Logo

देउवा शक्तिशाली बन्दा कांग्रेस किन खुम्चिन्छ ?



काठमाडौं ६ चैत ।
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा जन्मिएका शेरबहादुर देउवा ७० काटेपछि मात्रै नेपाली कांग्रेसको सभापति भए । तर उनै देउवालाई नेपालको सबैभन्दा ठूलो कार्यकारी पद प्रधानमन्त्रीमा पुग्न भने भने ५० वर्ष पनि कुर्नुपरेन ।

बहुदल आगमनपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनबाट बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री जस्तो शक्तिशाली पद पाएपछि देउवाको सत्ता यात्रा त्यहीँबाट सुरु भयो ।

बिहे गरेपछि शक्तितिर

गृहमन्त्री हुँदा देउवाले विवाह समेत गरेका थिएनन् । उनले ४५ वर्षको उमेरमा राणा खानदानकी आरजु राणासँग विवाह गरे । त्यसपछि उनको निकटता दरबारसँग समेत भयो । गृहमन्त्रीको शक्तिले उनलाई दरबारसँग निकट हुन झनै सहयोग गर्‍यो ।

देउवानिकट पुराना एक नेता भन्छन्,‘बिहे गरेपछि देउवा व्यक्तिवादी र स्वार्थी भए । उनले आफूलाई डा. हरुले मलाई बिगारेको बताउँथे।’ डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, डा. नारायण खड्का र डा. आरजु देउवाप्रति संकेत गर्दै देउवाले गुनासो गर्ने गरेको ती नेता बताउँछन्।

डा. रिजाल बाहेक अहिले पनि सबै डाक्टर देउवासँगै छन् । कांग्रेसनिकट वरिष्ठ पत्रकार वेदप्रकाश त्रिपाठीले एउटा आलेखमा पत्नीका कारण देउवा बदनाम भएको टिप्पणी गरेका छन् ।

उनले लेखका छन्, ‘चुनाव हारेपछि दर्जनौँ राम्रा निर्णय गरेर पनि लोकप्रिय बन्नुको साटो आलोचनाको केन्द्र बन्ने नेताका रूपमा देउवालाई बिर्सन सकिँदैन । नेपालको इतिहासमा पत्नीलाई अघि लगाएर राज्यको साधन र स्रोतमा सर्वाधिक लामो हात गर्ने व्यक्ति शेरबहादुर देउवा भएका छन् । राजा वीरेन्द्रको शासनकाल (पञ्चायत) मा उनकी पत्नी ऐश्वर्य, बाबुरामको कार्यकालमा हिसिला र गिरिजाप्रसाद कोइरालाको समयमा सुपुत्री सुजाता आफ्नो क्रियाकलापका कारण जनस्तरमा बद्नाम थिए, त्यसभन्दा धेरै बद्नामी देउवा पत्नीले गरेकी छिन । राज्यका स्रोत साधनहरूको उच्चतम् दोहोन गर्न पत्नीलाई छोड्ने व्यक्तिका रूपमा पनि देउवालाई भविष्यसम्म स्मरण गरिरहनुपर्ने स्थिति छ ।’

कोइराला ढलेपछि देउवाको उदय

वि.सं. २०५१ सालमा कांग्रेसकै दुई सांसदले असहयोग गरेपछि कोइराला नेतृत्वको सरकार ढल्यो। कोइरालाले त्यसपछि मध्यावधि निर्वाचन घोषणा गरे । देउवासमेत गृहमन्त्री रहेका बेला भएको मध्यावधि निर्वाचनमा कांग्रेसलाई एमालेले उछिन्यो ।

२०४८ सालमा ११० सिट जितेको कांग्रेस २०५१ सालको मध्यावधि निर्वाचन ८३ सिटमा खुम्चियो । ८८ सिट जितेर एमाले पहिलो पार्टी बन्यो । त्यहीबेला कांग्रेसले पहिलो झट् बेर्होनु पर्‍यो, त्यो पनि देउवा गृहमन्त्री भएका बेला । त्यो बेलासम्म कांग्रेसमा गिरिजाप्रसाद सर्वशक्तिमान थिए । तर कांग्रेस हारेको चुनावपछी कोइराला विकल्पमा आफूलाई उभ्याउँदै देउवा संसदीय दलको नेता बन्न सफल भए ।

एमाले सरकारमा

२०५१ सालको निर्वाचनमा ठूलो पार्टी बनेको एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भए । तर त्यो सरकारलाई ९ महिना भन्दा बढी टिक्न दिइएन । ९ महिना टिकेको त्यो सरकार सामाजिक सुरक्षा कार्यक्रम थालेर एमालेलाई स्थापित गराउन सफल भए । अधिकारी सरकार ढालेपछि कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्री भए ।

पञ्चको साथ

पञ्चायत सर्मथक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत समावेस गरेर उनले ५२ जनाको जम्बो मन्त्रिपरिषद् बनाए । त्यसपछि देउवा निरन्तर शक्तिशाली बन्दै गए । पञ्चहरुलाई सरकारमा सहभागी बनाएको भन्दै कांग्रेसको आलोचना सुरु भयो ।

देउवाको प्रधानमन्त्रीत्व कालमा पञ्चलाई सरकारमा ल्याउनेदेखि सुरासुन्दरी, रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता संसदीय विकृति जन्मिए । यी सबै विकृतिको शिकार बन्यो नेपाली कांग्रेस । काण्डैकाण्डले कांग्रेस विरामी भइरहँदा देउवा भने निरन्तर उकालो चढ्दै गए ।

देउवा उक्लिँदा कांग्रेस झन् ओरालो

२०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेस कहालीलाग्दो अवस्थामा पुग्यो । ७० प्रतिशत स्थानीय निर्वाचनमा एमालेले जित्यो । कांग्रेस २५ प्रतिशतमा सीमित हुन पुग्यो ।

२०५१ को मध्यावधि र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नराम्रो पराजय भोगेपछि तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने घोषणा गरे । त्यहीबेला एमाले विभाजित भएको थियो ।

एमालेको विभाजन र भट्टराईलाई प्रधानमन्त्री बनाउने घोषणापछि कांग्रेसले सुविधाजनक बहुमत ल्यायो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए तर कोइरालाले त्यो सरकारलाई लामो समय टिक्न दिएनन् । भट्टराईलाई पाखा लगाएपछि फेरि गिरिजा प्रधानमन्त्री बने ।

होलेरीकाण्ड देउवालाई नाफा

२०५८ सालमा रोल्पाको होलेरीमा भएको माओवादी आक्रमणमा तत्काली राजा ज्ञानेन्द्रले सेना परिचालन गर्न नमानेपछि कोइरालाले राजीनामा दिए । तर पुनः २०५८ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्री बनाए ।

दोस्रो पटक प्रधानमन्त्री भएका देउवाले आफुलाई शक्तिशाली बनाउँदा पार्टी नै फुटाए । प्रधानमन्त्री बनेपछि २०५९ सालमा देउवाले कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाए अनि आफैँ बने नयाँ पार्टीको सभापति ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा असक्षमूको आरोप लगाई देउवा सरकारलाई विघटन गरे । तर उनै राजा ज्ञानेन्द्रले असक्षम घोषणित देउवालाई दुई वर्षपछि २०६१ सालमा पुनःप्रधानमन्त्री नियुक्त गरे । यो सँगै उनी तेस्रो पटक प्रधानमन्त्री बने । यसबेलासम्म कांग्रेसको हालत भने धेरै कमजोर भइसकेको थियो । राजाले शासन हातमा लिएपछि कांग्रेस करिब थला परेको थियव ।

अनि मिले देउवा

२०६२/०६३ को आन्दोलनपछि पार्टीको कम्जोर अवस्थाका कारण देउवाले प्रजातिन्त्रक पार्टीलाई कांग्रेससँग एकीकरण गराए । एकीकरणपछि तत्कालिन सभापति कोइरालासँग ६०-४० को हैसियत बनाउन उनी सफल भए । पार्टी भित्र भने उनी गिरिजाको प्रमुख प्रतिपक्षको भुमिका रहिरहे ।

गिरिजाप्रसाद कोइरालाको मृत्यु भएपछि उनको शक्ति झनै बढ्दै गयो । तर सुशील कोइराला उनको बाटोमा तगारो बने । गिरिजाका उत्तराधिकारीको भुमिका रहेका सुशीलसँग उनले हार भोग्नुपर्‍यो । कांग्रेसमा कोइराला परिवारको प्रभुत्व रहेका कारण देउवा २०६६ सालको कांग्रेसको १२ औँ महाधिवेशनमा पराजित भए ।

सुशीलपछि एकछत्र राज

तथापि उनको बर्चश्व भने पार्टीमा बढ्दै गयो । पार्टीमा बलियो प्रतिपक्षका रुपमा देउवा देखिए । सुशील कोइरालाले पार्टीमा प्रभाव छाड्न नसकेपछि कोइराला परिवार परिवारसँग रिसाएकाहरुलाई उनले आफुतिर ताने । त्यसैबेला तत्कालीन सभापति सुशीलको निधन भयो, अनि कांग्रेसमा देउवाका दिन खुले ।

२०७२ सालमा पार्टीको १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा पार्टी सभापतिमा निर्वाचित भए । २००३ सालमा असिग्राम-५ रुवाखोला जन्मिएका देउवा सबै भन्दा ठूलो पार्टी कांग्रेसको सभापति जस्तो सर्वोच्च भुमिका पुगे । सभापति हुनु पुर्व नै देउवाले पौडेललाई कांग्रेस संसदीय दलको नेतामा पराजित गरिसकेका थिए ।

अनि बनाए जम्बो सरकार

२०७४ साल जेठमा देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भए । फेरि उनले ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद बनाए । जुन नेपालको इतिहासकै सबैभन्दा ठूलो मन्त्रिपरिषद हो, त्यसले उनको धेरै आलोचना भयो ।

२०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका तीनै निर्वाचन देउवा आफैँले गराए । संविधान कार्यान्वयनका लागि तीनै निर्वाचित गराएर उनी सफल पनि भए ।

तर निर्वाचनमा लज्जास्पद रुपमा कांग्रेस हार्‍यो । ७ प्रदेशमध्ये कुनैमा पनि कांग्रेसले प्रादेशिक सरकार बनाउन सकेन । १७५ सिटको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जित्यो । तर देउवाले भने अत्यधिक मतसहित डडेल्धुराबाट छैटौँ पटक चुनाव जिते । उनले २०४८,२०५१,२०५६,२०६४,२०७० र २०७४ सालका सबै चुनावमा विजयको झण्डा गाडे ।

सर्वशक्तिमान देउवा

अहिले उनै देउवा पार्टीको सर्वशक्तिमान सभापति पदमा छन् । देउवा सत्ता र शक्तिको लागि जे सुकै गर्न तयार हुने नेता भएका उनकै निकटतस्थ बनाउँछन‍् । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको आवाज उठेका बेला कोइराला परिवारको समेत भोट लिएर देउवा फेरि संसदीय दलको नेता बनेका छन् ।

उनले संसदीय दलको निर्वाचनमा दोब्बर बढी मतले प्रतिस्पर्धी प्रकाशमान सिंह पराजित गरेका छन् । यो निर्वाचनले पार्टी भित्रको अर्को गुटलाई धेरै कमजोर बनाएको छ । म‌ंसिरको निर्वाचनमा उनलाई टक्कर दिँदै आएका रामचन्द्र पौडेल पनि पराजित भएपछि देउवाको शक्ति बढेको छ। कांग्रेसको कुल ६३ मतमा देउवा ४४ मत पाए भने सिंह मात्र १९ मत पाए ।

सत्ता र शक्ति प्राप्त गर्न जान्ने राजनीतिक खेलाडी हुन् देउवा । उनले जुनसुकै विधिबाट पनि सत्ता र शक्ति प्राप्त गर्न जानेका छन् । जिल्लास्तरका बलियो नेतालाई प्रलोभनमा पारेर आफ्नो पक्षमा ल्याउन माहिर नेता हुन् उनी । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्