्छन् । अन्तमा त्यही नेताको असली चरित्र बुझेर पनि भाँसमा परिसकेकाले उत्रन सक्दैननन् । कतिपय स्वर्गीय सपनाको आशै आशमा जीवनभर कम्युनिष्ट पार्टीको अन्धसमर्थक बनिरहन्छन् ।

कम्युनिष्ट भविष्य

नेपालमा कम्युनिष्ट दाबी गर्ने मुख्य दलहरू नेकपा एमाले र माओवादी केन्द्र दुवैको व्यवहार कम्युनिष्ट जस्तो छैनन । तिनका नेताहरू मुखय शहरमा रहेका आलिशान महलका प्रत्यक्ष अप्रत्यक्ष मालिक भइसके । हरेक गाउँ टोलमा कोही धनाढ्य वा बढी जमिन भएको छ भने अधिकांश कम्युनिष्ट पार्टीमा आवद्धहरू नै छन् । नामले समानताको वकालत् गर्ने र कामले उत्पादनको साधानमाथि एकल प्रभुत्व जमाएर गाउँ, टोल र क्षेत्रमा नै प्रभुत्व स्थापित गर्ने शैली अपनाइरहेका छन् । गैर कम्युनिष्ट भनेको जमिन्दा, सामन्ती र बुर्जुवा हो भन्ने कतिपय कम्युनिष्ट नेता तथा कार्यकर्ता आफै भू माफिया, सामन्ती सोचको बुर्जुवामा परिणत भइसके ।

कम्युनिष्ट दाबी गर्नेहरू कम्युनिष्ट छैनन् । त्यसैले कम्युनिष्ट पार्टी एमालेभित्र पार्टीको नाम फेर्ने प्रस्ताव आएको थियो । प्रदीप नेपालले कम्युनिष्ट शब्द हटाउनुपर्नेमा जोड दिदै आएका छन् । कुनैबेलाका माओवादी नेता डा.बाबुराम भट्टराईले कम्युनिष्ट पार्टी मात्र नभएर विचारधारा छाडिसके । त्यसैले नेपालका कम्युनिष्ट पार्टीहरूले कम्युनिष्ट शब्द राख्नुको कुनै अर्थ छैन । प्रचण्डको पार्टीमा कम्युनिष्ट विचारधारा सम्बन्धि बहस हुन छाडिसक्यो । माओवादी सत्तामा पुगेपछि कुन नेताको कति सम्पत्ति बढ्यो भनी छानविन पार्टीभित्रबाट समेत भएको हो ।

पूँजीवादलाई अँगाल्ने र पूँजीपति बन्ने दौडमा लागेका तथाकथित नेपालका कम्युनिष्टहरूले वामपन्थी एकता भन्न सुहाउँदैन । यो एकता नवपूँजीपतिहरूको चुनावी फाइदाका लागि भएको अल्पकालिन साँठगाँठ मात्र हो । पूँजीपतिहरू बाहिर जति लडेपनि साझा स्वार्थका लागि एक ठाउँमा आउँछन् । कम्युनिष्ट त सधै कम्युन अर्थात् साझा भावनाका साथ एकतावद्ध भइरहेका हुन्छन् । ओली र प्रचण्ड नेतृत्वको नवपूँजीपति र नवधनाढ्यहरूको ठूलो तप्का स्वार्थ मिलेर मात्र एक ठाउँमा आएको हो । स्वार्थ नमिलेपछि आ—आफ्नो ठाउँमा फर्कनेछन् । यस्तो एकताबाट कसैले आत्तिनु र मात्तिनुपर्दैन ।

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट