यस्तो छ समानुपातिक उम्मेदवारको नालीबेली : नायिकादेखि नेताका नातागोता र विवादमा तानिएका व्यक्तिसमेत (सम्पूर्ण विवरण)

१८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले शुक्रबार साँझ समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । प्रमुख दलहरुले आयोगमा बुझाएको बन्दसूचीमा नायिकादेखि नेताका नातागोता र केही विवादमा तानिएका व्यक्तिसमेत परेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलहरूमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ दले उम्मदेवारी दिएका छन् ।
त्यसैगरी प्रदेशसभा सदस्य समेतका लागि बन्दसूची बुझाउने दलको संख्या ५३ रहेको छ ।

प्रतिनिधिसभातर्फ ११० जना सांसदहरु समानुपातिक आधारमा छानिने छन् भने प्रदेशसभातर्फ २२० समानुपातिक सांसद हुनेछन् । प्रमुख दलहरुले सबै सिटका लागि नामावली बुझाएका छन् भने साना पार्टीले थोरै सिटमा नामावली बुझाएका छन् ।

निर्वाचन आयोगका सचिव बेगेन्द्रराज पौड्यालका अनुसार समानुपातिक निर्वाचनमा राजनीतिक दलहरूबाट जम्मा ६ हजार ९४ जनाको उम्मेदवारी परेको छ ।

आयोगले सार्वजनिक गरेको बन्दसूचीमा, आदिबासी पुरूष ७८३ र महिला ९३१ जना छन् ।

त्यसैगरी खस आर्यतर्फ पुरूष ८६७ र महिला ९९७ छन् । त्यस्तै थारू समुदायबाट पुरूष १५८ र महिला २६२ जना छन् भने दलित उम्मेदवारहरु पुरूषतर्फ ३४२ र महिलातर्फ ४९६ जना छन् । त्यस्तै मधेसी समुदायबाट पुरूष ४५५ र महिला ५६३ जना बन्सूचीमा समेटिएका छन् ।
मुस्लिम समुदायबाट पुरूष ८१ र महिला १५७ जना बन्द सूचीमा परेका छन् । त्यसैगरी, अपाङ्गता भएका पुरूष १५८, महिला ११५ र अन्य १ तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ जनाको उम्मेदवारको नाम बन्दसूचीमा परेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको कानून बमोजिम योग्यता नपुगेको वा उम्मेदवार हुन अयोग्य भएमा ७ दिनभित्र दाबी विरोधमा उजूरी गर्न सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार कात्तिक १८ देखि २४ गतेसम्म दाबी विरोधमा निवेदन दिन सकिने छ । त्यस्तै कात्तिक २५ देखि मङ्सिर १ सम्म दाबी विरोधमाथि जाँचबुझ र निर्णय गरी बन्दसूचीबाट नाम हटेको सूचना प्रकाशित गरिने छ । मङ्सिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुनेछ ।

सम्पूर्ण सूचि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्


Loading...
Loading...

धेरैले पढेको

Loading...