होलीमा भाङको नशा छोडेर प्रेमको नशा खोजौँ : चिन्तामणि योगी

फागुन १७, काठमाण्डौ । होली नेपाली तथा भारतीयअर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।

यो चाड वसन्त ऋतुमा फाल्गुन महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा(युवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर (लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

संस्कृतिविद् चिन्तामणि योगीका अनुसार यस सत्य, प्रेम, धर्म र न्यायको जित भएको अर्थमा होली मनाउने गरिन्छ ।
“हिरण्यकश्यप अधर्म, असत्य र अन्यायका प्रतिक थिए । राक्षसी प्रवृत्तिका थिए । उनीहरुको हार भएको थियो ।” योगीले प्रष्ट पारे । “होली सत्ययुगसँग जोडिएको पर्व हो । हिरण्यकश्यपको बहिनी होलिकाको दहन भएको प्रसंगसँग होली जोडिएको छ ।” योगिले भने ।

चिन्तामणि योगी

होलिका हिरण्यकश्यप राक्षसकी बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू हुन् । उनीले ब्रह्माबाट आगोले नजलाउने वरदान प्राप्त गरेकी थिइन् । यहि वरदानको फाइदा उठाउदै उनीले जलाएर मार्नको लागि प्रह्लादलाई लिएर आगोमा बसेकी थिइन् ।

यस क्रममा विष्णुले गर्दा प्रह्लादलाई केही भएन तर होलिका चाहिँ जलेर मरिन । यही दिनको खुसियालीमा हिन्दु धर्मावलम्बीहरूले होली पर्व मनाउने गर्छन ।
अर्को प्रसंग भगवान कृष्णसँग पनि जोडिएको योगी बताउँछन् । कृष्णले गोपिनीहरुसँग रसलिला गर्ने प्रसङ्गमा पनि होलि जोडिएको उनले बताए ।

होलीको महत्व र प्रसङ्ग यतिमै सिमित छैन । वसन्त ऋतु सुरु हुन लागेको अवसरलाई पनि होलीसँग जोडिने गरेको योगीको भनाई छ ।
“६ वटा ऋतु छन् । तिमध्ये वसन्त ऋतुको स्वागत गर्ने हो । वसन्त ऋतुको विशेषता पनि रङ्गीविरङ्गी हुन्छ । हामी पनि रङ्गिन बनौँ ।” उनले भने ।

पछिल्लो समय संस्कृति, राजनीति लगायत सबै क्षेत्रमा विकृति भित्रिएको योगीले बताए । तर सकेसम्म सही सन्देश दिने काममा संचारमाध्यम र जानकारहरु लाग्नुपर्ने उनको तर्क छ ।

भाङ्को नशा छोडेर एकअर्कामा प्रेमको नशा खोज्नुपर्ने उनको तर्क छ ।
हिलो छ्याप्ने र पानी छ्याप्ने काम छोडेर एकअर्कामा अङ्गालो हालेर माया साट्नुपर्ने योगी बताउँछन् ।

होलीको अघिल्लो रातमा प्रह्लादलाई काखमा लिएकी होलिकाको एक माटोको मूर्ति तयार गरिन्छ । यो प्रतिमालाई दाउराको खातमा राखेर दहन गरिन्छ र प्रह्लाद बचेको अनि होलिका मरेको अनुभूति गरिन्छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...