Logo

गृहमन्त्री थापाबाट विमानस्थल अध्यागमनमा छड्के निरीक्षण



काठमाडौँ, ६ चैत : गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँ रहेका अध्यागमन कार्यालयको आज छड्के निरीक्षण गर्नुभएको छ ।

सो क्रममा अध्यामगन कार्यालयको यात्रु विदेशिने डेक्समा जम्मा चार जना कर्मचारी मात्रै उपस्थित रहेका थिए । सो डेक्समा आवश्यकताअनुसार १५ जनासम्म कर्मचारी खटिने गरेकामा निरीक्षणका क्रममा तीन जना कर्मचारी अनुपस्थित भेटिएका थिए ।

अनुपस्थित कर्मचारीको विवरण लिई त्यसलाई तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइने बताउँदै गृहमन्त्री थापाले विमानस्थलको सुरक्षाजाँच, भन्सार, सिसी टिभी क्यामेरा अनुगमन डेस्कलगायतका विषयमा समेत जानकारी लिनुभयो ।

गृहमन्त्री थापाले विमानस्थलको सुरक्षामा संवेदनशील हुन र सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा अधिकारीलाई निर्देशन पनि दिनुभयो । छड्केपछि सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री थापाले विमानस्थल र अध्यागमन कार्यालयको सुधारलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले यसभित्रका गलत प्रवृत्तिबारे आफू जानकार रहेको बताउँदै त्यस्ता प्रवृत्तिहरु अब देखिएमा सो कार्यमा संलग्न जो सूकैलाई पनि कारबाहीको दायरमा ल्याउने स्पष्ट पार्नुभयो ।

“यहाँबाट मानव तस्करीदेखि अवैध वस्तुको तस्करीसम्म हुने गरेको जानकारी आफूले पाएको छु, यदि त्यस्तो सञ्जाल रहेछ भन्ने त्यसलाई आफूले ताड्ने छु,” गृहमन्त्री थापाले भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस्