Logo

भक्तपुरमा व्यवसायीको हत्या, तीन जना पक्राउ



भक्तपुर, ३ माघ : भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको आज हत्या भएको छ ।

माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

आज बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको आशंका गरेको बताउँदै उहाँले मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको जानकारी दिनुभयो ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाको थप अनुसन्धान शुरु गरेको उहाँको भनाइ थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्