राष्ट्रपति भण्डारी अबुधावीमा राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेटस (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार साँझ अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुहुँदा हार्दिक स्वागत गर्दै मानव संसाधन तथा अमिरातीकरण मन्त्री नासेर थानी अलहमेली । तस्बिर ः सौजन्य–बसन्तकुमार रुपाखेती, अबुधावी, रासस

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली :अबुधावी, २९ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित शेख जायद ग्रान्ड मस्क (मस्जिद) को अवलोकन गर्नुभयो ।

राष्ट्रपति भण्डारी ग्रान्ड मस्क पुग्नुहुँदा त्यहाँका महानिर्देशक शेख युसिफ अल ओबाइदीले उहाँलाई स्वागत गर्नुभयो ।

महानिर्देशक अल ओबाइदी तथा अन्य अधिकारीहरुले राष्ट्रपति भण्डारीलाई ग्रान्ड मस्कका विभिन्न पक्षका विषयमा जानकारी दिनुभएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले ग्रान्ड मस्कमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो भने उहाँलाई उक्त केन्द्रका तर्फबाट मस्जिदको इतिहास तथा कलासम्बन्धी पुस्तक उपहारस्वरुप दिइएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन पनि उपस्थित हुनुहुन्थ्यो ।

शेख जायद ग्रान्ड मस्कलाई यस मुलुकमा प्रमुख प्रार्थनास्थलको रूपमा लिइन्छ । यसको डिजाइन सिरियाली वास्तुविद् युसेफ अब्देल्कीले गर्नुभएको हो ।

युएईका पूर्व राष्ट्रप्रमुख शेख जायद बिन सुल्तान अल नेह्यानले यस परियोजनाको आरम्भ गर्नुभएको हो । उहाँले वास्तुकलाको ऐतिहासिक तथा आधुनिक मूल्यका साथमा इस्लामिक विश्वको सांस्कृतिक विविधतालाई एकीकृत गर्न यो मस्जिदको स्थापना गर्न चाहनुभएको बताइन्छ ।

यसै मस्जिद नजिकैको भागमा उहाँको समाधिस्थल छ । यो मस्जिद सन् १९९६ देखि २००७ बीच निर्माण भएको हो र यो संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो मस्जिद पनि हो । यसको भवनले १२ हेक्टर भूमि ढाकेको अनुमान गरिएको छ र यसका आफ्नै बाह्य संरचना र गाडी बिसौनी छन् । यस मस्जिदले शैक्षिक, सांस्कृतिक तथा भ्रमण आदानप्रदान पनि गर्छ ।

यस मस्जिदमा रहेको पुस्तकालयमा २०० वर्षभन्दा अगाडिदेखिका विज्ञान, सभ्यता, हस्तलिपि, कला तथा सिक्काका दुर्लभ प्रकाशन उपलब्ध रहेको बताइन्छ । यहाँ अरबी, फ्रेन्च, इटाली, स्पेनी, जर्मन तथा कोरियाली भाषाका सामग्री छन् ।

राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारीका साथै राष्ट्रपति कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि पनि उपस्थित हुनुहुन्थ्यो ।

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट