संयुक्त राष्ट्र संघ, २१ असोज : सन् २०१७ को नोबेल शान्ति पुरस्कार बिजेता अभियन्ता–समूह इन्टरनेशनल क्याम्पेन टु एबोलिस न्युक्लियर विपन्स (आइक्यान) लाई संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले हार्दिक बधाई ज्ञापन गर्नु भएको छ ।

यसै क्रममा, उहाँले आणविक हतियारमुक्त विश्वको नव निर्माण गर्न सबै आणविक शक्ति सम्पन्न राष्ट्रहरुले गहिरो प्रतिवद्धता जनाउन आह्वान गर्नुभयो ।

आणविक हतियार निरस्त्रिकरण र सम्झौतामा आधारित निषेधिकरणको दिशामा उपलब्धि हासील गर्न आइक्यानले अहिलेसम्म गरेको प्रयासलाई कदर गर्दै यस बर्षको नोबेल शान्ति पुरस्कार उक्त अभियन्ता समूहलाई दिइने गत शुक्रबार घोषणा गरिएको थियो ।

सन् १९४६ मा सम्पन्न राष्ट्र संघको पहिलो महासभामा पारित प्रस्ताव – आणविक हतियार निरस्त्रिकरण नै संयुक्त राष्ट्र संघको प्रमुख उद्देश्य हो । सोही उद्देश्य अनुरुप आणविक हतियार वा जुनसुकै प्रकारका आम विनाशकारी हतियारबाट विश्वलाई मुक्त राख्ने राष्ट्र संघको लक्ष भएको राष्ट्र संघद्वारा आज प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

आणविक हतियार मानवीय विनासको कारक बन्दै आएको र यसखालका हतियार प्रयोग तथा निर्माणमा रोक लगाउन गरेको प्रयास नै पुरस्कारका लागि आधार बनेको नोबेल समितिकी अध्यक्ष बेरिट राइस एण्डरसनले बताउनु भएको थियो ।

गत जुलाईमा विश्वका १२२ राष्ट्रले सबै परमाणु अस्त्र प्रतिबन्ध गर्दै निर्मूल पार्नका लागि बनाइएको संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेका थिए । यद्यपि बेलायत र अमेरिकासहितका विश्वका नौ वटा परमाणु शक्ति सम्पन्न राष्ट्रमध्ये कसैले पनि त्यसमा हस्ताक्षर गरेनन् ।

सयौँ गैरसरकारी संस्थाहरू सम्मिलित आइक्यान १० वर्ष पुरानो संस्था हो र यसको मुख्यालय स्वीट्जरल्याण्डको जेनेभामा रहेको छ ।

एघार लाख डलरसहितको पुरस्कार आगामी डिसेम्बरमा हुने एक कार्यक्रमबीच प्रदान गरिनेछ । (रासस/सिन्ह्वा)

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट