साढे ३३ केजी सुन तस्करी प्रकरण : बाजेको सेकुवाका ६ ब्रान्च सिल

काठमाडौं ३१ जेठ ।
साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्यासँगै जोडिएका ‘चेन रेस्टुरेन्ट’ बाजेको सेकुवाका ६ वटा ‘सेल्स काउन्टर’मा सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिले सिलबन्दी गरेको छ । संगठित अपराधबाट आर्जन गरेको सम्पत्ति रेस्टुरेन्टमा प्रयोग गरेको अभियोगमा समितिले काठमाडौंका विभिन्न ६ स्थानमा सञ्चालित ‘सेल्स काउन्टर’मा सिलबन्दी गरेको हो ।

समितिका अनुसार बुधबार अनामनगर, सोह्रखुट्टे, एयरपोर्ट, कमपोखरी, सामाखुसी र गैरीधारामा सञ्चालित चेन रेस्टुरेन्टमा छापा मारिएको छ । संगठित अपराध निवारण ऐन ०७० को दफा ५१ अनुसार अदालतको अनुमतिमा समितिले अभियुक्तको सम्पत्ति रोक्का गर्न सक्छ । कसुर प्रमाणित भए रोक्का गरिएको सम्पत्ति जफत हुन सक्छ ।

गोरे र गुरुङको सम्पत्ति पनि रोक्का गरिने
समितिले अब तस्करका मुख्य नाइके भनिने चुडामणि उप्रेती ‘गोरे’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङको सम्पत्ति पनि रोक्का गर्नेछ । यसका लागि समितिले अदालतबाट अनुमति लिइसकेको छ । उप्रेतीको काठमाडौंको गौरीघाटमा निजी निवास छ । त्यसबाहेक मोरङको उर्लाबारीमा पनि उनको सम्पत्ति छ । त्यस्तै, गुरुङको ठमेलमा होटेल छ ।

अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार गोरे र गुरुङको सम्पत्ति खोजबिन गरी रोक्का गर्ने अनुमति अदालतले दिइसकेको बताए । उनले भने, ‘गोरे र गुरुङको सम्पत्ति रोक्का गर्ने अनुमति अदालतले दिइसकेको छ । अब हामी उनी र उनीहरूका आफन्तको नाममा रहेको सम्पत्ति खोज्छौँ ।’

अरूको पनि सम्पत्ति खोजिने
साँढे ३३ केजी सुन र शाक्य हत्या अभियोगमा समितिले ७० अभियुक्तविरुद्ध हत्या तथा संगठित अपराध मुद्दा चलाएको छ । समितिले अहिलेसम्म आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रमान श्रेष्ठ, बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी, गोरे र गुरुङको मात्रै सम्पत्ति खोजबिन गरी सिलबन्दी गर्ने अनुमति अदालतबाट लिएको छ । बाँकी अभियुक्तको भने बैंक खाता मात्रै रोक्का गरिएको छ ।
समितिका एक अनुसन्धान अधिकृतले भने,‘अहिले मुख्य अभियुक्तको सम्पत्ति खोजबिन गर्ने र त्यसलाई सिलबन्दी गर्न अदालतबाट अनुमति लिइएको छ ।

यस्तो छ कानुन
संगठित अपराध निवारण ऐन ०७० को दफा ५१ अनुसार संगठित अपराध गर्न प्रयोग भएको जुनसुकै उपकरण, वस्तु वा साधन जोसुकै व्यक्तिसँग रहेको भए पनि जफत हुनेछ । संगठित अपराध गरी प्राप्त गरेको सम्पत्ति कानुनी रूपमा प्राप्त गरेको सम्पत्तिमा मिसाइएको रहेछ भने त्यस्तो मिश्रित सम्पत्तिबाट सो सम्पत्ति छुट्याउन सकिनेरहेछ भने त्यसलाई छुट्याई जफत गरिनेछ र छुट्याउन नसकिने रहेछ भने त्यस्तो सम्पत्तिलाई रकममा रूपान्तरण गरी जफत गरिनेछ ।

आरके ज्वेलर्सको ३५ केजी सुन र एक सय केजी चाँदी जफत
छानबिन समितिले आरके ज्वेलर्सको काठमाडौंमा सञ्चालित तीनवटा सपिङ सेन्टरमा छापा मारेको छ । समितिका अनुसार न्युरोडस्थित ज्वेलर्सबाट मात्रै २८ केजी सुन जफत गरिएको छ । दरबारमार्गस्थित आरके डायमन्डसबाट कम्तीमा सात केजी सुन र नौ करोड रुपैयाँको हीरा जफत गरिएको छ । आरकेको तीनवटा सपिङ सेन्टरबाट एक सय केजी चाँदी जफत गरिएको छ ।

तस्करीमा संलग्न डिएसपीसहित चार निलम्बित
तस्करीमा संलग्न भएको अभियोगमा सशस्त्र प्रहरी बलका डिएसपीसहित चारजना निलम्बनमा परेका छन् । गाडीमा काठ राखी तस्कर गरेको पाइएपछि सशस्त्र प्रहरीले उनीहरूलाई निलम्बन गरेको हो । निलम्बन पर्नेमा सशस्त्र प्रहरी बल अरुण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी, सशस्त्र प्रहरी जवान विनोद कट्टेल र मिलनकुमार राई तथा गाडीका चालक सशस्त्र प्रहरी जवान दीपेन्द्रकुमार कर्माकार रहेका छन् । उनीहरूलाई सशस्त्र प्रहरी प्रधान कार्यलयले बुधबार निलम्बन गरी कारबाही प्रक्रिया सुरु गरेको हो ।

उनीहरूले यही जेठ २१ गते सो गुल्मको बा.१ ग १६६९ नम्बरको ट्रकमा अवैध रूपमा काठ राखेर धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटा जिल्लाको मूलघाट भन्ने ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस मूलघाट धनकुटाको एपिएफ टोलीले नियन्त्रणमा लिएको थियो ।
नयाँपत्रिकाबाट


Loading...
Loading...

धेरैले पढेको

Loading...