काठमाण्डौ ३० पुस। जाजरकोटमा विगत केही साताभित्र विभिन्न रोगका कारण एक दर्जनभन्दा बढिको मृत्यु भइसकेको छ । स्वास्थ्यमन्त्री दिपक बोहोराले सम्बन्धित सबै निकायका व्यक्तिहरु समावेश गरेर उपचारका लागि टोली खटाइएको बताएका छन् । रोगको महामारी फैलिएपछि जाजरकोट पुगेका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले रोग नियन्त्रणको प्रयासलाई तीव्र पारेको दाबी मन्त्री बोहोराले गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै मन्त्री बोहोराले चिकित्सक, जाजरकोटबाट चुनाव जितेका प्रतिनिधिसभा र प्रदेश सभाका सासंद, पत्रकार लगायतका व्यक्तिहरुको टोली पठाइएको जानकारी दिए । पर्याप्त औषधीकोसमेत व्यवस्था गरिएको मन्त्री बोहोराले दाबी गरे । स्वास्थ्यकर्मीले गरेको परीक्षणबाट कडा खालको रुघा नदेखिएको बताए ।

हाल जुनीचाँदे गाँउपालिकामा चिकित्सकहरु सहितको ६ वटा स्वास्थ्य टोली परिचालन गरिएको छ । आफ्नै नेतृत्वमा टोली जाने तयारी भए पनि आफू अस्वस्थ भएपछि मन्त्रालयका सचिवको नेतृत्वमा जाजरकोट पठाइएको उनले बताए । विगतमा पनि विभिन्न संक्रमण र त्यसले महामारीको रुप लिएर ज्यान गुमाउने एउटा नियति जस्तै बनेको जाजरकोट जिल्लाका विकट क्षेत्रमा पुसको पहिलो सातादेखि रुघा खोकी र ज्वरोका बिरामीहरु देखिएका थिए ।

पुसको दोस्रो साता नलाग्दै जुनीचाँदे गाँउपालिकामा प्रकोपकै रुपमा देखिएको थियो । कडाखालको रुघाखोकी भएमा त्यसले महामारीको रुप लिने हो भन्ने आशंकाहरु व्यक्त भएका थिए । तर पाँचवटा नमुना परिक्षण गर्दा कडाखालको रुघा नपाइएको मन्त्री बोहोराको दाबी छ ।

जुनीचाँदे गाँउपालिकामा करिब एक महिनाको अवधिमा १३ जनाको ज्यान गएको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयमा छ ।तर तीमध्ये धेरैजसो चिसोले हुने अन्य रोगका कारणले मृत्यु भएको चिकित्सकहरुको भनाइ छ । मृत्यु हुनेमा अधिकांश वृद्ध र बालबालिका रहेका छन् । हाल देखिएको रोग पूर्णरुपमा नियन्त्रणमा नआएसम्म चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली प्रभावित क्षेत्रमा राखिने मन्त्री बोहोराले बताए ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट