Logo

अब म कुनै दलको भूमिकामा छैन : सभामुख महरा



तुलसीपुर (दाङ) ६ चैत : सभामुख कृष्णबहादुर महराले जरुरी महत्वका कानुनहरु बनाउने कामलाई पहिलो प्राथमिकता दिइएको बताउनुभएको छ ।

उहाँको स्वागत तथा सम्मानमा घोराही उपमहानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा सभामुख महराले वैज्ञानिक ढंगको कानुन निर्माणमा आफू जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सभामुख महराले स्थानीय तहलाई सहज ढंगले अघि बढ्ने गरी प्रदेश र संघले तयार गर्नुपर्ने कानुनहरु निर्माणमा प्राथमिकता दिने गरी काम गर्नुपर्ने बताउँदै यो वर्षलाई नयाँ कानुनको अभ्यासका रुपमा लिने र वैशाख १५ पछि बजेटसँगै अन्य ऐन कानुनहरु निर्माणमा केन्द्रित हुने धारणा व्यक्त गर्नुभयो ।

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका सभामुख महराले दङका जनताका लागि आफ्नो जनप्रतिनिधि भूमिकामा कतै पनि कमी हुन नदिने उल्लेख गर्दै फेरिएको जिम्मेवारीसँगै सभामुखको हैसियतले अब आफू साझा व्यक्तित्व भएको र त्यो व्यवहारबाटै आफूले देखाउने स्पष्ट पार्नुभयो ।

“अब म कुनै दलको भूमिकामा छैन’, उहाँले भन्नुभयो, “म सबैलाई समान दृष्टिकोणबाट व्यवहार गर्नेछु, कुनै दलविशेषका पक्षमा गतिविधि हुने छैनन् ।”

सो अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सभामुख महरालाई खादा र सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो ।

यसैबीच आज नै दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि घोराहीमा एक कार्यक्रमको आयोजना गरी सभामुख कृष्णबहादुर महरालाई स्वागत तथा सम्मान गरेको छ । (रासस) 



प्रतिक्रिया दिनुहोस्