काङ्ग्रेस कोषाध्यक्षहरुको दोश्रो राष्ट्रिय सम्मेलन चैत्र ७ गतेदेखि ९ गतेसम्म

नुवाकोट, ३० फागुन । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत्र ७ गतेदेखि ९ गतेसम्म नुवाकोट र रसुवामा सयुक्त रुपमा हुने भएको छ ।

सम्मेलनको तयारी सुरु भएको जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका संयोजक एबम् काठमाडौ कोषाध्यक्ष गोबिन्द पुडासैनीले जानकारी दिए ।
उनका अनुसार काँग्रेस जिल्ला कार्यसमिति नुवाकोट र कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका पदाधिकारीको मंगलबार बिदुरमा बसेको सयुक्त बैठकले भेला तयारीको लागी विभिन्न समिति गठन तथा कार्य जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

सम्मेलनको लागी नुवाकोट कोषाध्यक्ष महेन्द्र थिङको संयोजकत्वमा आर्थिक श्रोत व्यवस्थापन तथा अतिथी सत्कार समिति, नुवाकोट सचिव सुरेन्द्र अधिकारीको संयोजकत्वमा प्रचारप्रसार समिति, योबिन्द्रसिंह तामाङको संयोजकत्वमा आवास तथा भोजन व्यवस्थापन समिति र धनसिंह तामाङको संयोजकत्वमा स्वंयसेवक परिचालन समिति गठन गरिएको छ ।

कांग्रेस जिल्लाका कोषलाई पारदर्शी, समृद्धि, सुदृढ र जवाफदेही बनाउन भेला केन्द्रित हुने पुडासैनीले बताए ।

तीनदिनसम्म चल्ने सम्मेलन अन्तरगत काँग्रेस नुवाकोटको पार्टी कार्यालय विदुरमा चैत ७ गते पार्टीको केन्द्रीय नेता सम्मिलित उद्घाटन समारोह र ८ गते बन्दसत्र सहित प्रशिक्षण तथा ९ गते रसुवाको स्याफ्रुबेसीमा भेलाको समीक्षा बैठक सहित पत्रकार सम्मेलन हुने रसुवा कोषाध्यक्ष पदम न्यौपालने बताए ।

सम्मेलन मार्फत बर्तमान सन्दर्भमा कांग्रेसको कमजोर अबस्था र कार्यकर्तामा छाएको निरासाको समीक्षा हुने तनहुँ कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।

“उद्घाटन समारोहमा एकै स्थानमा भेला हुने शीर्ष नेताले पार्टी एक भएको सन्देश दिन्छ ।” गुरुङले भने । “बन्दसत्र र प्रशिक्षणमा जिल्लाहरुको रिपोटिङ, भावी रणनीति तय र सयुक्त घोषणापत्र जारीगर्दै कार्यकर्तामा नयाँ तरङ सहितको जोश र उमङ्ग दिइनेछ ।”

सम्मेलन तयारीको लागी नुवाकोट र रसुवा पार्टी कार्यसमिति परिचालन हुने नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले बताए ।

उनका अनुसार कोषाध्यक्षहरुको सम्मेलन सफल बनाउदै कमजोर भएको पार्टीलाई पुर्नजीवन दिन यसलगत्तै नुवाकोटमा काँग्रेस जिल्ला सभापतिहरुको भेलाको मिति तोक्न केन्द्रलाई आग्रह गर्ने तयारी छ ।

कोषाध्यक्षहरुको पहिलो सम्मेलन विसं २०७३ पुस ८ र ९ गते काठमाडौमा भएको थियो । यसैगरी, काँग्रेस जिल्ला सभापतिहरुको गत माघ ८ मा खोटाङको हलेसीमा सम्पन्न भेलाले नुवाकोटमा जिल्ला सभापतिहरुको भेला आह्वान गर्न केन्द्रीय पदाधिकारीलाई आग्रह गर्ने निर्णय गरेपनि मिति तोक्न भने बाँकी छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...