निष्ठाका नेता कृष्णप्रसाद भट्टराई : छाता र कमण्डलुले दिएको राजनीतिक उचाई (स्मृति दिवस)

फागुन २०, काठमाण्डौ । आज कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको सातौँ स्मृति दिवस ।

नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातको पहिलो प्रधानमन्त्री थिए कृष्णप्रसाद भट्टराई । यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए । यिनले २००७ सालको सशस्त्र क्रान्तिमा

जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए । भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए ।

भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्वपूर्ण दायित्व यिनले सफलता पूर्वक बहन गरेका थिए । तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौँबाट पराजित भएका थिए । पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए ।

गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे। यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे। हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ ।

स्व कृष्णप्रसाद भट्टराईको जन्म स्व पिता संकटाप्रसाद र स्व माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको थियो ।

राणा प्रधानमन्त्री वीर सम्शेरको वक्रदृष्टिमा परेका पं. विश्वनाथ भट्टराई सपरिवार बनारस निर्वासनमा गएपछि उनी त्यहींबाट बिहारको रामनगर राज्यका राजाका पुरोहित बन्न पुगे । उनका छोरा संकटाप्रसाद पनि तिनै रामनगर रामराजाका पुरोहित थिए। यिनका चारै भाइ छोराहरू भने बनारसमा बसेर अध्ययन गर्दथे।

त्यहींबाट यी चारैजना भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए । दाइहरूको प्रभावले कान्छा कृष्णप्रसाद राजनीतिमा झन अगुवा हुन पुगे ।
गोर्खा दरबारमा पुरोहित यज्ञेश्वर भट्टराईका छोरा पति भट्टराई पृथ्वीनारायण शाहसँग काठमाडौं आएर दरबारमा नै पुरोहित भई बसे । यिनको सन्तति परम्परामा क्रमशः विष्णुहरि, कृष्णलाल, मेदिनीधर, कमलकान्त, विश्वनाथ हुँदै पछिल्लो पुस्तामा संकटाप्रसाद भए । संकटाप्रसादका चार भाइ छोरा― बटुकप्रसाद, नारायणप्रसाद, गोपालप्रसाद र कृष्णप्रसाद थिए । यी चार मध्येका कान्छा छोरा कृष्णप्रसाद भट्टराई हुन् ।

बनारसमा जन्मेका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको थियो। यिनले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि.ए. सम्मको अध्ययन पूरा गरेका थिए । सोही विषयमा एम.ए. तहको अध्ययन पनि गरिसकेका भट्टराई भारतीय स्वतन्त्रता सँग्राममा सहभागी भएका कारण पक्राऊ परेकाले सो तहको परीक्षा दिनबाट बञ्चित भएकाकाले यिनको एम. ए. तहको अध्ययन पूरा हुन सकेन ।

कृष्णप्रसाद भट्टराई आजीवन अविवाहित रहे। सन्त प्रवृत्तिको भएकाले गर्दा केहीले यिनलाई सन्त नेता भनेर पनि सम्वोधन गर्ने गरेका छन् । अत्यन्तै सादा जीवन भएका भट्टराई कहिलेकाँही छाता मात्र लिएर हिँड्दथे । २०४८ को निर्वाचनमा पराजित भएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा यिनी हातमा छाता र कमण्डलु लिएर पैदलै निस्केका थिए ।

कृष्ण प्रसाद भट्टराईको २०६७ फागुन २० गते शुक्रबार राति ११ बजेर २६ मिनटमा काठमाडौंको नर्भिक अन्तराष्ट्रिय अस्पतालमा मृत्यु भयो । यिनको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ फागुन २२ गते पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भट्टराई निष्ठाको नेता भएको टिप्पणी गरेका छन् ।

“लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिका महत्वपूर्ण छ । भट्टराईले देखाएको आदर्शको बाटोमा कांग्रेस चल्नुपर्छ ।” उनले भने ।


Loading...
Loading...

धेरैले पढेको

Loading...