४ कात्तिक, काठमाण्डौ । नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामध्ये २९ वटा जिल्लामा उम्मेदवारको टुङ्गो लगाएको छ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले दिएको जानकारी अनुसार अब ३ वटा जिल्लामा मात्र उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको छ ।

बालकृष्ण खाँड, नेता, नेपाली कांग्रेस

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खाँडले गोरखा, नुवाकोट र रसुवा जिल्लाको उम्मेदवार चयन गर्न कठीन भइरहेको बताए । गोरखा जिल्लामा डा. बाबुराम भट्टराईले चुनाव लड्छु भनेकाले क्षेत्र नम्बर २ मा भट्टराईलाई छोड्ने कुरा भइरहेको नेता खाँडले बताए । “गोरखा र रसुवाको विषयमा नयाँ शक्ति पार्टीसँग तालमेल गरेर अन्तिम टुङ्गो आज लाग्छ ।” खाँडले बताए ।

वाम गठबन्धनमा गएका भट्टराईलाई प्रचण्ड र ओलीले सम्मान गर्न नसकेकाले कांग्रेसले वौद्धिक नेता र पूर्व प्रधानमन्त्रीसमेत भएकाले आफूहरुले सम्मान दिएको खाँडको दाबी छ ।
गोरखा क्षेत्र नम्बर १ बाट भने नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिरिबाबु श्रेष्ठलाई उम्मेदवार बनाउने टुङ्गो लागिसकेको खाँडले बताए ।

नुवाकोट जिल्लाबाट रामशरण महत र अर्जुननरसिंह केसी उम्मेदवार बन्ने पक्का भइसकेको जानकारी खाँडले दिए । नुवाकोटकै अर्का नेता प्रकाशसरण महतले कहाँबाट चुनाव लड्ने भन्ने टुङ्गो लागिनसकेको खाँडको भनाई छ ।

आजै बाँकी ३ वटै जिल्लाको उम्मेदवार तय गरिने खाँडले बताए । २९ वटा जिल्लाको उम्मेदवार सहजै टुङ्गो लगाइएको खाँडको दाबी छ ।
मेलमिलाप र एकता नै अहिलेको राष्ट्रिय आवश्यकता भएकाले यसपटकको चुनावमा कांग्रेसले जनतमाझ यही कुरालाई स्पष्ट पारिने खाँडले बताए । संविधानको कार्यान्वयन र आवश्यकता अनुसार संशोधन गर्नका लागि कांग्रेसको नेतृत्व आवश्यकता रहेको खाँडको भनाई छ ।

पुरानो कम्युनिष्ट शैली र तानाशाहीवादले देशको हित गर्न नसक्ने भएकाले राष्ट्रको आवश्यकतालाई कांग्रेसले नै सम्बोधन गर्न सक्ने जिकिर गरे ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट