ऋषि धमला : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यस्तो समयमा नेपाल भ्रमण गर्दैछन् जतिबेला नेपालले ऐतिहासिक तीनवटा चुनाव सम्पन्न गरी राजनीतिक स्थायित्व प्राप्त गरी समृद्धिको दिशातर्फ गति लिदैछ । ऐतिहासिक संविधानसभाले संविधान निर्माण गरी त्यसको कार्यान्वयन चुनाव सम्पन्न भएपछि भयो । केपी ओली नेतृत्वको नयाँ सरकार बन्यो र दुवै देशबीच विद्यमान समस्याहरू समाधान भई देशले समृद्धिको दिशा लियो ।

भारतले लामो संघर्षपछि राजनीतिक स्थायित्व प्राप्त गरेपछि समृद्धितर्फ सकारात्मक गति लिन सकेको थियो । अटलविहारी वाजपेयीले बीसौं शताब्दीको अन्ततिर स्थायी सरकार चलाएर भारतको राजनीतिमा नयाँ कोर्स स्थापित गरेका थिए । भारतीय जनता पार्टीले पहिलो पटक बहुमत ल्याएपछि नरेन्द्र मोदी प्रधानमन्त्री भएर विकासको गतिलाई सही दिशा र गति दिन सके । तिनै मोदी नेपालप्रति सकारात्मक बनेर निकै चासो दिइरहेका छन् ।

मोदी नेपाल भ्रमणमा आइरहँदा नकारात्मक टिप्पणीहरू नभएका होइनन् । आलोचनालाई सामान्य रुपमा लिने उनले त्यसको कुनै वास्ता नगरी आफ्नो पाइलालाई रोकेनन् । मोदी नेपालबारे निकै चिन्ता व्यक्त गर्छन् । पंक्तिकारसँग गत महिना दिल्लीमा भेट हुँदा मोदीले नेपालको राजनीतिक अवस्थाबारे चासो राखेका थिए । उनी नेपाललाई पवित्र भूमि मान्दारहेछन् र नेपालले राजनीतिक स्थायित्व हासिल गरी समृद्ध बनेको देख्ने चाहना राख्दारहेछन् । नेपाल मामलामा उनको नियत सफा रहेछ । आलोचकहरूले जे जस्तो टिप्पणी गरेपनि मोदीको समृद्ध नेपाल हेर्ने भित्री इच्छा रहेछ । त्यसैले पनि कुनैपनि भारतीय प्रधानमन्त्रीले नगरेको तेस्रोपटकको भ्रमण मोदीले गर्दैछन् । चार वर्षको दौरान तीनपटक भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नुले अन्तर्राष्ट्रिय चासो र चर्चा पाएको छ । तीनपटकको भ्रमणबाट नै नेपालप्रतिको आत्मीयता र भावनात्मक सम्बन्ध प्रकट हुन्छ । मोदीले नेपाललाई यति धेरै माया दिएका छन् जसको जतिसुकै तारिफ गरेपनि कम हुन्छ ।

सकारात्मक सन्देश

मोदीको नेपाल भ्रमणले भारतभित्र नभई अन्तर्राष्ट्रिय जगत्मा पनि चर्चा पाएको छ । भारतीय प्रधानमन्त्रीले तीर्थयात्रा गरेर राजधानी बाहिरका स्थानमा समेत पुग्नुले नेपाल अब सुरक्षित गन्तव्य हो भन्ने सन्देश गएको छ । जनकपुर दुलही जस्तै सिंगारिएकी छिन्, मुक्तिनाथ उतिकै सुन्दर बनाइएको छ । जनकपुर र मुक्तिनाथमा मोदीको यात्राले सँसारभर नेपाल पर्यटकीय गन्तव्य यथेष्ठ रहेको देश हो भनी सकारात्मक प्रचार भएको छ । रामायण सर्किटको उद्घाटनले नेपालको पर्यटन क्षेत्रमा नयाँ ढोका उघारिदैछ । मुक्तिनाथको भ्रमणले त्यस क्षेत्रमा पर्यटनको विकास झन् बढ्नेभएको छ । मोदीले नेपाललाई सुरक्षित र सुन्दर मुलुकका रूपमा अझ विश्वसामु परिचित गराइदिदैछन् ।

मोदी समृद्ध नेपालको यात्राले गति लिने गरी सहयोगको हातसहित नेपाल आउँदैछन् । अरुण तेस्रो परियोजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्त रुपमा हुँदैछ । यो आयोजना निर्माणका लागि भारत सरकारले निर्माण कम्पनिलाई लगानीको सुनिश्चित गरेको थियो । यसका लागि मोदीले प्रत्यक्ष भूमिका खेलेका थिए ।

यसबाट पनि मोदी नेपालसँग मिलेर समृद्धिको यात्रामा बढ्न गम्भीरताका साथ लागेको प्रष्ट हुन्छ । मोदीको पहलमा भारतले हात हालेको धेरै आयोजनाहरू अगाडि बढेका छन् । रेलमार्ग, हुलाकीमार्गलगायत महत्वपूर्ण आयोजना निर्माणले गति लिएको छ । विद्युत ट्रान्समिसनका आयोजनाहरूको निर्माण पूरा भयो भने कतिपय निर्माणले गति लिएको छ । एक्सनमा जाने नेताको परिचय बनाएका मोदीले नेपालको विकास निर्माणको हरेक प्रगतिबारे सोध्ने गरेका छन् । राजदूत मञ्जिभ सिंह पुरीसँग बेला बेलामा नेपालमा भारतीय सहयोगमा बढाइएका विकास आयोजनाहरूले के कस्तो गति लिएको छ जानकारी लिने गरेका छन् । राजदूत पुरीले पनि थोरै बोल्ने धेरै काम गर्ने व्यवहारिक कुटनीतिज्ञका रुपमा परिपक्वताका साथ भूमिका निभाइरहेका छन् । उनी नेपाल आएलगत्तै भारतको नेपालसँग रहेका असमझदारीहरू अन्त भए । उनकै पहलमा प्रधानमन्त्री ओलीले भारत भ्रमण गरे । अहिले तेस्रोपटक मोदी नेपाल आउँदैछन् । पुरीले सफल भारतीय राजदूतका रूपमा आफूलाई स्थापित गरिसके ।

सुवर्ण मौका

मोदीको नेपालप्रतिको सद्भाव र मायाबाट नेपाललाई फाइदै फाइदा छ । नेपालमा भारतीय लगानी र विकास आयोजनाहरू एकपछि अर्को गरी थपिएका छन् । उनले पहिलोपटक नेपाल भ्रमण गर्दा भनेका थिए— भनिन्छ पानी र जवानी पहाडमा रहँदैन, अब पानी पनि रहन्छ र जवानी पनि रहन्छ । मोदीले जे बोलेका थिए त्यही गरेर देखाउँदैछन् । अरुण तेश्रोको निर्माण शुरू हुनु दुवै देशका लागि ऐतिहासिक सफलता र फाइदाको विषय हो । त्यसमाथि पनि नेपालले यसबाट धेरै लाभ लिन सक्छ । अरुण तेस्रो निर्माण हुँदा देखि नै नेपालीहरूलाई रोजगारीको अवसर प्राप्त हुनेछ । नेपाली युवाहरू रोजगारीका लागि विदेशतिर भौतारिनुपर्ने परिस्थितिको अन्त हुनसक्छ । नेपालमा पूर्वाधार विकासले गति लिएमा धेरै रोजगारी सृजना हुन सक्छ । नेपालले जलविद्युत उत्पादन हुनथालेपछि लिन सक्ने फाइदा उत्तिकै छ । नेपालले विद्युतको सेयर प्राप्त गर्ने छँदैछ, पर्याप्त ऊर्जा उत्पादनले उत्पादन केन्द्रित उद्योगहरू खुल्न सक्छन् । नेपालमा कलकारखाना खुल्न गई रोजगारी, निर्यात र करबाट राज्यलाई लाभ नै लाभ हुन्छ । मोदीको कदमले नेपाललाई यति धेरै फाइदा हुँदा हुँदै नकारात्मक विषय उचालेर गाली गलौजमा उत्रनुको कुनै अर्थ छैन । गलत प्रोपोगान्डा अन्तमा गलत सावित हुनेछन् । नेपाली जनताले को सही को गलत परिणाम आएपछि थाहा पाउनेछन् ।

नेपालको भारतसँग तीनतर्फ सीमा जोडिएको छ । भारतसँग सहज आवतजावत् गर्न सकिने भूगोल मात्र छैन मित्रवत् व्यवहार पनि छ । विना भीसा र पासपोर्ट आवत्जावत् गर्न सकिने प्रावधान कुनै सन्धि सम्झौतामा लेखिएको छैन । तैपनि दुवै देशका जनताले यसको निरन्तर अभ्यास गर्दै आएका छन् । जन जनको सम्बन्धबाट दुवै देशले लाभ लिन सक्ने प्रशस्त ठाउँ छन् । नेपालको दक्ष जनशक्ति भारतका लागि उपयोगी हुनसक्छन् भने भारतको दक्ष जनशक्ति पनि नेपालको लागि कामलाग्ने हुनसक्छ ।

सहज आवत्जावत्ले यसको अभ्यास सजिलो बनाएको छ । दुवै देशको विकासमा दुवै देशको जनताले भूमिका खेल्ने गरेको श्रमशशक्तिको आवत्जावत्बाट पनि थाहा हुन्छ । यसमा कहीं कतै बाधा अड्चन हुनु हुँदैन । यसैमा दुवै देशको हित छ । मोदीले जनजनको सम्बन्धलाई मध्यनजर राखेर पनि जनकपुरबाट भ्रमण शुरू गर्न लागेका हुन् । यसमा कसैले नकारात्मक सोच राख्नुको औचित्य छैन । भारत भ्रमण गर्दा चिनियाँ राष्ट्रपति सि जिङपिङले पनि गुजरातको राजधानी अहमदाबाट शुरू गरेका थिए । पाकिस्तान अकस्मात् पुग्दा पनि मोदी इस्लामाबाद नपुगी लाहोर पुगेका थिए । हालै चीनको भ्रमण गर्दा मोदी सिधै बेइजिङमा उत्रिएका थिएनन् । राजधानी बाहिर पनि विकास हुनुपर्छ र त्यस्तो क्षेत्रले प्राथमिकता पाउनुपर्ने सन्देश मोदीले अन्तर्राष्ट्रिय रुपमै दिएका छन् । उनले अन्तर्राष्ट्रिय राजनीतिमा समेत नयाँ अभ्यासको थालनी गरिदिएका छन् । नेपाल भनेको काठमाडौं मात्र हो र काठमाडौंमा बस्नेको इच्छा र चाहना मात्र सबथोक हो भन्ने चिन्तन अबका दिनमा रहनुहुँदैन । कुनै देशको नेता काठमाडौं बाहिर कुटनीतिक मर्यादामा रहेर पुग्दा झन् त्यो क्षेत्रको सम्मान र लाभ हुनसक्छ । यो समग्र देशको समेत सम्मान हो । यसमा कसैले आत्तिनुपर्ने र नकारात्मक धारणा राख्नु नै गलत ठहर्छ ।

हरेक विषयलाई विगतको तीतो घटनासँग जोडेर हेर्नुहुन्न । विगतको तिक्ततालाई मेटेर सुझबुझका साथ बढ्नुमै सबैको हित हुन्छ । उत्तर कोरिया र दक्षिण कोरिया जस्ता युद्ध लडेका देशले समेत अन्तमा हातेमालो गर्नुप¥यो । अमेरिकाले दुश्मन मानेको उत्तर कोरियासँग सम्बन्ध सुधार्दैछ भने भारत हाम्रो तीनतर्फ सीमा जोडिएको र ऐतिहासिक अन्यौन्याश्रित सम्बन्ध भएको मुलुक हो । भारतीय प्रधानमन्त्री विशाल हृदयका साथ नेपालको हितमा सहयोगी बनिरहेका छन् भने त्यसप्रति सकारात्मक बन्नुपर्छ । हामीले सधैं नकारात्मकतर्फ मात्र ध्यान दियौं भने सकारात्मक कदम कहिले चाल्ने । अहिले मोदी पवित्र मन र व्यवहारका साथ नेपाल आउन लागेका छन् । यसको सम्मान गर्नु हाम्रो कर्तव्य हो । हामी नेपालीले अतिथिलाई भगवान् मान्छौं ।

देशमा अतिथिका रुपमा विश्वको शक्तिशालीमध्येका नेता आउँदैछन् । नेपाललाई पशुपतिनाथको पवित्र भूमि मान्ने धार्मिक स्वभावका मोदी आउँदैछन् । मोदी नेपलालाई सीता जस्ती महान् नारी जन्मिएको पवित्र भूमि मान्छन् । उनी नेपाललाई पवित्र भूमि मानेर पाइला सार्दैछन् । पवित्र भूमिमा पवित्र कार्य गर्ने चाहना राखेर काम गर्दैछन् । हामीले मोदीको सकारात्मक कदमलाई ऐतिहासिक मौकाका रुपमा लिनुपर्छ । यो मौकालाई चुकाउनु हुँदैन । छिमेकसँग सुमधुर सम्बन्ध बनाउन राजनीतिक नेतृत्वलाई समेत दबाब दिनसक्नुपर्छ । हाम्रो मूल्य र मान्यताले छिमेकसँग मित्रवत् सम्बन्ध बनाएर साथ साथ बढ्न प्रेरित गर्दछ । मोदीले नेपालसँग आर्थिक विकासमा साथ साथ बढ्ने चाहना देखाएका छन् । उनले बढाएको हातलाई बुझ्नुपर्छ । मोदीको नेपालप्रतिको माया र प्रेमलाई चिनेर विकास र समृद्धिको यात्रालाई गति दिन सक्नुमै नेपाल र नेपालीको हित हुन्छ । यो ऐतिहासिक मौका हो खेर फाल्न दिनुहुँदैन ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट