ट्रेड युनियन कांग्रेसको अध्यक्षका दाबेदारबीच यस्तो छ आरोप प्रत्यारोप

जेठ ३०, काठमाण्डौ । नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि सुरु भएको छ ।

ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । हिजाको उद्घाटन सत्रमा सबै शीर्ष नेताहरु उपस्थित थिए भने अहिले नेताहरु आफ्नो गुटका लागि लबिङ गर्न आफैं महाधिवेशन स्थलमा व्यस्त थिए ।

देउवा समूहबाट वर्तमान अध्यक्ष खिलानाथ दाहाल उम्मेदवार छन् भने पौडेल समूहबाट वरिष्ठ नेता पुष्कर आचार्य छन् । आचार्यलाई कृष्ण सिटौला, अजुननरसिंह केसी लगायत देउवा विरोधी सबैको समर्थन रहेको छ ।

अध्यक्षका उम्मेदवार खिलानाथ दाहालले आफ्नो समुह कुनै नेता निकट नभएर मजदुरहरुको समुह भएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै दाहालले आफू कांग्रेसका सबै नेताहरुसँग नजिक रहेकाले कुनै एक नेतासँग मात्र निकट भन्न नमिल्ने बताए ।

आफूले अध्यक्ष हुँदा मजदुरहरुको हक हितका लागि धेरै काम गरेको दाबी गर्दै दाहालले यसपटक पनि आफू विजयी हुने दाबी गरे ।

यता अध्यक्षका अर्का उम्मेदवार पुष्कर आचार्यले वर्तमान अध्यक्ष दाहालले के कति काम गरे भन्ने कुरा मतदाताले मूल्याङ्कन गर्ने र सोही अनुसार मतदान गर्ने बताए ।

दाहालले राम्रो काम गरिदिएको भए आफू अध्यक्षमा अघि नसर्ने बताउँदै आचार्यले दाहालले अध्यक्ष हुँदा प्रभावकारी काम गर्न नसकेको आरोप लगाए ।

“जसरी संगठन चलाउनुपथ्र्यो चलेन, अन्तराष्ट्रियस्तरमा साख गिरेको छ । आन्दोलन कमजोर भएको छ ।” आचार्यले भने ।

तर दाहालले भने आचार्यको आरोपको खण्डन गरे । आफू अध्यक्ष भएपछि धेरै योजना अघि सारेर काम गरेको दाहालले जिकिर गरे ।
चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ ।

वर्तमान उपाध्यक्ष रमा पौडेलले उम्मेदवार दिए पनि दुई समूहबीच नै कडा प्रतिस्पर्धा हुने देखिएकोे छ । दुवै जनाले आफ्नो समूह घोषणा गरिसकेका छन् ।

दाहाल समूहबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्ष (खुला) बमबहादुर डिसी, डिपी अर्याल, उपाध्यक्ष (महिला) कल्पना अधिकारी, उपाध्यक्ष (सेवा) शंकर लामिछाने, उपाध्यक्ष (उत्पादन) युवराज लामा, उपाध्यक्ष (अनौपचारिक) नूर महम्मद रैन रहेका छन् ।

यसैगरी महासचिव सञ्जय मिश्र, उपमहासचिव (खुला) जनार्दन निरौला, काजीमान श्रेष्ठ, उपमहासचिव (महिला) कमला लामिछाने, उपमहासचिव (सेवा) रञ्जन थापा, उपमहासचिव (उत्पादन) धीरेन्द्र सिंह, उपमहासचिव (अनौपचारिक) आत्माराम पौडेल, कोषाध्यक्ष रिसभ घिमिरे र सहकोषाध्यक्षमा ताराकुमारी राई छन् ।

आचार्य समूहबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की, अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललितबहादुर श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशा सिंह राठौर छन् ।

यसैगरी महासचिव योगेन्द्रकुमार कुँवर, उपमहासचिव (खुल्ला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (उत्पादन) ईश्वर परियार, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरेले उम्मेदवारी दिने तयारीमा रहेका छन् ।


Loading...
Loading...

धेरैले पढेको

Loading...