Logo

दीपक मनाङेको नाममा जारी भयो रेडकर्नर नोटिस



काठमाडौँ, ४ चैत । गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङे अर्थात राजीव गुरुङका नाममा रेडकर्नर नोटिस जारी भएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको पहलमा अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० ले रेडकर्नर नोटिस जारी गरेको हो ।

प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्य समेत रहेका गुरुङ नेपाल प्रहरीको फरार सूचीमा छन् । उनी देशबाहिर रहेको सूचना पाएपछि प्रहरीले इन्टरपोलको सहयोग मागेको हो । गुरुङ अब इन्टरपोल सदस्य १ सय ९२ देशको प्रहरी खोजीमा छन् । इन्टरपोलले मुख्यालयले गएको साता रेडकर्नर नोटिसमा राखेको जानकारी नेपाललाई दिएको छ ।

यसअघि फेब्रुअरी २२ मा नेपालले गुरुङको नाममा रेडकर्नर नोटिस जारी गर्न भन्दै कागजपत्र पठाए पनि इन्टरपोल मुख्यालयले अस्विकार गरेको थियो । उनको नाममा रेडकर्नर नोटिस जारी गर्न पत्र पठाउनुअगावै इन्टरपोल मुख्यालयमा उजुरी परेका कारण प्रहरीको पत्रलाई वेवास्ता गरिएको थियो । तर, नेपाल प्रहरीले फेरि गुरुङको अदालत फैसला र विगतको पृष्ठभूमि पठाएपछि इन्टरपोल मुख्यालयले गत साता सदर गरेको हो ।

उनको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको खोजी गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली परिचालन गरेको छ ।

२०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भएको थियो ।

२०६१ सालमा ‘गुण्डा नाइके’ चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो । त्यही घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो ।

काठमाडौंको फैसलाबमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसलापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सजाय कम भएको दाबी गर्दै उनको समूहविरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाइ दिँदै मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।



प्रतिक्रिया दिनुहोस्