चुनावको मिति तलमाथि गरे सरकारको औचित्य समाप्त हुन्छ : रावल

2017/03/20 4:33:38 PM

काठमाडौं, ७ चैत्र। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले वर्तमान सरकारले निर्वाचन गराउन नसके सरकारमा बस्नुको औचित्य नहुने स्पष्ट पारेका छन्।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो सरकारले निर्वाचनको मिति तलमाथि गर्यो भने सरकारमा बसिरहने अधिकार हुँदैन्, तत्काल सरकारको कुर्सी छोड्नुपर्छ।’ उनले सरकारले चुनाव गराउन नसके एमालेले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने समेत स्पष्ट पारे।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै रावलले भने,‘यो सरकारले चुनाव गर्न सकेन भने हाम्रो पार्टी सरकारको नेतृत्व गर्न तयार छ, तर यसको लागि सबै दलबाट ठोस प्रस्ताव आउनुपर्छ, यतिकै एमालेले सरकारको नेतृत्व गर्छु भनेर जाँदैन्।’

यद्धपी उनले मुलुक निर्वाचनको प्रक्रियामा गैसकेकोले अब निर्वाचन हुँदैन कि भनेर आशंका गर्न नहुने जिकिर गरे। उनले अहिले संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनमा जानुपर्ने बारे आफ्नो पार्टीको स्पष्ट अडान रहेकोले पार्टी आफ्नो अडानबाट एक ईन्चपनि तलमाथि नहुने स्पष्ट पारे।

रावलले स्थानीय तहको निर्वाचन रोक्नु पर्ने कुनै कारण नभएको बताएका छन्। उनले निर्धा्रित मितिमा नै निर्वाचन हुने विश्वास व्यक्त गर्दै कुनै एक राजनीतिक दलले निर्वाचनमा भाग नलिँदैमा निर्वाचन नरोकिने बताए।

निर्वाचनमा भाग लिन नलिने त्यो पार्टीको इच्छाको कुरा भएको बताउँदै उनले भने – “बीस वर्षदेखि हुन नसकेको निर्वाचनमा सहभागी हुन पाउने भएपछि जनता उत्साहित देखिएका छन् । त्यसैले जनतालाई अधिकार दिन तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ ।”

उनले सङ्घीयता चाहने दल संयुक्त मधेसी मोर्चाले नै सङ्घीयताको विरोध गरेको उल्लेख गदै भर्खर गठन भएको स्थानीय तहको कार्यालय तोडफोड गर्नु ठीक नभएको धारणा व्यक्त गरे ।

रावलले एउटाले एमालेको अभियानलाई अराजक देख्ने र अर्कोले पेट्रोल बम हान्ने अचम्मको दृष्य पार्टीको मेची–महाकाली अभियानमा देखिएको आरोप लगाए। उनले भने,‘कुनै राजनीतिक दलको शान्तिपूर्ण कार्यक्रमलाई अराजकता देख्ने दलको सिद्धान्तमाथि जनताले प्रश्न उठाएका छन्, जनताकाबीचमा जान रोक्ने काम गर्नेहरु निर्वाचनबाट गराएका छन्।’

उनले संविधान संशोधन गर्नै हुँदैन भनेर आफ्नो पार्टीले नभनेको बरु जनताको मत जितेर दुई तिहाई लिएर संविधान संशोधन गरे भैगयो नि त भन्दै मोर्चामाथि प्रश्न तेर्साए।

रावलले आफू भर्खरै कञ्चनपुरको आनन्दबजार पुगेर शहीद गोविन्द गौतमका परिवारलाई भेटेर फर्किएको बताउँदै भने,‘माटोको पक्षमा बोल्दा आज गौतमजीको हत्या भएको छ, हाम्रा जनता गोली खाएर मरेका छन्, अनि यही विचमा कसैले आएर नकारात्मक भूमिका खेल्छ, यी सबै कुराहरु अब व्यवस्थापन गर्नुपर्छ।’ उनले सिमा व्यवस्थापनको कार्ययोजना आवश्यक रहेको बताए ।

मुलुको भलाईका लागि पनि संविधान कार्यान्वयन गर्नुपर्ने र त्यसको लागि सबै दलले गम्भिर भएर चुनावमा भाग लिनुपर्ने रावलको भनाई थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार