Logo

ललितपुर महानगरपालिकाको घोषणा : प्रत्येक नागरिकलाई शल्यक्रिया गर्दा २० हजार अनुदान



काठमाडौं, ७ बैशाख । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थको सेवन नै नसर्ने रोगहरुको प्रमुख जड भएको स्पष्ट पारेका छन् ।

शुक्रबार क्यान्सर काउन्सिल नेपालले ललितपुर महानगरपालिका वडा नम्बर १६ मा माछापुच्छ्रे बैंकको प्रायोजनामा आयोजित ‘जनचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम’ मा बोल्दै डा. पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘नसर्ने रोगहरुको प्रमुख कारण नै अहिले सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग रहेको पाईएको छ, नेपालमा वर्षेनि हजारौं मानिसहरु सुर्तीजन्य पदार्थको सेवनको कारणले अकालमा ज्यान गुमाईरहेका छन्, यो डरलाग्दो अवस्था हो।’

उनले सरकार र नागरिक समाजले सुर्तीजन्य पदार्थको बिक्रि, वितरण र सेवनमा रोक लगाउनेगरि आफ्ना गतिविधिहरु अघि बढाउनुपर्ने धारणा राखे । उनले भने,‘सरकार कडाइका साथ प्रस्तुत हुनुपर्यो, क्यान्सर काउन्सिललेपनि आफ्ना अभियानहरु अब देशव्यापी रुपमा सञ्चालन गर्नुपर्छ।’

काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाको सभापतित्वमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका वातावरण ईन्जिनियर प्रदिप अमात्यले क्यान्सर काउन्सिल नेपालले विगत लामो समयदेखि क्यान्सर रोग रोकथामबारे सामाजिक कार्यक्रम सञ्चालन गरेर धेरैको मन जितेको बताए ।

उनले आगामी दिनमा महानगरपालिकाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरेर नागरिकहरुलाई सचेत गराउने प्रतिबद्धता जनाए । त्यस्तै, महानगरपालिकाले ललितपुरवासीलाई शल्यक्रिया गर्दा बीस हजार रुपैयाँ सहयोग प्रदान गर्दै आईरहेको पनि उनले जनाए ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष कडरियाले मुलुक यतिवेला संघीय संरचनामा गएकोले अब सरकारका तीन वटै निकायले सूर्तीजन्य पदार्थ रोकथामको लागि गम्भिर पहलकदमी चाल्नुपर्ने सुझाव दिए । उनले भने,‘मुलुकमा यतिवेला तीन तहका सरकार छन्, सबै तहका सरकारले जिम्मेवारढंगले नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको सुर्तीजन्य पदार्थ विरुद्धको ऐन–२०६८ कार्यान्वयन गर्नुपर्छ, हामी सरकारलाई साथ दिन हरदम तयार छौं।’



प्रतिक्रिया दिनुहोस्