अध्यक्ष लोहनीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, १० पुस (रासस) : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आजबाट शुरु भएको उच्चस्तरीय केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

केन्द्रीय कार्यालयमा शुरु भएको उक्त बैठकमा अध्यक्ष लोहनीले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीको वैचारिक दृष्टिकोणलाई कायम राख्दै अब पार्टीले देशभर संगठन सुदृढीकरणमा निर्वाह गर्नुपर्ने भूमिकाबारे उल्लेख गरिएको छ ।

समितिका पदाधिकारी तथा सदस्यले अध्यक्षको प्रतिवेदनमा धारणा राख्ने कार्य जारी रहेकाले बैठक भोलिसम्मका लागि स्थगित भएको छ । भोलि बिहान ८ बजे सोही स्थानमा पुनः बैठक बस्ने बताइएको छ ।

१७ सदस्यीय सो समितिका अधिकाँश सदस्यले मुलुकमा विकास भएको राजनीतिक अवस्था, पार्टीले चुनावमा व्यहोर्नु परेको पराजयबारे समीक्षा गर्ने, धारणा राख्ने र भावी रणनीति तय गर्ने योजना रहेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।


Loading...
Loading...

धेरैले पढेको

Loading...