Logo

अनुशासन उल्लङ्घन गरेर देउवामाथि लगाइएको आरोप उचित छैन : विश्वकर्मा



चैत १०, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा अधिकांश नेताहरुले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

चुनावमा बेहोरेको पराजयको समिक्षा गर्न बसेको बैठककमा अधिकांश नेताहरुले सभापति देउवाको रणनीतिक कमजोरी कारण कांग्रेसले चुनाव हार्नुपरेको आरोप लगाएका हुन् ।

तर कांग्रेसभित्र देउवा गुटका नेताहरुले भने आरोपको खण्डन गर्दै देउवाको बचाउ गरेका छन् । केन्द्रिय सदस्य मिन विश्वकर्माले बैठकमा भएका आरोप प्रत्यारोपलाई अनौठो मान्न नहुने बताए ।

तर केही नेताहरुले पार्टीको अनुशासनविपरित अभिव्यक्ति दिएको विश्वकर्माले आरोप लगाए ।

“राजनीतिक दलको सिद्धान्त, सांगठनिक संरचना, अनुशासन र नियम हुन्छ । सबैले यि कुरा पालना गर्यो भने मात्रै पार्टी सशक्त बन्छ । पार्टी नेतृत्वको आलोचनाको नाममा छरपष्ट पार्न खोज्नु उचित हुँदैन ।” विश्वकर्माले भने ।

बैठकमा कडा रुपमा प्रस्तुत भएका प्रकाशमान सिंहले बैठकमा जे भन्नुभयो त्यसलाई बाहिर सार्वजनिक गरेर आचारसंहिता र अनुशासन उल्लङ्घन गरेको उनले आरोप लगाए ।

“यस्तो प्रकारको अभिव्यक्तिले पार्टी सभापतिलाई मात्र कमजोर बनाउने होइन, पार्टीको मूल्य मान्यतालाई पनि कमजोर बनाउँछ । भोली उहाँहरु सभापति बन्दा पनि यस्तै हुन सक्छ । त्यसैले दुराशययुक्त प्रस्तुति गर्नु राम्रो हुँदैन ।” उनले भने ।

पार्टीभित्र भएको बैठकका कुरा सार्वजनिक गरेर सिंहले अर्को गल्ती गरेको उनले बताए । “बैठकमा छलफल हुँदा कुन सदस्यले भनेका कुरा छताछुल्ल गर्नु राम्रो होइन ।” उनले भने ।

१२ औँ महाधिवेशनपछि पार्टी सामुहिक नेतृत्वमा गएकाले देउवालाई मात्र दोष दिन नहुेन उनको तर्क छ ।

“रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको सुप्रिम कमाण्डर बनाउनुभयो । प्रचार प्रसार समितिको संयोजक पौडेल नै बन्नुभयो । शेरबहादुर देउवाले के जिम्मा लिनुभयो ?” विश्वकर्माले भने ।

पार्टीका सबै काम र निर्णय सबै नेताहरुसँग छलफल गरेर नै देउवाले कार्यसम्पादन गरे पनि अहिले आएर दोष थुपरिएको उनले बताए ।

चुनावी नतिजा आएपछि तत्काल केन्द्रिय समिति बैठक बस्नुपर्ने भए पनि सभापति देउवाको व्यस्तताका कारण बस्न नसकेको उनले बताए ।

बैठक ढिलो गरी बसेकाले थुप्रिएर बसेका असन्तुष्टी एकैपटक देखिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्