Logo

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी हुँदै



काठमाडौं १० असार ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीस्वरुप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा दोस्रो चरणको स्थानीय तह निर्वाचनलगत्तै नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । सानो टिम लिएर उनी भारत जाने परराष्ट्र उच्च स्रोतले बतायो । उनको दिल्ली यात्रामा प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण तय हुनेछ ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार महरा असार २० मा जाने गरी तयारी अघि बढेको छ । तर यो तिथि औपचारिक रुपमा निश्चित भइसकेको छैन । महरा उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि उत्तरी चीन भ्रमणमा जान सक्ने आंकलन परराष्ट्र अधिकारीहरुकै थियो । तर, उनले भारतको भ्रमण गरेर परम्परा कायम राखेका छन् । प्रधानमन्त्री भएपछि औपचारिक भ्रमणमा भारत जाने चलन पुरानै हो । उप–प्रधानमन्त्री फर्केको दुई सातापछि नै प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनेछ ।

महरा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा जान लागेका हुन । प्रधनमन्त्री देउवा निर्वाचित भएलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदी र महरालाई स्वराजले बधाई दिदै निमन्त्रणा गरेका थिए । उनको भ्रमणको ब्यवस्थापनका लागि परराष्ट्र मन्त्रालयले यसअघि भएका बैठक, सहयोगमा अघि बढेको परियोजना लगायतमा छलफल भइरहेको छ ।

महराको भ्रमण पछि भारतीय प्रधानमन्त्री मोदी तथा विहार मुख्य मन्त्री नितेश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणबारे समेत पहल हुने भएको छ । भ्रमणको विषयमा भारतीय दूतावास र परराष्ट्र अधिकारीहरु बीच लगातार छलफलहरु भइरहेको परराष्ट्र उच्चस्रोतले बतायो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्