Logo

६ गते पक्राउ गरिएका मनोज पुनको नाटकीय इन्काउन्टर, इन्काउन्टरकै लागि पक्राउ घटना गुपचुप



फागुन ९, काठमाण्डौ । गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएको प्रहरीले दाबी गरेको छ । तर पुनसहित अर्का एकजनालाई नेपाल प्रहरीले गत ६ गते नै पक्राउ गरेको थियो ।

भारतको गोवास्थित एक कोठाबाट पक्राउ गरिएका पुन र उनका सहयोगि सोम आलेलाई प्रहरीले नेपाल ल्याएर नाटकीय इन्काउन्टर गरेको हो ।
इन्काउन्टर गर्नकै लागि प्रहरीले मनोज पुन पक्राउ परेको घटना गुपचुप राखेको थियो ।

आफू प्रत्यक्षदर्शीभएको दाबी गर्दै एक भारतीय नागरिकले ७ गते टेलिफोन गरेर मनोज पुन र सोम आलेलाई नेपाल प्रहरीले पक्राउ गरेको जानकारी दिएका थिए ।

मलेसियाबाट भारतको गोवा आइपुगेका पुनलाई ६ गते दिउँसो पौने बाह्र बजे नेपाल प्रहरीको एक टोलीले पक्राउ गरेको थियो ।
पुनकासाथमा अर्का व्यक्ति सोम आले पनि पक्राउ परेको प्रत्यक्षदर्शीले जानकारी दिएका थिए ।

सोही दिन नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेलाई यसबारे सोध्दा पक्राउ भए नभएको बारेमा पुष्टी भइनसकेको बताएका थिए ।
“खोजीको सूचिमा छ । पक्राउ गर्ने प्रयास पनि भइरहेको छ । तर अहिलेसम्म केन्द्रमा केही जानकारी आएको छैन ।” प्रवक्ता न्यौपानेले भनेका थिए ।

निरन्तर रुपमा ठूला अपराधिक घटना घटाएर दुःख दिएका पुनलाई मुद्दा चलाउनुभन्दा इन्काउन्टरको नाममा खतम पार्ने रणनीति प्रहरीले लिएको देखिन्छ ।

इन्काउन्टर गरिएको बारे जानकारी दिदै एसएसपी दीपक थापाले उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको बताएका छन् ।

सोक्रममा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएपछि पक्राउ गर्ने क्रममा प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा मारिएको थापाको दाबी छ ।

हत्यारा र गुण्डा नै भए पनि जानाजन मारिएको भन्दा मानवअधिकारको कुरा उठ्ने भएकाले प्रहरीले नाटकीय रुपमा पुन र आलेमाथि गोली चलाएको हुन सक्छ ।

घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको र त्यहीँ बुधबार बिहान मृत्यु भएको जानकारी दिइएको छ ।

कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । उनले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएका थिए । साथै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनकै संलग्नता रहेको बताइन्छ ।

जे होस् एउटा अपराधिक र समाजमा भय फैल्याउने व्यक्तिको अन्त्यले धरैलाई राहत दिएको छ ।



प्रतिक्रिया दिनुहोस्