Logo

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले भने,‘संघीयताबाट फर्किने र असफल हुने अनुमति छैन’



काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग आज विशेष छलफल गरेका छन् । उनले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका छन् ।

प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर अब संघीयताबाट फर्किने र असफल हुने अनुमति कसैलाई नभएको जिकिर गरेका हुन् ।

मुख्यमन्त्रीहरुले साझा रुपमा प्रदेशका समस्याहरु राखेका थिए । प्रधानमन्त्रीको छलफलपछि बाहिरिने क्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै भने,‘हामीले आफ्नो प्रदेशका बारेमा समस्याहरु राख्यौं, अहिलेसम्म संघीय कानून बनेको छैन, भौतिक पूर्वाधार, गाडी लगायत प्राप्त गर्ने स्रोत र साधनको बारेमा कुरा राख्यौं।’ त्यस्तै उनले प्राकृतिक स्रोत तथा वित्तिय आयोग गठन, मर्यादाक्रम नमिलेको बारेमा समेत आज कुराकानी भएको जनाए ।

मुख्यमन्त्री राउतले जनसख्ंया र मानवीय विकासको सूचांक हेरेर राजश्व बाँडफाँड हुनुपर्नेमा जोड दिए । उनले भने,‘प्रदेशको विकासकोलागि केन्द्रिय सरकारले सहयोगात्मक भूमिका खेल्नुपर्छ, अहिलेसम्म जन्मसिद्ध नागरिकले नागरिकता पाउनुपर्छ, बाउले नागरिकता पाएको छ, उसको दाईले पनि पाएको छ, अब भाईले पनि पाउनुपर्छ, यसबारेमा प्रधानमन्त्रीज्यूले आवश्यक कानून तथा ऐन बनाउने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।’

यता प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले दिएको जानकारी अनुसार आजको छलफलमा विभागीय मन्त्रीहरु क्रमशः अर्थमन्त्री, गृहमन्त्री, कानून तथा न्यायमन्त्री र संघीय मामिलामन्त्रीको सहभागिता थियो ।

उनका अनुसार प्रधानमन्त्री ओलीले प्रदेश सभामा देखिएका अहिलेका विद्यमान समस्या हल गर्ने विधि बताएका थिए । छलफलको क्रममा प्रधानमन्त्रीले भनेको कुरा उल्लेख गर्दै उनले भने,‘अब कसैलाई पनि संघीयताबाट फर्किने अनुमति छैन, असफल हुने पनि अनुमति छैन, हामीसँग धेरै चूनौतिहरु छन्, तर अब सरकारका सबै युनिटहरु केन्द्रदेखि स्थानीय तहसम्म सहकार्य गर्दै अघि बढ्नुपर्छ, तालमेल राम्रो हुनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्