Logo

प्रदेश राजधानीका लागि विरोधमा जनता, दाङ, धनकुटा र डोटी बन्द



३ माघ, काठमाण्डौ । प्रदेशको राजधानी आफ्नै क्षेत्रमा हुनुपर्ने माग गर्दै विरोधमा उत्रिएका जनता कडा रुपमा प्रस्तुत हुन थालेका छन् । सबैजसो प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयमा विवाद बढ्दै गएपछि केही प्रदेशका नागरिकले बन्द हड्तालजस्ता कार्यक्रम नै सुरु गरेका छन् ।

अहिले प्रदेश राजधानीका आकाङ्क्षी बढेका छन् । विभिन्न समूह गठन र दबाबमूलक कार्यक्रम गर्न थालेका छन् । अहिले दिनहुँ पत्रकार सम्मेलन, ज्ञापनपत्र बुझाउने, अन्तक्र्रिया, लबिङ र धर्ना दिने काम हुन थालेका छन् ।

नेपालको संविधानको धारा २८८ को उपधारा २ मा ‘यस संविधानबमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ’ भनिएको छ । सोही धाराको उपधारा ३ मा यसरी निर्णय नभएसम्म नेपाल सरकारले तोकेबमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुने व्यवस्था पनि गरिएको छ । संविधानबमोजिम प्रत्येक प्रदेशमा सेवा प्रवाहका लागि आवश्यक पर्ने विभिन्न कार्यालयको अतिरिक्त प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभाको सचिवालय र अन्य करिब सात मन्त्रालय हुनुपर्ने हुन्छ ।

प्रदेशसभा अधिवेशनका लागि सभाहल आवश्यक छ । यसकै आधारमा तत्कालका लागि सरकारले क्षेत्रीय कार्यालयका पूर्वाधारलाई उपयोग गर्नेगरी अध्ययन गरेको छ । प्रदेश १ को राजधानीका लागि धनकुटा, धरान, इटहरी, विराटनगर सुरुदेखिका प्रतिस्पर्धी हुन् । यिनै ठाउँमा सरकारले अध्ययनसमेत गरेको छ । अहिले इनरुवासमेत थपिएको छ ।

प्रदेश २ मा जनकपुर र वीरगञ्ज सरकारको पहिलो नजरमा परे पनि अहिले केन्द्र भागमा पर्ने कुनै अर्काे शहरको कुरा पनि उठ्न थालको छ । प्रदेश ३ भक्तपुर, ललितपुर, बनेपा, धुलिखेल, हेटौँडा, भरतपुरको दाबी छ भने पछिल्लोपटक नुवाकोटवासीले पनि माग गर्न थालेका छन् ।

प्रदेश ४ मा पोखरामा ठूलो विवाद देखिएको छैन । प्रदेश ५ को राजधानी दाङ बनाउन दाङवासी प्रदर्शनमा उत्रिसकेका छन् भने बुटवल, भैरहवाको दावी पनि छ । प्रदेश ६ का लागि सुर्खेतमा अध्ययन भएको छ भने जुम्लाले शीतकालीन राजधानीको माग उठाइरहेको छ ।

प्रदेश ७ को धनगढी, अत्तरिया, डडेलधुरा र डोटीको दिपायलमा राजधानीका माग गर्दै दबाब सिर्जना गर्नेतर्फ लागेका छन् ।
प्रदेश पाँचको राजधानी दाङलाई बनाउन माग गर्दै जिल्लाबासीले बुधबारदेखि अनिश्चितकालीन बन्द सुरु गरेका छन् । प्रदेश राजधानी बुटवललाई बनाउने संकेत पाएको भन्दै दाङबासीले आन्दोलन सुरु गरेका हुन् ।

गत पुस १९ देखि २४ गतेसम्म लगातार बन्द रहेर केही दिन खुलेको डोटी जिल्ला बुधबार फेरि बन्द भएको छ । प्रदेश नं. ७ को राजधानी दिपायल कायम गर्न माग गर्दै बुधबारदेखि फेरि बन्द आह्वान गरिएको हो ।

जारी आन्दोलनको बिषयमा थप छलफल गर्न मंगलबार अवेर बसेको आन्दोलन संयोजन समितिको बैठकले बुधबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बजार, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

प्रदेश नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले धनकुटा बजार र कोशी राजमार्गमा यातायात बन्द गराएका छन् ।

मंगलबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेका धनकुटाका आन्दोलनकारीले बुधबार बिहानैदेखि बन्द गरेका हुन् ।

प्रदेश नम्बर १ मा बिराटनगर, धनकुटा, इटहरी, प्रदेश नम्बर २मा जनकपुरर बीरगञ्ज, प्रदेश नम्बर ३ मा काभ्रे, चितवन, प्रदेश नम्बर ५ मा बुटवल, दाङ, कपिलवस्तु, र प्रदेश नम्बर ७ मा दिपायल, धनगढी लगायतका स्थानमा राजधानीको माग गर्दै प्रर्दशन हुन थालेपछि सरकार अप्ठ्यारोमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्