Logo

माग पूरा नभए ससंद अवरोध गर्छौँ, संसदबाट समस्या समाधान भएन भने सडकमा जान्छौँ : कर्ण



रेशम चौधरीबाट कोही पनि पीडित छैन, पीडित त रेशम चौधरी हुन्

चैत ९, काठमाण्डौ । मधेशवादी दलहरु सरकारमा सहभागि हुने भनिएपनि पछिल्लो समय सरकार र मधेशवादी दलहरुबिचको सम्बन्ध चिसिएको आशंका गरिएको छ ।

तेस्रोपटक मन्त्रीपरिषद विस्तार गर्दा नै संघीय समाजवादी फोरम र राजपा सरकारमा सहभागि हुने बताइएको थियो ।

तर अहिलेसम्म दुवै दल सरकारमा सहभागि भएका छैनन् ।

राजपाका नेता लक्ष्मणलाल कर्णले सरकारले जुन दिन संविधान संशोधन र आन्दोलनकारीलाई लगाइएको मुद्दा फिर्ता गर्छ त्यही दिन सरकारमा सहभागि हुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले आन्दोलनमा सहभागि साथीहरुमाथि लगाइएको मुद्दा फिर्ता नभएसम्म सरकारमा सहभागि हुन नसक्ने स्पष्ट पारे । धमलासँगको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

अपराधिमाथि लागेको मुद्दा किन फिर्ता गर्न माग गर्दैहुनुहुन्छ ? तपाई त अधिवक्ता पनि हो नि कर्णज्यू ?
ऋषिजी, तपाईजस्तो ठूलो पत्रकारले यसो नभन्नुस्, मुद्दा लाग्नु अभियोग हो । अपराध होइन । अपराध सावित भएपछि मात्रै अपराधी हुन्छ ।

रेशम चौधरीलाई छोड्नै हुन्न भनेर धेरैले भन्न थालिसके ? गृहमन्त्रीले जुस खुवाएर अनशन तोडाउँदा विरोध भयो ।
विरोध त भयो । तर कतिजनाले विरोध गरे ? दशजना विसजनाले विरोध गरेर हुन्छ ? ४० हजार मान्छेले भोट दिएर जिताएका हुन नि । यो पनि गणना गर्नुस् न । नेपालमै सबैभन्दा बढि भोट पाएका हुन् रेशम चाधरीले ।

रेशम चौधरीबाट पीडित परिवारले नि छोड्न हुँदेन भनेका छन् नि ?
को पीडित ? कोही पनि पीडित छैन । रेशम चौधरीचाँही पीडित हो । रेशम चौधरीको घर जलाईयो । जुन घटनामा रेशम चौधरी नै गएको छैन, त्यही घटनामा ऊ कसरी दोषी हुन सक्छ ?

तपाईहरुले पनि गलत कुरा त गर्नुभएन नि । जनताबाट निर्वाचित भएर आएको नेता हो नि तपाई ? भन्ने वित्तिकै मुद्दा फिर्ता कसरी हुन्छ ?
मुद्दा फिर्ता लिने प्रक्रिया र विधिका बारेमा धेरै अघि काम सुरु भएको छ । प्रचण्ड र देउवा प्रधानमन्त्री हुँदा अगाडि बढेको थियो । अन्तिम काम बाँकी छ । बाँकी काम गर्यो भने पुग्छ ।

त्यसो हो भने तपाईहरु सरकारमा सहभागि हुनका लागि पहिला मुद्दा फिर्ता हुनुपर्ने हो ?
हो ।

सरकारमा जान चाहनुहुन्छ, तर सर्त पूरा हुनुपर्ने ?
जनता पीडित छन्, दुःखी छन् । उनीहरुका लागि हामीले आन्दोलन गरेका हौँ । जनताका लागि आन्दोलनमा सहभागि हुँदा झुटा मुद्दा लगाइयो ।

प्रधानमन्त्री केपी ओली चैत २३ गतेदेखि भारत भ्रमणमा जाँदैहुनुहुन्छ । त्यसअघि सरकारमा सहभागि हुने सम्भावना कति छ ?
हामीले भनेको माग जहिले पूरा हुन्छ, त्यतिबेला जान्छौँ ।

संविधान संशोधनको माग बेमौसमी बाजा जस्तो भएन र ?
त्यसो हो भने सरकार आफ्नो काम गरोस्, हामी आफ्नो काम गर्छौँ ।

अहिलेको अवस्थामा तपाईहरु के गर्न सक्नुहुन्छ ?
हामी ससंदमा जान्छौँ, अवरोध गर्छौँ । संसदबाट समस्या समाधान भएन भने सडकमा जान्छौँ ।

सडकमा जाँदा जनताले प्रतिवाद गरे भने ?
जनताको प्रतिवाद त पहिला पनि हेरिहाल्नुभयो नि । हामीले आन्दोलन गर्दा जनता सडकमा आएका होइनन् ?

जनता त विकास चाहन्छन् नि ?
खाली विकास विकास । विकास त हुनुपर्छ । हामीले पनि विकास खोजेको हो । सरकारले के विकास गर्छ ? दश वर्षदेखि एउटा पुल बन्न सकेको छैन । सडकको काम २५ वर्षदेखि हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्