गणतन्त्रका नायक नै समृद्धिको नेतृत्वकर्ता

ऋषि धमला-मुलुक गणतन्त्रमा प्रवेश गरेको एक दशक बित्यो । नेपाली जनताको लामो संघर्ष र राजनेताको दरिलो नेतृत्वका कारण अढाइ सय वर्षको इतिहास बोकेको राजतन्त्र अन्त्य भई देश गणतन्त्रात्मक प्रणालीमा प्रवेश ग¥यो । निरंकुश राजतन्त्र अन्त्य भई नेपाली जनताबाट चुनिने प्रतिनिधि राष्ट्र प्रमुख हुने व्यवस्था भयो । यो ऐतिहासिक उपलब्धि हासिल गर्न ऐतिहासिक जनआन्दोलन २०६२÷६३ ले आधार तयार गरेको थियो । जसमा सात राजनीतिक दलले प्रत्यक्ष भूमिका खेलेका थिए । यसका लागि सशस्त्र विद्रोहमा लागिरहेको तत्कालीन नेकपा माओवादीले आन्दोलनकारी दलसँग १२ बुँदे सम्झौता गरेको थियो ।

दाहालको राजनीतिक एजेन्डा

दिल्लीमा भएको १२ बुँदे सम्झौतामा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नायक थिए । एक दशकयता देश हिंसाको चपेटामा पर्दै आएको थियो । देश दुई बन्दुकको चपेटामा परिरहँदा जनता प्रताडित थिए । यसबाट मुक्ति दिलाउन गिरिजाप्रसाद कोइराला र दाहाल दुवैले जोखिम मोलेर वार्ताको टेबुलमा बसेका थिए । पटक पटकको वार्तापछि १२ बुँदे सम्झौतामार्फत देशलाई निश्चित दिशा दिने मार्गचित्र कोरेका थिए । संविधानसभाको माग प्राथमिकतामा राखेको माओवादीको एजेन्डामा सात राजनीतिक दलसमेत सहमत भएका थिए ।

देश गणतन्त्रमा जानुमा नायकको भूमिकामा दाहाल रहे । जनयुद्धको अवतरण उनकै राजनीतिक एजेन्डा लागू गर्ने सहमतिमा भएको थियो । देश संघीयता, धर्म निरपेक्षता र गणतन्त्रात्मक व्यवस्थामा गयो । बृहत् शान्ति सम्झौतापछि संविधानसभाको निर्वाचन भयो । दुईपटक संविधानसभाको निर्वाचन हुँदासम्म गणतन्त्र, संघीयता र धर्म निरपेक्षतासहितको संविधान कार्यान्वयनमा शंका उपशंका जन्मिएको थियो । तर, दलहरूको सुझबुझ र नेताहरूको परिपक्व निर्णयले तीन तहको निर्वाचन सम्पन्न भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन भयो । यसमा पनि दाहालले नायकको भूमिका निभाएका थिए । आफूभन्दा भिन्न विचारको दलका नेतासँग समेत दाहालले सामिप्य कायम गरी साथसाथै हिँडे । उनले कुनै बेला दुस्मन मानेका गिरिजाप्रसाद कोइरालासँग हातेमालो गरे त कहिले आफ्नै टाउकाको मूल्य तोक्ने शेरबहादुर देउवासँग मिलेर सरकार बनाए । दाहाल लचक र रोचक निर्णय लिने नेता हुन् भन्ने तथ्य यसबाट थाहा हुन्छ । संविधान जारी गर्ने ऐतिहासिक क्षणमा समेत दाहालले दरिलो अडान लिएका थिए ।

संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र संसद् गरी तीन तहको निर्वाचन सफल बनाउन दाहालले दुनियाँलाई चकित पार्ने फड्को मारे । उनले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने निर्णय गरेका थिए । निर्वाचनको सुरुवात उनको प्रधानमन्त्रीकालमा भयो । उनकै समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेर बाँकी निर्वाचन सम्पन्न गरेका थिए । निर्वाचन सम्पन्न नहुँदै दाहालले फड्को मारेर केपी शर्मा ओलीसँग हातेमालो गरे । कुनै बेला आफ्ना कटु आलोचक ओलीसँग उनको हातेमालोले धेरैलाई चकित बनायो । दाहाल र ओली कम्युनिस्ट पृष्ठभूमिका भए पनि दुई किराना जस्तै थिए । चुनावी गठबन्धन हुँदै दाहाल कम्युनिस्ट पार्टी एकीकरणको निर्णयमा पुगे । जसलाई कार्यान्वयनमा पु¥याइछाडे ।

नेपालमा गणतन्त्रात्मक व्यवस्थाको घटनाक्रमको शल्यक्रिया गर्ने हो भने मुलुक दाहालकै राजनीतिक एजेन्डामा बढिरहेको छ । गिरिजाप्रसाद कोइरालाले पनि आफूपछि नेपाललाई हाँक्न सक्ने क्षमता भएको नेताका रूपमा दाहाललाई देखाएर गएका थिए । यो कार्यभारलाई दाहालले कसरी वहन गर्नेछन्, भविष्य देखाउँदै लानेछ ।

ओलीको संयमित भूमिका

मुलुकलाई गणतन्त्रमा पु¥याउन राजनीतिक घटनाक्रमले जुन योगदान दियो, त्यसमा राजनीतिक नेतृत्वले समेत योगदान दियो । १२ बुँदे सम्झौताले राजालाई ठूलो झड्का दियो । माओवादीसँग हातेमालो गरेर जाने राजाको रणनीति असफल भएको थियो ।
माओवादीभित्र दरबारसँग मिलेर जानुपर्छ भन्ने पक्षधरसमेत पाखा लागे । १२ बुँदे सम्झौताका लागि एमालेभित्र माधवकुमार नेपाल, वामदेव गौतमलगायतले महŒवपूर्ण भूमिका खेलेका थिए । नेपाली कांग्रेसभित्र कृष्णप्रसाद सिटौला र डा. शेखर कोइराला मुख्य भूमिकामा देखिए । दुवैलाई गिरिजाप्रसाद कोइरालाले गम्भीर जिम्मेवारी दिएका थिए । बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुनलगायतले पनि महŒवपूर्ण भूमिका खेलेका थिए । सम्झौताले जनआन्दोलनलाई अझ बलियो ऊर्जा दिन सक्यो । राजाले घुँडा टेक्ने वातावरण बन्यो । राजतन्त्रमाथि खतरा पर्ने माहोल बनिसकेकाले राजा जनतासँग जुध्नभन्दा झुक्ने टुंगोमा पुगे । जनआन्दोलनको सुनामीले निरंकुशता खत्तम पा¥यो । राजसंस्थाको समेत दिनगन्ती सुरु भयो । गणतन्त्रमा मुलुकलाई लान लहड र हतारमा नभई संयमता र सुझबुझका साथ बढ्नुपर्ने पक्षमा केपी शर्मा ओली थिए । त्यसैले उनले बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्दै गणतन्त्रमा जान त्यसअनुरूपको अधार तयार गर्नुपर्नेमा जोड दिएका थिए ।

राजतन्त्र हटाउँदै गर्दा अर्को तानाशाह जन्मन सक्ने खतरा देखेर ओली विवेकसंगत तरिकाले बढ्नुपर्ने अडान लिन्थे । हिंसाको बाटो र उग्र बाटोबाट देशलाई हानि मात्र पुग्ने बुझाइका आधारमा शान्तिपूर्ण र संयम तरिका अपनाउनुपर्नेमा जोड दिन्थे । ओलीको परिपक्व नेतृत्व शैलीले जनआन्दोलनको सफलता, गणतन्त्र नेपाल निर्माण र संविधानसभा हुँदै संविधान जारी र संविधान कार्यान्वयनमा योगदान पुग्यो । उनी हिंसाविरोधी थिए र शान्तिका पक्षधरसँग हातेमालो गरेर बढ्न चाहँदा रहेछन् भन्ने तथ्य भिन्न विचारका सँग पनि हातेमालो गर्ने शैलीबाट थाहा हुन्छ । ओलीको गिरिजाप्रसाद कोइरालासँग सबैभन्दा निकटता थियो । कोइरालाले समेत ओलीसँग सल्लाह लिएर कदम चाल्थे । जनआन्दोलनका समयमा होस् या त्यसपछिको कठिन अवस्थामा किन नहोस्, कोइरालासँग सरसल्लाह गरेर काम गरे । ओलीले संविधानको कार्यान्वयनको अवस्थामा आइपुग्दा दाहालसँग हातेमालो गरे । उनले राजनेतामा हुने गुण देखाएर आलोचकहरूलाई चुप लगाए । आवश्यक पर्दा जुध्ने र मिल्ने दुवै गर्न सक्ने ओलीको खुबीका कारण देशमा गणतन्त्र ल्याउन र यसमाथिको खतरालाई असफल पार्न भूमिका खेल्यो । ओली यसकारण पनि गणतन्त्र नेपाल निर्माणका नायक हुन् ।

अबको अपेक्षा

देश गणतन्त्रमा गएपछि जनताको आशा र आकांक्षा ह्वात्तै बढेका छन् । सधैं राजनीतिक एजेन्डामा रुमल्लिँदा देशले विकासको गति लिन सकेको छैन । राजनीतिक प्रणाली बदलिँदैमा देश बदलिँदैन, कार्यान्वयन गतिलो हुनुपर्छ । तब मात्र देशको मुहार फेरिन्छ । जनताले सुशासन, शान्ति, सुव्यवस्था र विकास चाहेका छन् । गणतन्त्र नेपाल निर्माणको एक दशकपछि देशले एउटै दलको बहुमत प्राप्त सरकार पाएको छ । वामपन्थी दलहरू नेकपा एमाले र एकीकृत माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेको छ ।

इतिहासकै शक्तिशाली सरकारका रूपमा अहिलेको सरकारलाई लिइएको छ । यसलाई दुई तिहाइको समर्थन प्राप्त छ । अब राजनीतिक विषयमा अलमलिनुपर्ने खासै कारण छैनन् । देशलाई समृद्धिको दिशामा द्रुत गतिमा बढाउने आधारहरू तयार भएका छन् । यो मौकालाई केपी शर्मा ओली नेतृत्वको सरकारले चुकाउनुहुन्न । जसरी गणतन्त्र ल्याउने कठिन चुनौतीलाई नेताहरूले पार लगाए, त्यसरी समृद्धिको चुनौतीपूर्ण बाटोमा अगाडि बढ्न सक्नुपर्छ । गणतन्त्र नेपाल निर्माणमा नायक बनेका दाहालको साथ ओलीलाई छ । एउटै दल बनाएर अध्यक्ष बनेका दुवै नेताको हातेमालोले देशले अभूतपूर्व सफलता हासिल गर्न सक्नुपर्छ ।

ओलीको निडर स्वभाव र दाहालको रणनीतिक चार्तुयमा देशले विकासका क्षेत्रमा काँचुली फेर्न सक्छ । यसका लागि भर्खरै सरकारमा सहभागी भएका उपेन्द्र यादव मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मधेसकेन्द्रित दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादवको समेत साथ र सहयोग लिन सक्ने वातावरण बनाउनुपर्छ ।

नेपाली जनताले सहमति, सहकार्य र एकताबाट देश समृद्ध होस् भन्ने चाहना राखेका छन् । गणतन्त्र नेपाल निर्माणका नायकबाट समृद्ध नेपालको अभियानको नायकत्व रहोस् भन्ने अपेक्षा सिंगो देशको छ । यसका लागि नेताहरूले गणतन्त्र ल्याउँदाको जस्तो निर्णय क्षमता देखाउन सक्नुपर्छ ।

जनताले जुन आशा र भरोसाका साथ गणतन्त्र नेपाल निर्माणमा साथ दिएका थिए, त्यसलाई बुझेर जिम्मेवार रूपमा प्रस्तुत भई काम गर्नु नेतृत्वको आजको दायित्व हो । यसो भएमा समृद्ध नेपाल र सुखी नेपाली अभियान साकार हुन सक्छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...