काठमाडौँ, २७ कात्तिक (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित अन्य आयुक्तसँग पूर्वसांसद लक्ष्मीदास मानन्धरको नेतृत्वमा आएको नेवाः जागरण मञ्चसँग आबद्ध प्रतिनिधिमण्डलले भेटी नेपाल भाषामा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

लोकतन्त्रको स्थायित्व, संघीयता र गणतन्त्रको कार्यान्वयनका लागि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रचारप्रसार मातृभाषामा हुँदा निर्वाचन शिक्षा थप प्रभावकारी हुने जनाउँदै उहाँहरुले मुलुकको विविधताको पाटोलाई ध्यान दिई नेपाल भाषामा मतदाता शिक्षा सामग्री र विज्ञापनको व्यवस्था गर्न माग गर्नुभयो ।

उम्मेदवारले प्रतिबद्धतापत्र र घोषणापत्र नेवारी भाषामै बनाएकाले मतदाता सामग्री र विज्ञापन पनि सोही भाषामा हुन सके बदर मत प्रतिशतलाई कम गर्न योगदान मिल्ने प्रतिनिधिका तर्फबाट सुझाव प्रस्तुत गरिएको थियो ।

निर्वाचनमा भाग लिऊँ कि नलिऊँ भनेर दोधारमा बसेका व्यक्तिलाई मातृभाषामा दिइने मतदाता शिक्षाले मतदान गर्न प्रेरित गर्ने बताउँदै उहाँहरुले एउटै भाषामा मात्र मतदाता शिक्षा प्रदान गर्ने सोचले अरु भाषामाथि अन्याय हुन जान्छ भन्ने पक्षलाई हेक्का गर्न आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा डा यादवले मुलुकका सबै १२३ वटै भाषामा मतदाता शिक्षा सामग्री उत्पादन हुन नसके पनि राष्ट्रिय जनगणनाको तथ्यांकका आधारमा केही प्रमुख भाषामा निर्वाचन शिक्षासम्बन्धी खासखास सामग्रीको व्यवस्था गरिएको बताउनुभयो ।

‘गोरखापत्र’बाट ३७ र ‘रेडियो नेपाल’बाट २१ भाषामा निर्वाचन र मतदाता शिक्षासम्बन्धी समाचार सामग्री प्रकाशन÷प्रसारण भइरहेको जानकारी दिँदै उहाँले थोरै समयमा धेरै काम गर्नुपर्ने समयको चापले गर्दा कतिपय विषयमा चाहेर पनि काम गर्न कठिनाइ भइरहेको बताउनुभयो ।

पूर्वसांसद मानन्धरले मातृभाषाअनुसारको मतदाता शिक्षाको व्यवस्था भएमा दिएको मत खेर जाने थिएन भन्ने पक्षलाई सोच्न सुझाव दिनुभयो । प्रतिनिधिमण्डलमा पूर्वमन्त्री हिसिला यमी, पूर्वसांसद रुपा महर्जन, जागराण मञ्चका संयोजक सुजीव बज्राचार्यलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी हुनुुुहुन्थ्यो । निर्वाचन आयोगले हाल १७ भाषामा मतदाता शिक्षा समाग्री उत्पादन गरेर प्रचारप्रसारको व्यवस्था मिलाएको छ ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट