गैर आवसीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोले नेपालीहरु जुन देशमा रहेर काम गरे पनि नेपाली नै भएको र नेपालकै विकास चाहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै महतोले विदेशमा काम गर्ने नेपालीहरुले संस्थाभित्र राजनीति नगर्ने दाबी प्रस्तुत गर्दै गैर आवसीय संघ एनआरएनए पवित्र संस्था भएको बताए । गैरआवासीय नेपाली संघको भोलिबाट आठौं विश्व सम्मेलन सुरु हुँदैछ । यो सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्ने बुझिएको छ । संघले अहिलेसम्म गरेका उल्लेखनीय कामहरु र संघभित्र देखिएका पछिल्लो गुट तथा उपगुटका बारेमा पत्रकार धमलाले संघका संस्थापक अध्यक्ष डा. महतोसँग गरेको कुराकानीको सम्पादित अंश :

एनआरएनएको ८ औं विश्व सम्मेलनको महत्व र सन्देश के छ ?

सँधै सबै सम्मेलनहरुको एउटै सन्देश छ–नेपालीहरु जहाँ बसेपनि सँधै नेपाली नै हुन् । उनीहरुले सँधै नेपाललाई नै माया गर्छन् । नेपाललाई समृद्ध बनाउने अभियानमा अघि बढ्नुपर्छ भन्ने नै हो ।

तर यहाँसम्म आईपुग्दा यस पटक यो संस्थामा राजनीतिले प्रवेश गर्यो नि ?

संस्थाभित्र राजनीति छैन् ।

एनआरएनएभित्र वामपन्थी गठबन्धन कि लोकतान्त्रिक गठबन्धन भनेर बहस सुरु भैसक्यो ?

मलाई त्यस्तो लाग्दैन् । जनताले त्यस्तो भन्नुभएको छैन् । केही व्यक्तिले भन्नुभएको होला । जनतामा अझैपनि विश्वास छ, हाम्रो संस्था भनेको नै पवित्र सामाजिक संस्था हो । यसमा कुनै पनि किसिमको राजनीतिकरण हुनुहुँदैन । र, छैन पनि । अझ राजनीतिक दलका नेताहरुले पनि बुझ्नुपर्ने कुरा के हो भने यो संस्थालाई जति पवित्र बनाएर राख्न सकियो, त्यति नै देशलाई हित हुन्छ । मुलुकको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्छ ।

तपाईले पवित्र भनेर संस्थाको बारेमा त्यो शब्द उच्चारण गर्दैगर्दा के साँच्चिकै अहिलेसम्म नेतृत्वमा पवित्र व्यक्तित्व आईपुगेको छ त ?

हाम्रो संस्थामा आवद्ध सबै साठी लाख नेपालीहरु नै अध्यक्ष पदको लागि योग्य छन् । जहाँसम्म गुट तथा उपगुटको कुरा छ, यी सबै कुराहरु चुनावको बेलामा अलि अलि लाग्छन सक्छन् तर संघभित्र कहिल्यैपनि गुट तथा उपगुट हुन सक्दैन् ।

तपाईले त संघको नेतृत्व सर्वसम्मतीले चयन गर्छु भनेर भन्नुभएको छ, तर उम्मेद्धवारहरु मैदानमा उत्रिसकेका छन् नि ?

मैले सँधै के भन्दै गरेको छु भने कमसेकम अध्यक्षजस्तो नेतृत्वदायी गरिमामय पदमा चुनाव हुनुहुँदैन् । किनभने पद एउटा हो, मानिसहरु धेरै छन् । काम गर्नको लागि पदमात्रै भएर हुँदैन् । हामी सबैले काम गर्ने हो । सामूहिक रुपमा अघि बढ्ने हो । त्यसैले मेरो अन्तिमसम्म पनि प्रयास चाहीँ संघको नेतृत्व सर्वसम्मतीबाट नै हुनुपर्छ भन्ने हो ।

तर उम्मेद्धवारहरु मैदानमा आईसकेका छन्, अब संभावना होला र ?

अझै समय बाँकी छ । निर्वाचन हुनु पनि धेरै ठूलो कुरा होईन् । निर्वाचनपछि मनमुटाव हुनु चाहीँ नराम्रो हो । म तपाईलाई विश्वास दिलाउन चाहन्छु कि यदि निर्वाचन भैहालेको खण्डमा पनि कहिल्यैपनि गुट तथा उपगुट हुँदैन् ।

तर अहिले त विश्वभरिका एनआरएनभित्र गुट छ अरे ?

मैले अघि पनि भनिसके एनआरएनमा राजनीति छैन् । गुट उपगुट छैन् । यो बहस त यो देशमा मात्रै भएको छ । नेपालीहरुको बीचमा मात्रै भएको छ । यो रोग संघभित्र भएको छैन् ।

उसो भए तपाईहरुको गुटमा कति कति साथीहरु हुनुहुन्छ ?

मेरो गुटमा ६० लाख साथीहरु हुनुहुन्छ । अरुको गुटमा कति छन् मलाई थाहा छैन् ।

तपाईको गुटमा यत्रो साथीहरु हुनुहुन्छ, अनि नेतृत्व किन सर्वसम्मतीले चयन गर्न सक्नुभएन नि ?

त्यो नभएको भए आज गैरआवासीय नेपाली संघको कुरै गर्नुहुँदैनथियो । मेरो संस्था कमजोर भएको भए तपाई कुरै गर्नुहुँदैन थियो होला ।

संघभित्र अब व्यक्तिगत स्वार्थ हाबी भएको छैन ?

त्यो हुँदै होइैन् । हुन पनि सक्दैन् । म विदेशमा बसेपनि मुलुकको विकासमा मेरो योगदान रहनुपर्छ भन्ने विश्वासका साथ साथीहरु हिँड्नुभएको छ । १५ वर्ष होईन, ५० वर्षदेखि विदेशमा बसेका नेपालीहरुले देशमा केही गर्नुपर्छ भनेर अहिले स्वदेशमा आउनुभएको छ ।

खोई त विकास र समृद्धि यो १५ वर्षमा ?

धेरै विकास भएका छन् । जनताले बुझेको पनि छन् । गैरआवासीय नेपालीहरुले धेरै लगानी गरिसकेका छन् । अझै धेरै गर्न ईच्छुक हुनुहुन्छ । र गर्न सक्ने क्षमता पनि राख्दछन् ।

उसो भए एनआरएनए आजको दिनमा सामाजिक संस्था नै हो, व्यापारिक रुपमा परिणत त भएको छैन ?

गैरआवासीय नेपाली संघ एउटा पवित्र सामाजिक संस्था हो । हो, यो धनीहरुको संस्था हो । हाम्रो संस्थाले सबै नेपालीहरुलाई धनी बनाउन चाहेको छ । हामीभन्दा पनि धनी हुनुपर्छ भनेर हिँडेका छौं । गैर आवासीय नेपाली संघ एउटै पार्टी हो–त्यो भनेको एनआरएन हो ।

तपाईको समर्थन भवन भट्ट र जमुना गुरुङमध्ये कसलाई हो ?

मेरो कुनै एक जनालाई भन्ने छैन । सबै साथीहरु योग्य हुनुुहुन्छ । तर त्यसमा पनि काम गरेका, योग्य, क्षमता भएका र अनुभवी व्यक्तित्वहरु संघको नेतृत्वमा आउनुपर्छ । अभियानमा धेरै समय दिएको साथीहरु आउनुपर्छ । मैले दुवै जनामध्ये एक जना रोज्नुपर्यो भने दुवै जना रोज्छु । मैले आजसम्म १४ वर्षको अभियानमा कहिल्यैपनि भोट हालेको छैन् । फेरि पनि खसाउनुपर्ने अवस्था छैन् ।

 

 

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट