नेपाल एकीकरण अभियानको अवमूल्यन असम्भव

कृष्णराज गौतम : काठमाडौँ, २६ पुस : राजतन्त्र अन्त्यसँगै आधुनिक नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्न खोजिए पनि पछिल्ला वर्षमा एकीकरण अभियानलाई पूर्ववत् सम्मान दिने क्रम बढेको छ ।

शाहले गोरखा राज्यलाई विस्तार गरी सैन्य बलबाट विसं १८०१ असोज २ गते नुवाकोट विजय गरेपछि तत्कालीन बाइसे तथा चौबीसे राज्य एकीकरणमा बल पुगेको थियो । काठमाडौँ उपत्यकाभित्रका तीनवटै राज्यको एकीकरणपछि मुलुकमा शाहवंशीय राजसंस्थाको थालनी भएको थियो ।

दोस्रो जनआन्दोलन २०६२÷६३ मा पृथ्वीनारायण र उहाँका उत्तराधिकारीका सालिक तोडफोड गर्ने तथा इतिहासमा राष्ट्रियताको संरक्षणका लागि राजसंस्थाले निर्वाह गरेको भूमिका अवमूल्यन गर्न खोजिए पनि पछिल्ला दिनमा विभिन्न दल र सम्बन्धित पक्षले नेपालको एकीकरणमा शाहको योगदानलाई बिर्सन नहुने आवाज उठाउन थालेपछि केही वर्ष सरकारी स्तरबाट कटौतीमा परेको पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा यस वर्षदेखि पुनः बिदा दिने घोषणा गरिएको छ ।

यस पटकदेखि शाहको जन्मदिन पुस २७ लाई सरकारले राष्ट्रिय बिदा दिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत विभिन्न निकायले विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा एकता दिवस मनाइरहेका छन् ।

गोर्खाका राजा नरभूपाल शाह तथा रानी कौशल्यावतीका छोराका रुपमा शाहको जन्म १७७९ पुस २७ गते भएको थियो । २० वर्षमा गोर्खाको राजा भएका शाहले क्रमिकरुपमा विभिन्न राज्यमाथि आक्रमण गरी एकीकरण अभियानमा पूर्वमा टिष्टा नदीदेखि पश्चिममा काँगडा नदीसम्मका नेपालीलाई सहभागी गराएका थिए । नयाँनयाँ राज्यमा जित हासिल गरेपछि स्थानीय संस्कृति, चलन, परम्परालाई समेत निरन्तरता दिइएको पाइएको छ ।

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित तत्कालीन समयमा गोर्खामा एक हजार २०० घरधुरीका मानिस आर्थिक रुपमा विपन्न भएपनि शाहको अभियानलाई साथ दिएको बताउनुहुन्छ । स्थानीय विसे नगर्चीको सुझावअनुसार राजा पृथ्वीनारायण शाहले त्यहाँका बासिन्दासँग प्रतिघरधुरी रु एकका दरले कुल १२ हजार संकलन गरेर काशीबाट हतियार झिकाएका थिए ।

इतिहासकार डा सुरेन्द्र केसीले तत्कालीन समयमा दक्षिण एशियामा बढ्दै गएको अंग्रेजको साम्राज्यवादलाई नेपालमा पस्न नदिन शाहले खेलेको भूमिकाका कारण नै आज नेपालीको विश्वमा शान रहेको दाबी गर्नुहुन्छ ।

काठमाडौँ उपत्यकालाई विजय गर्नुभन्दा अगाडि शाहले तीनपटक कीर्तिपुरमा युद्ध गर्नुपरेको इतिहास छ । विसं १८१४ र १८२१ मा कीर्तिपुरमा आक्रमण गरी पराजय भोगेका शाहले र १८२२ मा भने कीर्तिपुर जितेका थिए ।

प्रा जगमान गुरुङले गोर्खाका पाँडे, पन्त, अर्याल, खनाल, बोहरा र राना थर भएका रणनीतिज्ञले निर्माण गरेको युद्ध नीतिको एकीकरणमा महत्व रहेको जनाउँदै शाहले स–साना क्षेत्र भिरकोट, कास्की, लमजुङलाई आफ्नो राज्यमा विलय गर्दै आधुनिक नेपालको जग बलियो बनाएको बताउनुभयो ।

गोर्खाका राजाले कीर्तिपुर हात पारेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका मल्ल राजालाई त्रासको मनोविज्ञान बढ्दै गएको इतिहास छ । विसं १८२५ असोज १३ गते इन्द्रजात्राका दिन नरदेवी, टुँडिखेल र भीमसेनस्थान तीनतिरबाट घेरा हालेर काठमाडौँमाथि विजय प्राप्त गरेका थिए । त्यतिखेर काठमाडौँमा जयप्रकाश मल्ल राजा थिए । सोही महिनाको असोज २५ गते ललितपुरका राजा तेजनरसिंह मल्ललाई पराजित गरिएको थियो ।

विसं १८२६ मंसिर १ गते भक्तपुरका राजा रणजित मल्ललाई पनि आत्मसमर्पण गराई शाहले उपत्यकामाथि जित हासिल गर्नुभएको थियो ।


Loading...
Loading...

धेरैले पढेको

Loading...