Logo

दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय, गणेश लामाले पाए सफाई



२ माघ, काठमाडौं । सर्वोच्च अदालतले गुण्डा नाइके दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको छ । सर्वोच्चले ज्यान मुद्दामा मनाङ्गेलाई सजाय सुनाएको हो । अर्का गुण्डा नाइके गणेश लामासहित चार जनाले भने सफाइ पाएका छन् ।

डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । तर, सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् ।

दीपक मनाङ्गेको समूहमाथि ०६१ सालमा मिलन चक्रेलाई तरबार हानेको मुद्दा परेको थियो । जिल्ला अदालत काठमाडौंले मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत गएको थियो । अदालतले यसलाई ज्यानमुद्दा भन्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

अरुलाई पनि जेल सजायको माग गर्दै सरकारी वकिलको कार्यालय सर्वोच्च गएको थियो । न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदनकै फैसलालाई सदर गरेको छ ।

सहन्यायाधिवक्ता संजीवराज रेग्मीले अनलाइनखबरसँग भने, ‘हामीले अरुको हकमा कैद सजाय माग गरेका थियौं तर, सर्वोच्चले तत्कालीन पुनरावेदनकै फैसला सदर गर्‍यो ।’

उनका अनुसार मनाङ्गेको तर्फबाट कुनै दाबी नै प्रस्तुत भएको थिएन र, यदि पुनरावेदनको समय सकिसकेको भए अब यो फैसला नै अन्तिम हुनेछ ।

जिल्ला अदालतले सुनाएको सजाय दीपक मनाङ्गेले भुक्तान गरेको बताइएको छ । त्यसो भएमा उनले बाँकी समय कैद भुक्तान गर्नु पर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्