Logo

गौरीशंकर जोगियोस्, पर्यटक ल्याउन पाइयोस्-उत्तरी दोलखाली



रमेश लम्साल : दोलखा, ७ मंसिर : शिशिर ऋतुको आगमनसँगै गौरीशंकरको शिरमा हिँउको मात्रा बढ्न थालेको छ । तामाकोशीे हिउँ बोकेर बगेजस्तै कञ्चन देखिएको छ । बारीमा कोदो लटरलम्म झुलेकोे छ । यहाँका स्थानीयवासी अहिले कोदो टिप्ने तयारीमा छन् ।

मौसमले चिसो बढाउँदै लगे पनि दोलखाको उत्तरी भेगमा निर्वाचनको तातो भने बढिरहेको छ । निर्वाचनप्रति नागरिकको चासो बढेको छ । कुन उम्मेदवार विजयी होलान्, कसले नयाँ इतिहास रच्ला भन्ने अनुमान पनि उत्तिकै छ । नागरिकका ठूला सपना छैनन्, नेताले सबै काम गरिदेलान् भन्ने तिनका अपेक्षा पनि छैन ।

“गौरीशंकरले नै हामी उत्तरी दोलखावासीलाई खान दिएको छ, नाम दिएको छ, पहिचान पनि दिएको छ,” उनीहरु भन्छन् । उनीहरुको एउटै मात्र चिन्ता छ, धेरै पर्यटक गौरीशंकर हेर्न आउँलान् कि नआउँलान् । गाउँका धेरैजसो युवा पर्यटन क्षेत्रमा काम गर्छन्, त्यही गौरीशंकरमा पर्यटक ल्याउँछन् र आफ्नो रोजीरोटी गर्छन् । साँझ–बिहानको चुल्हो बाल्ने उनीहरुका सपना त्यही तामाकोशी र गौरीशंकरले पूरा गरिदिएको छ ।

नेपालको प्रामाणिक समयको मापन गर्ने हिमाल पनि त्यही हो भन्ने धेरैलाई थाहा छैन तर जति थाहा छ, त्यतिमा सन्तुष्ट छन् उनीहरु । प्राकृतिक सम्पदा जोगियोस्, बोटबिरुवा फैलिऊन्, तामाकोशीको चिसो पानी नधमिलियोस्, उभाएर पिउन पाइयोस् भन्नुहुन्छ, स्थानीयवासी लोप्साङ शेर्पा ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उज्यालो बत्ती देला भन्नेमा उनीहरु विश्वस्त छन् । स्थानीय लामाबगरमा बनिरहेको राष्ट्रिय गौरवको आयोजनाको निर्माण सामग्री बोेकर दौडिएका ट्रकले धुलो उडाएकामा समेत दुःखी हुने मानिस छन् त्यहाँ । किनकि धुलो र धुवाँले मानवीय स्वास्थ्य मात्रै होइन, सेतो हिमाललाई पनि दुःख दिन्छ भन्ने उनीहरुलाई थाहा छ । तर बिजुली बाल्न पाइन्छ भन्ने सपना सँगालेर उनीहरु हेरिरहन्छन् सिमेन्ट, छड बोकेर दौडिएका ट्रकहरु ।

गत वैशाख ३१ गते स्थानीय तह निर्वाचनमा मत दिएका स्थानीयवासी पुनः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत माग्न आएका उम्मेदवारसँग आफ्नै स्रोत र साधन जोगाइदिन आग्रह गरिरहेका छन् । अन्यत्र विकास माग्छन्, पानीका धारा, सडक, बत्ती पनि माग्छन्, रोजगारी, स्वास्थ्य र शिक्षाको सुविधा होस् भन्छन् तर लामाबगरका मतदाता भने आफ्नो ठाउँको विकास गरिदिनु भन्नु भन्दा पनि एक स्वरले गौरीशंकर जोगियोस् भन्छन् ।

“उम्मेदवारलाई बत्ती चाहियो भन्नै पर्दैन किनकि देशकै ठूलो आयोजना आँखाअगाडि बनिरहेको छ, रोजगारी हिमालले दिएको छ, थोरै असुविधा भनेको स्वाथ्यचौकी न हो, त्यो पनि निर्माण हुने क्रममा छ, धेरैले रोजगारी पर्यटन क्षेत्रबाट पाएकै छन्,” लामाबगर–३ का पेम्बा छिरिङ शेर्पा भन्नुहुन्छ, “अपेक्षा त धेरै होला नि मत माग्न आउने उम्मेदवारसँग । तर हाम्रा लागि ठूलो अपेक्षाको पोको छैन । हामीलाई देश समृद्ध भएको हेर्न मन छ ।”

आफूलाई मत दिन आग्रह गर्दै चुनावी प्रचारमा आएका उम्मेदवार पनि तामाकोशीको डिलमा उभिएर सेल्फी खिच्छन् । गौरीशंकर फोटोको फ्रेममा आउनै पर्छ । ‘तासीदेले आमा’ ‘नमस्कार है बा’ यस्तो सुन्न थालेको एक महिना जति भयो । हिमालको नजिकमा बस्नेको मन सफा छ, तातो चिया पिलाउँछन् । सकेको सत्कार गर्छन् । उम्मेदवारले पनि लौ है आमा एक भोट मलाई र मेरो पार्टीलाई भनेर अनुनय गरिरहेको भेटिन्छ । गाउँका घरघरमा विभिन्न पार्टीका झण्डा गाडिएका छन् । पोस्टर पनि टाँसिएका छन् । “राम्रै निर्वाचन लागेको छ,” नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभाका उम्मेदवार विशाल खड्काले भन्नुभयो ।

“मलाई त खुशी पो लाग्छ त कहिल्यै नदेखिएका मानिस पनि आउँछन्, हाम्रो गाउँ ठाउँ हेरेर जान्छन्, आफूले देखेको ठाउँका बारेमा परिवारलाई भन्छन्, साथी भाइलाई भन्छन्, उनीहरु फेरि पनि आउँछन्” – लामाबगरका सोनाम छिरिङले भन्नुभयो । उत्तरी दोलखाका नागरिकको एउटै सपना छ, माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बनाइदिएको सडक उत्तरी छिमेकी देश चीनको सिमानासम्म पु¥याउने । लामाबगरबाट चीनको सिमानासम्म पुग्ने सडकको दूरी आठ किलोमिटर मात्रै छ । परम्परागत बाटो घुमाउरो छ, पहाड छिचोल्नु पर्छ । घना जंगल छ, भालुको डर पनि उस्तै छ ।

“नदीको किनारै किनार सडक बनाउन पाए कति जाती हुन्थ्यो होला है,” गौरीशंकरका लाक्पा शेर्पाले भन्नुभयो – “यही भन्यौ हामीले त उम्मेदवारलाई । लौ यो सपना पूरा हुने भयो भनेका छन् सबैले ।” लामाबगरमा भेटिनुभएका लाक्पा खुशी देखिनुभयो । चिसो बढेसँगै मतदाता कम होलान् कि भन्ने चिन्ता पनि छ उम्मेदवारलाई । लामाबगरमा भेटिनु भएका बिगु गाउँपालिकाका प्रमुख युधिष्ठिर खड्का पहिले पहिले जस्तो चुनावी रौनक नभएको बताउनुहुन्छ । “निर्वाचन कार्यक्रममा जनताको सहभागिता कम छ, खेती भित्र्याउने समय पनि छ, तर मतदानको दिन भने मत दिन आउँछन्” – उहाँले भन्नुभयो ।

तामाकोशी जलविद्युत् आयोजनाले दोलखामा विकासको गति बढाएको छ । उत्तरी दोलखा जोड्ने कच्ची नै सही सडक बनेको छ । गाउँलेले रोजगारी पाएका छन् । तामाकोशी नदीमा एक दर्जन भन्दा बढी जलविद्युत् आयोजना बन्छन् र दोलखालीका सुखका दिन आउँछ भन्नेमा आशावादी छन् स्थानीयवासी । ती मध्येका एक हुनुहुन्छ, भैरव गुरुङ । लामाबगरमा लावालस्करसहित मत माग्न पुग्नुभएका नेकपा ९एमाले०का नेता एवम् दोलखाबाट प्रदेशसभाका उम्मेदवार पशुपति चौलागार्इं उत्तरी दोलखाका जनताले प्राकृतिक स्रोतसाधनको सुरक्षा र तिनको संवद्र्धनमा नै चासो राखेको बताउनुहुन्छ ।

नेपाली काँग्रेसका तर्फबाट प्रदेशसभाका उम्मेदवार बर्मा लामालाई स्थानीयवासीले उठाएका माग सम्बोधन गर्न सकिन्छ भन्ने विश्वास रहेछ । “मतदाताको सफा मन जस्तै हामी उम्मेदवारले पनि तिनको भावनालाई सम्बोधन गर्नुपर्छ,” लामाले भन्नुभयो । दोलखाको भीमेश्वर मुलुकभर प्रख्यात छ । ‘हाइड्रो हव’का रुपमा पछिल्लो समय दोलखा विकास हुँदै गएको छ । प्राकृतिक स्रोत र साधनमा पनि उत्तिकै धनी छ । मात्रै राजनीतिक सुझबुझ सहितको नेतृत्व खोजेका छन् मतदाताले । कालिञ्चोक–३ का मदन ओली भन्नुहुन्छ, “सुख, दुःखमा साथ दिने नेता खोजेका हौँ हामीले । अरू केही अपेक्षा छैन ।”

प्रतिनिधिसभाका वाम गठन्धनका उम्मेदवार पार्वत गुरुङ जिल्लामा पर्यटन क्षेत्रको विकास, जलविद्युत् तथा अन्य भौतिक पूर्वाधारको विकासका लागि आफू र आफ्नो गठबन्धन नै आवश्यक रहेको बताउनुहुन्छ । “हामीले धेरै ठूला र नसकिने कुरा गरेका छैनौँ, जति सकिन्छ त्यति भनेका छौँ,” उहाँले भन्नुभयो – “दोलखालाई जलविद्युत् तथा पर्यटनको केन्द्र बनाउने हाम्रो सपना छ, त्यो हामी पूरा गर्छौं ।”

काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रुद्रबहादुर खड्काको धारणा पनि गुरुङको भन्दा फरक छैन । उहाँ भन्नुहुन्छ, “दोलखा प्राकृतिक स्रोतकै कारण विकासको आधारभूमि बन्न सक्छ, त्यसैका लागि हो मेरो उम्मेदवारी ।” गत स्थानीय तहको निर्वाचनमा काँग्रेसले जिल्लाभर २७ हजार ५७५ मत प्राप्त गरेको थियो भने एमालेले ३९ हजार ३३७, माओवादी केन्द्रले १६ हजार ३५० र राप्रपाले एक हजार ११४ मत प्राप्त गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्