Logo

बागी उम्मेदवाहरुले नाम फिर्ता लिएनन् भने सम्बन्धित दलले कारबाही गर्छ : प्रदिप ज्ञवाली



अहिलेका लागि त चुनावी तालमेल नै हो । चुनाव सकिएपछि हामीभित्र रहेका वैचारिक प्रश्नहरुमाथि छलफल चलाउँछाँै ।

 

प्रदेश सभा र प्रतिनिधीसभाको चुनावलाइ लक्षित गरी गठबन्धन गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनाव पछि पार्टी एकता नै गर्नै लक्ष्य लिएका छन् । तर दुई दलबिचको वैचारिक भिन्नता र नेताहरु व्यवस्थापनदेखि कार्यकर्ता मिलाउनेसम्मका कामलाई व्यवस्थित गर्न चुनौति देखिएको छ । अर्कोतिर दुई दलबिच चुनावी तालेमल गरिएको कतिपय ठाउँमा बागी उम्मेदवार देखिएका छन् । यि समस्यालाई दुई दलको नेतृत्व पंक्तिले कसरी व्यवस्थापन गर्छ त ? यही विषयमा एमालेका नेता प्रदिप ज्ञवालीसँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

वाम गठबन्धनभित्र बागी उम्मेदवार धेरै देखिए । तपाईहरुले व्यवस्थापन गर्न नसक्नुभएको हो ?
एकछिनको असन्तुष्टी हो । नाम फिर्ता लिने बेलासम्म साम्य हुन्छ । वाम तालमेल अनुसार सबै ठाउँमा तालमेल हुन्छ । अहिले कम्युनिकेशन ग्याप र सामान्य असन्तुष्टीले बागी उम्मेदवार देखिएका हुन् । ति उम्मेदवारी फिर्ता हुन्छन् ।

कतिपय ठाउँमा एमालेकै विरुद्धमा पनि माओवादी केन्द्रका नेताले उम्मेदवारी दिएका छन् नि ?
त्यस्ता सबै उम्मेदवारले नाम फिर्ता लिन्छन् । गठबन्धनले गरेको निर्णय पूर्ण कार्यान्वयन हुन्छन् ।

बागी उम्मेदवार दिनुको कारण के होला ?
माओवादाको हकमा त हामीले केही भन्न सक्दैनौँ । तर कहीँ कतै सुचनाको अभावमा बागी दिइएको छ । कतिपयलाई आकांक्षा पनि होला । सबैले बुझ्नुपर्ने कुरा के हो भने कुनै व्यक्तिले टिकट पाउँछ कि पाउँदैन, संसद बन्छ कि बन्दैन भन्ने कुरा भन्दा पनि देशले स्थायित्व पाउँछ कि पाउँछ कि पाउँदैन, वामपन्थीहरुले बहुमत पाउँछन् कि पाउँदैनन् भन्ने कुरा प्रमुख हो । यो भावनालाई बुझेर सबै बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुपर्छ । यति हुँदा हुँदै पनि बागी उम्मेदवाहरुले उम्मेदवारी फिर्ता लिएनन् भने सम्बन्धित दलले कारबाही गर्छन् ।

बागी उम्मेदवारले नाम फिर्ता लिन मानेनन् भने कारबाही गर्नुहुन्छ ?
स्वभाविक रुपले कारबाही हुन्छ । यसमा कुनै सन्देह नै छैन । कुनै व्यक्ति वा कमिटीले नमाने पनि कारबाहीको भागिदार हुनुपर्छ ।

नेताहरुले भनेका कुरा गठबन्धनभित्रका कार्यकर्ताले मान्छन् ?
नमान्ने कुरै भएन नि । यो त आम जनताको चाहना र कार्यकर्ताको सुझाब अन्तरगत बनेको गठबन्धन हो । त्यसो भएकाले ९५ प्रतिशत कार्यकर्ता उत्साहित छन् । कतिपय ठाउँमा टिकट पाउनैपर्ने साथीहरुले टिकट नपाएर व्यक्तिगत रुपमा अन्याय पनि भयो होला । त्यसको गुनासो एकछिनका लागि प्रकट भएको होला । मलाई लाग्छ त्यो गुनासोलाई राष्ट्रहितको पक्षमा हुने गरी समझदारी देखाउनुहुनेछ । तर देशको हित विपरित सोचेर स्वार्थतिर लागेको खण्डमा कारबाही हुन्छ ।

तर तपाईहरुले कार्यकर्ताको चाहनाविपरित निर्णय लाद्न मिल्छ ?
तालमेल नगरेकै बेलामा पनि एउटै पार्टीभित्र त असन्तुष्टी देखिन्छ । उम्मेदवारका सबै आकांक्षीलाई टिकट दिन सकिदैन । अहिलेको गठबन्धनभित्र असन्तुष्टी देखिए पनि त्यसलाई व्यवस्थापन गरिन्छ ।

माओवादीका नेताहरुलाई एमालेका कार्यकर्ताले सजिलै मतदान गर्लान र ?
नगर्ने प्रश्न नै हुँदैन ।

दुई दलका कार्यकर्ताबिचमा द्धन्द्ध र विवाद त छ नि ?
हिजोको दिनमा विवाद, तिक्तता र एकले अर्कालाई निषेध गर्ने प्रवृत्ति नै थियो । एकले अर्कालाई समाप्तै पार्नेसम्मका कुरा भएका हुन् । तर इतिहास सधैँ सोझो रेखामा अगाडि बढ्दैन र इतिहासका घाउलाई अहिले कोट्याएर पनि हुँदैन । विगतका घाउहरु मेटाएर अगाडि बढ्नुपर्छ । नेकपा एमालेले भविष्य हेरेर अगाडि बढ्ने निर्णय गरेको हो । हाम्रो पार्टीको तर्फबाट गठबन्धनको निर्णय पूर्ण रुपमा पालना हुन्छ ।

केपी ओली र प्रचण्डको मन मिल्दैमा कार्यकर्ता मिल्न सक्छन् त ?
पहिलो कुरा त ओली र प्रचण्डको मात्र मन मिलेको होइन । वामपन्थी गठबन्धन देशको आवश्यकता अनुसार बनेको हो । मन पहिले पनि उहाँहरुको मिलेकै थियो । अचानक प्रचण्डले केपी ओली नेतृत्वको सरकारबाट हट्ने निर्णय गर्नुभयो । त्यसैले नेताहरुको मनको कुरा मात्र होइन, ऐतिहासिक आवश्यकताको कुरा हो । वामपन्थी जनमता अत्याधिक धेरै हुँदा हुँदै पनि वाम दलहरु विभाजित हुँदा अरुले फाइदा उठाइरहेका छन् । भाइ फुटे गवार लेटे भनेजस्तो भइरहेको छ । वामपन्थीहरु एक हुन नसक्दा देश विकास हुन सकेन । त्यसैले यसको दोष वामपन्थीलाई पनि छ । अब चाँही संकल्पका साथ देशको हितलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्नुपर्छ ।

तपाईहरुको गठबन्धन आगामी चुनावका लागि मात्रै हो कि दीर्घकालिन हो ?
दीर्घकालिन हो ।

प्रचण्डले त चुनावी तालमेल मात्रै हो भन्नुभएको छ नि ?
खै उहाँले के भन्नुभयो ? तपाईसँग धेरै राम्रो सम्बन्ध पनि छ । तर हामीले हेर्ने भनेको त लिखित दस्ताबेज नै हो । बैठकमा भएका छलफलहरु हेर्ने हो । अहिलेका लागि त चुनावी तालमेल नै हो । तर चुनाव सकिएपछि हामीभित्र रहेका वैचारिक प्रश्नहरुमाथि गम्भीर छलफल चलाउँछाँै । पार्टी एकताका लागि सबैभन्दा पहिलो वैचारिक एकता जरुरी हुन्छ । हामी विचारमा एकरुपता कायम गर्ने प्रयत्न गछौँ । त्यसपछि संगठनात्मक एकता र नेताहरुको व्यवस्थापनको कुरा आउँछ । एकताको लागि पर्याप्त समय चाहिने भएकाले अहिले एकताको लक्ष्यलाई केन्द्रविन्दुमा राखेर चुनावी तालमेल गरेका हौँ ।

चुनावी तालमेल सार्थक भएन भने पार्टी एकता नहुन सक्छ ?
पार्टी एकता हुन्छ । काल्पनिक प्रश्न किन गर्ने ? धेरै मान्छेलाई लागेको थियो, सिट बाँडफाँट कसरी गर्छन् भन्ने । तर हामीले व्यवस्थित ढंगले सिट बाँडफाँट गरेका छौँ । एकाध ठाउँमा मात्रै समस्या देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्